काठमाडौँ – नेपालीहरुको महान् चाड बडा दशैं घरघरमा आईपुगेको छ । जमरा राखेदेखि नै शुरु भएको दशैं दशौं दिन मान्यबरको हातबाट टीका लगाएपछि दशैं औपचारिक रुपमा समाप्त हुनेछ ।

दशैं सबैको साझा पर्व र एउटा नेपाली सँस्कृतिको रुपमा विकास भैरहेको छ । दशैंलगायत चाडपर्वहरु तामझाम र तडकभडक रुपमा मनाउने गरेको पनि पाईन्छ । दशैंमा मीठो खाने र राम्रो लगाउने नाममा अस्वस्थ्य प्रतिष्पर्धा भैरहेको छ । दशैंलाई प्रतिष्पर्धा भन्दापनि आपसी सहयोग र भाईचारा बढाउने रुपमा लिनु पर्दछ । अनावश्यक तडकभडक र अस्वस्थ्य प्रतिष्पर्धाले कसैको हित गर्दैन ।

तडकभडक र अस्वस्थ्य प्रतिष्पर्धा होइन, सरल र सहज बनाउनु आवश्यक छ । बडा दशैंले सबैलाई यही सद्बुद्धि प्रदान गरुन्।

हिन्दूहरुको महान चाड विजया दशमीमा विगतमा जुन उल्लास र उमंग हुन्थ्यो यस पटक छैन । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपाल पनि आक्रान्त छ । प्रतिदिन बढ्दै गएको संक्रमित र मृत्यु हुनेको संख्याले सन्त्रास छाएको छ ।

बडा दशैंमा न उमंग छ । न खुशीयाली छ । छ त त्रासमात्र । हरेक व्यक्ति सजग र सचेत भए मात्र कोरोना कोरोना र नियन्त्रण हुनसक्छ । सामान्य लापरबाही र असावधानीले कोरोनाको संक्रमण भयावह रुपमा फैलिन सक्छ । सबै सावधान हुन जरुरी छ ।

भीडभाडमा नजानु, जानै परे, भौतिक दूरी कायम गर्नु, मास्क लगाउनु र बाहिरबाट आउँदा सेनिटाइजरको प्रयोग वा सावुन पानीले हात धुनु आवश्यक छ । अझ देश तथा जिल्ला बाहिरबाट आएकाहरुले १४ दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्दा परिवार तथा समुदायमा कोरोनाको जोखिम कम हुन्छ । कुनै व्यक्ति संक्रमित भए पनि यति सावधानी अपनाए यो फैलिन पाउने छैन ।

यो पटक दशैं आफ्नै घर भित्र मनाऔं । घर बाहिर नजाऔं । अरुलाई पनि घरमा ननिम्त्याऔ । भीडभाडमा त जाँदै नजाऔं । भीडभाड हुने खालका कुनै गतिविधि र काम मगरौ । किनकी यतिबेला दशैं मनाउने भन्दा जोगिने कसरी भन्ने सबैको साझा चिन्ता हुन आवश्यक छ । त्यसैमा सबैको भलो छ ।

यस पटक दशैं सबैको साथमा मनाउन नपाए के भो ? अर्को वर्ष पनि दसैं आउनेछ । त्यतिबेला धुमधाम र उल्लासमय वातावरणमा दशैं तथा तिहार मनाउन पाउने नै छौँ । बडा दशैंको सबैलाई शुभकामना ।

सावित्रा चिलुवाल – गीतकार, निर्माता, कलाकार तथा समाजसेवी

तपाईको प्रतिक्रिया