विराटनगर-१०, शान्तिचोकस्थित् धरमबांध रोडमा हरेक बिहान सडक सफाई गरिरहेका व्यक्तिलाई ‘मर्निङ वाकमा’ हिंड्ने जो कोहीले अभिवादन गर्छन्। १६ वर्षदेखि नियमित सडक सफाई गर्दै आएका निलम राय (४७) लाई यही कारणले सम्मान स्वरूप नमस्कार गर्ने र  गाली गर्ने पनि छन्।

“अरूका घरको गेटमा गएर सफाई गरिरहेका हुन्छन्, निलमलाई त कसैकसैले पागल पनि भन्छन्”, शान्तिचोकका जितेन्द्र साहले भने। बिहान उज्यालो नहुँदै घरभित्र मोटरमा जडान गरेको ३०० मिटर भन्दा लामो पानीको पाइप लिएर राय सडकको माटो र बालुवा पखाल्छन्। रायको घरदेखि उत्तर र दक्षिण गरेर ६०० मिटर चौडा सडक, पेटी र नालाको आसपास पखाल्न उनलाई ३ घण्टा लाग्छ।

आफ्नो घर अगाडिको सफाई गर्न थालेका उनी बढाउँदै लगेर १२ वटा घर अगाडिको सडक सफा गर्दै फोहर, कागज, प्लाष्टिक पनि टिप्छन्। उनले नियमित सफा गर्ने गरेकाले सडक सफा देखिन्छ।

विराटनगर महानगरका सबै सडकको स्तरोन्नति गरिएकाले चौडा त बनाइयो तर सफाई हुन सकेको छैन। अरूले पनि यसरी नै आफ्नो घर अगाडिको सडक सफा राख्ने हो भने महानगर नै सफा हुने बताउँछन्. निलम। 

“घर अगाडीको सडकमा धुलो र फोहर हुने भएकाले सफाई गर्न थालें”, रायले भने, “हावाले उडाएर धुलो र फोहर घरसम्म ल्याउँछ, वरपर पनि सफा गर्नुपर्छ।”

सडकमा पानीको पाइप घिसार्नु पर्ने भएकाले एक महीना बढी टिक्दैन। पाइप र मोटर चलाउँदा उठेको बिजुलीको बिलसहित उनले वर्षमा रू. ५० हजार भन्दा बढी खर्च गर्दै आएका छन्। यतिका मानिसको घर अगाडि उनले सफाई गरे पनि छिमेकीले पाइपसम्म खरिद गरेर दिने गरेका छैनन्।

सडक सफाई उनको स्थायी बानी भइसकेको छ। “आँधी, हुरी जे भए पनि सफाई गर्छु”, रायले भने, “सडकको माटो र बालुवा बगाउन पानीको फोहरा हाल्नुपर्छ। कतिपयले कालोपत्रे उप्किन्छ पनि भन्छन्।” वडा अध्यक्ष माधव वाग्लेले पनि उनलाई रोडमा पानीको प्रयोग कम गर्न भनेका थिए। तर, पानीले नै कालोपत्रे उप्किए आफैं बनाइदिने भन्दै रायले सफाई गर्न रोकेनन्।

 

 

 

“विदेशमा दमकलको फोहराले सडक सफाई गरिन्छ। यहाँ सानो पाइपले सफा गर्दा मानिसलाई रोड फुट्ने डर छ”, उनले भने, “मेरो नियमित व्यायाम भनेको पनि यही हो। जहिलेसम्म शरीरले साथ दिन्छ सफाई गरिरहन्छु।” आज सफा गरेको सडक भोलिपल्ट उस्तै हुने भएकाले स्थानीयलाई चेतावनी दिन रायले बोर्ड लगाए। बोर्डमा लेखिएको थियो- ‘सडकमा फोहर फाल्ने दुई खुट्टे कुकुर हो!’ 

आफूले बोर्डमा लेखेको कुरा आफैंलाई चित्त नबुझेकाले पुनः अर्को बोर्ड लगाएको राय बताउँछन्। अर्को बोर्डमा भने ‘फोहर फाल्नेलाई रू. ५०० जरिवाना’ लेखिएको छ। यही बोर्डले स्थानीयलाई सचेत पनि गराएको छ। नगरपालिकाले सफाईको ठेक्का दिएको कम्पनीले घरबाट फोहर उठाएबापत मासिक रू. २०० लिन्छ। रायको बोर्डका कारण अहिले सडकमा फोहर फाल्न छाडेर छिमेकीहरू नगरपालिकाको फोहर बोक्ने ट्याक्टरमा हाल्छन्।

धरमबाँध रोडमा ‘मर्निङ वाक’ गर्दै आएका कोशी विद्या मन्दिर विराटनगरका संचालक बालकृष्ण पोखरेलले रायको दैनिक मेहनत देखेर सार्वजनिक समारोहमा सम्मान गर्न मन लागेको बताए । तर, यतिका वर्ष समाजका लागि दिएको सफाई सेवाको बदला रायले सम्मान भनें पाएका छैनन्। उनका छिमेकी तथा ओम स्टार सैलुनका संचालक राजेश ठाकुरले बिहान आफूले कुनै दिन पनि पसल अगाडिको भाग सफाई गर्नु नपरेको बताए।

“बिहान उठ्दासम्म निलम दाईले सफाई गरिसक्नु भएको हुन्छ। हामीले झाडु लगाउनु परेको छैन”, उनले भने।

हुन त रायलाई आफूले गरेको कामको अरूले प्रशंशा गरोस् भन्ने पनि छैन। एक दिन ‘मर्निङ वाक’मा मा गएका श्री फाइनान्सका प्रबन्धक हरिबहादुर श्रेष्ठले रायले गरेको सफाईको भिडिओ खिचेर फेसबुकमा पोष्ट गरेका रहेछन्। सडक सफाईको काम फेसबुकबाट सार्वजनिक भएकाले आफूलाई लाज लागेको रायले बताए। 

सार्वजनिकस्थल मात्रै हैन घर आँगन पनि सफा राख्दा विभिन्न रोगको संक्रमणबाट बच्न सकिने उनी सुझाव दिन्छन्। उनले घर अगाडिको फलामे मुल गेट सफाईकै कारण १६ वर्षमा ३ पटक फेरिसके। पानीको फोहराले दैनिक सफा गर्दा खिया लागेर दुलो पर्ने उनले बताए। चार सदस्यीय परिवारका घरमुली रायकी छोरी बां‌ग्लादेशमा एमबीबीएस अन्तिम वर्षमा र छोरा अष्ट्रेलियामा स्नातक तहमा पढ्दैछन्।

तपाईको प्रतिक्रिया