टाइगर श्राफको डेब्यु फिल्म ‘हिरोपन्ति’मा कृति सेनन टाइगरको जोडी थिइन् । तमिल फिल्मबाट अभिनयमा डेब्यु गरेकी कृतिको पनि हिन्दी भाषामा यो पहिलो फिल्म थियो । दर्शकले केमेस्ट्री रुचाएका पनि थिए । तर, के कारणले हो दुवैले दोहोर्‍याएर अर्को फिल्ममा काम गरेका छैनन् ।

यसको सिक्वेल ‘हिरोपन्ति २’ बन्ने भएपछि सबैलाई लागेको थियो टाइगर र कृति फेरि एक पटकसँगै देखिन्छन् । तर, निर्माता साजिद नाडियावालाले कृतिलाई हैन तारा सुतरियालाई टाइगरको जोडी फाइनल गरेका छन् । खबर अनुसार साजिद आफैंले बनाएको अर्को फिल्ममा ताराको अभिनय देखेर यति धेरै प्रभावित भएकी उनले ‘हिरोपन्ति २’ मा पनि उनलाई नै लिने निर्णय गरे ।सुनिल सेठ्ठीका छोरा आहान सेठ्ठीको डेब्यु फिल्मका निर्माता साजिदले ताराको काम यही फिल्ममा हेरेका थिए ।

‘हिरोपन्ति’मा टाइगरको एक्सन र नृत्यले सबलाई लोभ्याएको थियो । निर्माता साजिदले दोस्रो भागमा पहिलो भागको भन्दा ज्यादा मनोरञ्जन हुने दाबी गरेका छन् । फिल्मलाई अहमद खानले निर्देशन गर्दैछन् जसले यसअघि साजिदले नै निर्माण गरेका ‘बागी २’ ‘बागी ३’ निर्देशन गरेका थिए ।

तारा र टाइगरले सँगै काम गर्ने यो दोस्रो फिल्म हुनेछ । दुवैले दुई वर्षअघि ‘स्टुडेन्ट अफ दि इयर २’मा सँगै काम गरेका थिए । करण जौहरले निर्माण गरेको यो फिल्मबाटै ताराले अभिनय यात्रा सुरु गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया