पछिल्लो समय नेपाली कलाकारहरुको फिल्म निर्माणमा आकर्षण बढ्दै गएको छ । भुवन केसी, आर्यन सिग्देल, रेखा थापा, केकी अधिकारी, ऋचा शर्मा, करिश्मा मानन्धरलगायतले फिल्म निर्माण गरिसकेको अवस्थामा अभिनेत्री आँचल शर्मा पनि कोरोना महामारी अन्त्यपछि फिल्म निर्माण गर्ने तयारीमा जुटेकी छन् । उनले फिल्म निर्देशनको प्रस्ताव भने मिलन चाम्सलाई गरेकी छन् ।

आँचलले बनाउन लागेको फिल्मबाट निर्देशनको प्रस्ताव आएको कुरा मिलनले नकार्न सकेनन् । उनले भने- ‘आँचलसँग भेट हुँँदा फिल्मकै विषयमा कुरा हुन्छ । उनले ढिलो-चाँडो फिल्म बनाउँछिन् नै । एक चरण मसँग फिल्मको बारेमा कुराकानी भएको हो । तर, अहिले मेरो पाइपलाइनमा तीनवटा फिल्म छ । आँचल पनि उस्तै व्यस्त छिन् । त्यसैले अहिलेलाई कुरा अगाडि बढेको छैन ।’

आफ्नो पाइपलाइनमा रहेका तीन फिल्मभन्दा अगाडि मिलन अन्य फिल्ममा हात हाल्ने सोचमा छैनन् । त्यसैले आँचलले निर्माण गर्ने फिल्म केही समय पछाडि हुने उनले बताए । फिल्ममा अभिनेताको रुपमा प्रदीप खड्कालाई अफर गरिएको भन्ने जानकारी फिल्मीखबरलाई प्राप्त छ । तर, यसमा सत्यता नभएको चाम्स बताउँछन् । हिरोको विषयमा कुनै कुरा नभएको उनले बताए ।

केही म्यूजिक भिडियोमा सँगै काम गरेपछि मिलन र आँचलबीच सुमधुर सम्बन्ध कायम भएको छ । केही दिन अगाडि आँचल दाम्पतीले मिलनको घरमा डिनर समेत गरेका थिए । ‘गोर्खा वारियर’ र साम्राज्ञी आरएल शाहसँगको फिल्मपछि मिलनले बनाउने नयाँ फिल्ममा आँचल लिड अभिनेत्रीको रुपमा हुनेछिन् । तर, उनको अभिनय रहने फिल्मको नाम तय नभएको मिलनले बताए ।

तपाईको प्रतिक्रिया