कोरोनाका कारण बन्द रहेका प्रायः सबै क्षेत्र खुलिसकेका छन् । तर, सरकारले लकडाउन गर्नुभन्दा अगावैदेखि बन्द भएको फिल्म क्षेत्र अझै ठप्प छ । दशैंदेखि फिल्म छायांकन सुरु भए पनि आठ महिनादेखि बन्द रहेका सिनेमा हलहरु खुल्न सकेका छैनन् । फिल्म सम्बद्ध विभिन्न संघ-संस्थाहरुले सिनेमा हल, फिल्म निर्माण र प्रदर्शनको अनुमति दिन आग्रह गर्दा समेत सरकार मौन छ ।

फिल्म क्षेत्र सञ्चालनका लागि फिल्मकर्मीहरुले नै पर्याप्त दबाब दिएका छैनन् । फिल्मकर्मी भलाद्मी भएकै कारण सरकारले फिल्म क्षेत्र खोल्न चासो नदेखाएको हल सञ्चालक तथा फिल्म निर्माता प्रदीप कुमार उदयले बताएका छन् । वर्तमान सरकारले नेपाली फिल्म क्षेत्रको अस्तित्व स्वीकार नगरेको आरोप उनको छ । सरकारले दबाब र आन्दोलनको भाषा मात्र बुझ्ने उनी बताउँछन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘अन्य सबै व्यवसायीको संगठनहरूले आन्दोलनको अल्टिमेटम दिए, सरकारले तत्काल खोल्ने निर्णय गर्‍यो । तर हाम्रो क्षेत्र भलाद्मी । एउटा विज्ञप्ती मात्र पनि निकालेर अल्टिमेटम दिएको भए सायद यो सरकारले सुन्थ्यो होला । तर हामी भलादमी ।’ सञ्चार मन्त्रालयले फिल्म क्षेत्र खोल्न सिफारिस गरे पनि सरकार मौन रहेको उनले उल्लेख गरेका छन् ।

उनले थपेका छन्, ‘सरकार भन्दिनु पर्‍यो चलचित्र क्षेत्रको यो मुलुकमा आवश्यकता छैन । बन्द गर्दिउ । चलचित्रसँग सम्बन्धित सबै इजाजत पत्र खारेज गर्दिउ र भन्दिउ चलचित्र क्षेत्रसँग सम्बन्धित कोही पनि हाम्रो नागरिक होइन र यिनीहरूको संरक्षण गर्नु हाम्रो दायित्व होइन । हामी चुपचाप अर्को बाटो लाग्छौं ।’ उनले आफ्नो अस्तित्वका लागि लड्न फिल्मकर्मीलाई आग्रह गरेका छन् ।

चलचित्र विकास बोर्ड गम्भीरतापूर्वक फिल्म क्षेत्र खोल्न लागे पनि सरकारले महत्त्व नदिन सक्ने भन्दै उनले यसका लागि फिल्म क्षेत्रसँग सम्बन्धित संघ-संस्था अग्रसर हुनुपर्ने बताएका छन् । दबाब र आन्दोलन बिना सरकारले फिल्म क्षेत्रको अस्तित्व स्वीकार नगर्ने उनको भनाई छ । फिल्म क्षेत्र खोल्न पहल नगर्ने हो भने फिल्म क्षेत्रसँग सम्बन्धित संघ-संस्था बन्द गर्न उनको आग्रह छ ।

तपाईको प्रतिक्रिया