कोरोना भाइरसका कारण सबैभन्दा अगाडि बन्द भएको क्षेत्र हो, फिल्म क्षेत्र । सरकारले संक्रमण फैलिन नदिन लकडाउनभन्दा अगाडि नै सिनेमा हल, फिल्म प्रदर्शन र निर्माणमा प्रतिबन्ध लगाएको थियो । लकडाउन भएपछि अरु क्षेत्रहरु पनि बन्द भए । तर, अहिले भीडभाड हुने अन्य क्षेत्रलाई सरकारले सञ्चालनको अनुमति दिइसकेको छ । फिल्म क्षेत्रमाथिको प्रतिबन्ध भने हटेको छैन ।

आठ महिनादेखि फिल्म सम्बन्धि गतिविधि ठप्प हुँदा यस क्षेत्रमा आश्रित हजारौं फिल्मकर्मीलाई समस्या परेको छ । सरकारले सिनेमा हललाई सञ्चालनको अनुमति नदिँदा हल सञ्चालकहरुको करोडौंको लगानी जोखिममा परेको छ भने करोडौंको लगानीमा निर्माण भएका फिल्मको प्रदर्शन रोकिँदा निर्माताहरु पनि ऋणको बोझमा छन् । फिल्म प्राविधिकको अवस्था झन् नाजुक छ ।

लामो समयदेखि फिल्म निर्माण र प्रदर्शन ठप्प हुँदा कलाकारहरुलाई पनि आर्थिक समस्या उत्पन्न हुन थालेको कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताएका छन् । लकडाउनको सुरुवातमा नृत्य कलाकार र अग्रज कलाकार मारमा परेको बताउँदै उनले अहिले सबै समस्यामा रहेको बताए । कलाकार संघले समस्यामा रहेका कलाकारलाई सहयोग पनि गरिरहेको उनी बताउँछन् ।

हालसालै चलचित्र विकास बोर्डमार्फत् ९३ जना कलाकारलाई सहयोग गरेको जानकारी दिँदै उनले देश तथा विदेशमा विभिन्न व्यक्तिसँँग सहयोग मागेर पनि कलाकारलाई सहयोग गरिरहेको बताए । संघमा आएर सहयोग माग्नेमा अग्रज कलाकार बढी रहेको उनको भनाई छ । खड्काका अनुसार, कति कलाकारलाई प्रत्येक महिना पेन्सन जसरी सहयोग पनि उपलब्ध गराइएको छ ।

फिल्म क्षेत्रमाथिको प्रतिबन्ध नहट्दा प्राविधिकदेखि कलाकार सबै समस्यामा परेका कारण अब फिल्म क्षेत्रलाई सञ्चालनको अनुमति दिनुपर्ने उनको माग छ । ‘डिस्को, रेस्टुरेन्ट, यातायात खोल्दा कोरोनाको डर भएन । सिनेमा हल, फिल्म निर्माण र प्रदर्शन खोल्दा चाहिँ कोरोना सर्ने हो र ? अब पनि सरकारले फिल्म क्षेत्रलाई सञ्चालन अनुमति नदिए आन्दोलनमा उत्रन्छौं,’ उनले भने ।

तपाईको प्रतिक्रिया