प्रसिद्ध हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तीन दशकभन्दा लामो समयदेखि अभिनयमा सक्रिय छन् । दर्जनौं हाँस्य शृंखलासँगै उनीहरुले नेपाली फिल्ममा पनि आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका छन् । फिल्म ‘बलिदान’ मा उनीहरुले गरेको अभिनयको आज पनि चर्चा हुने गरेको छ । मह जोडीले फिल्म निर्माणलाई पनि निरन्तरता दिँदै आएका छन् ।

‘शत्रु गते’ बाट लामो समयपछि फिल्म निर्माणमा फर्किएको यो जोडीले पछिल्लो पटक निर्माण गरेको फिल्म ‘दाल भात तरकारी’ दुई वर्ष अगाडि प्रदर्शनमा आएको थियो, जुन फिल्म ६ दिन अगाडि यूट्युबमा सार्वजनिक भएको छ । हास्य कलाकार किरण केसीका छोरा सुदन केसीले निर्देशन गरेको फिल्ममा अमेरिका जान मरिहत्ते गर्ने एक परिवारको कथालाई पेश गरिएको छ ।

फिल्ममा मह जोडीसँगै निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, मोहितवंश आचार्य, किरण केसी, राजाराम पौडेल, बसुन्धरा भुषाल, शिवहरी पौडेललगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको कथा हरिवंश आचार्य स्वयंले तयार पारेका हुन् । समीक्षक र दर्शकबाट अत्यन्त कमजोर प्रतिक्रिया बटुलेको फिल्मले बक्सअफिसमा भने हिटको व्यापार गरेको थियो ।

हलमा खराब प्रतिक्रिया बटुलेको फिल्मलाई यूट्युबमा पनि गाली बर्सिने बुझेर हुनसक्छ निर्माण टिमले यूट्युबमा कमेन्ट सेक्सन नै बन्द गरेको छ । दर्शकले फिल्म हेरेर आफ्नो प्रतिक्रिया जनाउन पाएका छैनन् । दर्शक प्रतिक्रियासँग डराएर मह जोडीले कमेन्ट सेक्सन बन्द गरेको हुनसक्ने कतिपयको टिप्पणी छ । सधैं ताली मात्र पाइरहेको मह जोडी दर्शकको गालीदेखि डराएकै हो त ?

यूट्युब रिलिजको ६ दिनमा २० लाखभन्दा बढी पटक हेरिएको फिल्मलाई ४३ हजार लाइक्स मिलेको छ । नेपालको यूट्युब ट्रेन्डिङको पहिलो नम्बरमा रहेको फिल्म मह सञ्चारको यूट्युब च्यानलमा उपलब्ध छ । हलमा फिल्मलाई नकारात्मक प्रतिक्रिया प्राप्त भएपछि कलाकार आचार्यले नाटकको शैली फिल्म निर्माण गरेका कारण दर्शक कन्भिन्स हुन नसकेको बताएका थिए ।

तपाईको प्रतिक्रिया