नेपाली फिल्म क्षेत्रमा नयाँ परियोजना थपिएको छ । अभिनेता शिव श्रेष्ठलाई मुख्य भूमिकामा लिएर फिल्म ‘टेम्के: द डेस्टिनेसन’ निर्माण हुने भएको छ । शुक्रबार काठमाडौंको भद्रकाली मन्दिरमा धार्मिक विधिअनुसार स्क्रिप्ट, क्यामेरा र क्ल्याप पूजा गर्दै फिल्मको शुभ मुहूर्त सम्पन्न गरिएको हो।

मुहूर्त समारोहमा दिनेश डिसीले क्ल्याप बजाएर पहिलो सटको औपचारिक निर्देशन गरेका थिए। आर.डी.एस. नेपालको ब्यानरमा बन्ने यस फिल्मलाई निर्देशक देवप्रसाद धिमालले निर्देशन गर्नेछन्, जसले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन्।
फिल्ममा शिव श्रेष्ठका साथै अर्जुन थापा, प्रितिका शर्मा, कृष्णप्रसाद धिताल, रिना गुरुङ, सरु कार्की, श्रीदेव भट्टराई, गोकुल सुवेदी, सावित्रा चिलवाल, सृजना बुढा, अभिषेक फुयाँल र रविना दुलाललगायत कलाकारहरूको अभिनय रहनेछ। निर्देशक धिमाल स्वयं निर्माता रहेको यस परियोजनामा पंकज सरदार सह–निर्माता छन् भने सञ्चारकर्मी भोला सुवेदी (प्रणव), राजनजंग थापा र जित शेरचन कार्यकारी निर्माताका रूपमा आबद्ध छन्।

सामाजिक कथावस्तुमा आधारित रहने फिल्मको छायांकन नरेश ऐयरले गर्नेछन् भने द्वन्द्व निर्देशनको जिम्मेवारी राजु किराँतले सम्हाल्नेछन्। निर्माण पक्षका अनुसार फिल्मको छायांकन आगामी चैतको दोस्रो सातादेखि सुरु गरिनेछ। काठमाडौं र भोजपुरका विभिन्न स्थानमा खिचिने फिल्ममा नेपाली समाजमा घटेका यथार्थ घटनालाई रोचक शैलीमा प्रस्तुत गरिने निर्देशक धिमालले बताए। ‘टेम्के’ नामक पात्रको संघर्षपूर्ण यात्रालाई केन्द्रमा राखेर फिल्मको कथा अघि बढ्ने जनाइएको छ।

तपाईको प्रतिक्रिया