युटुबमा सार्वजनिक भएको १७ दिनमै ‘छक्का पन्जा ३’ले १ करोड भ्यूज पाएर नयाँ रेकर्ड कायम गरेको छ ।

यो चलचित्रलाई सबैभन्दा छोटो समयमा युटुबमा १ करोड पटक हेरिएको छ । डिसेम्बर २३ मा युटुबमा रिलिज भएको चलचित्रले जनवरी ९ तारिखमा १ करोड भ्यूज पार गरेको छ ।

१७ दिनमा यो चलचित्रलाई १ करोड दर्शकले हेरेका छन् ।

चलचित्रका कलाकार तथा निर्माता दीपकराज गिरीले हलमा जस्तै युटुबमा पनि दर्शकले माया गरेकोमा खुशी व्यक्त गरे । दर्शकले युटुबमा पनि निकै प्रतिक्षा गरेकाले र सकारात्मक प्रतिक्रिया पाएकाले पनि भ्यूजमा नयाँ रेकर्ड बनेको हो ।

दिपाश्री निरौलाद्वारा निर्देशित फिल्ममा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय रहेको छ । प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत र संजोग कोइराला फिल्ममा अतिथि भूमिकामा देखिएका छन् ।

आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको फिल्मको केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माता हुन् । फिल्मको कथा दीपक आफैंले तयार पारेको हुन् ।

यसअघि चलचित्र ‘ए मेरो हजुर ३’ले युटुबमा १९ दिनमा १ करोड भ्यूज पाएको थियो ।

तपाईको प्रतिक्रिया