नेपाल र नेपालीमाथि केन्द्रित भएर उपन्यास कति लेखिए ? देशभरिका जनताको मनमा बस्न सफल महान् चेतनाले उच्चस्तरका उपन्यास लेखिए या लेखिएनन् ? राजनीतिक–आर्थिक या आर्थिक–सामाजिक मुद्दामा कति उपन्यास लेखिए ? भारतीय नेपाली साहित्यलाई भारतीय साहित्यको रूपमा हेर्ने कि नेपाली साहित्यको रूपमा हेर्ने ?

उपन्यास भन्दै खालि उपन्यासिका मात्रै पो लेखियो कि ! किनकि उपन्यास युरोपको संस्कृति हो र उनीहरूकै परिभाषा अनुरूप यसलाई हामीले अपनाउनुपर्ने हो कि ? यस्ता प्रश्नहरूमाथि स्वचेतनाले भयानक मन्थन गर्नपर्ने अवस्था देखिन्छ ।

मनगढन्ते कल्पनालाई छोडेर यथार्थको धरातलमा उभिएर उपन्यास लेख्न थालिएको ८६ वर्ष बितिसकेको छ । अनिवार्य नेपालीका विद्यार्थीबाहेक कसैले उपन्यास नपढ्ने माहोलमा अहिले सुधार त आएको छ । पाठक बढेका छन् । ‘पल्पसा क्याफे’को प्रकाशनपश्चात् निजी प्रकाशन संस्थाहरूको दौडाहा र दैनिक पत्रिकाले साहित्यको प्रचार प्रसार व्यापक रूपमा गर्न थालेकाले पनि पठन दर बढेको हुन सक्छ ।

यति हुँदाहुँदै पनि नेपाली साहित्यको इतिहासमा देखापरेका आजसम्मका उत्कृष्ट उपन्यासहरू जनताको हातमा अझै पुगिसकेको देखिँदैन । यस वर्ष जे प्रचारबाजीमा आयो, त्यो किताबमात्रै खोज्न दौडिने अवस्था यथावत छ । कुनकुन चाहिँ हो त खास सदाबहार नेपाली उपन्यास ? थाहा नपाएर भौंतारिनेहरू पनि छन् ।

वि.सं. २०६३ पछि उपन्यासको बाढी आएको देखिनुको कारण प्रचारबाजी नै हो । वास्तवमा नेपालमा २०२० को दशकदेखि नै उपन्यासको बाढी बग्न सुरू भएको थियो र त्यो बाढी आजपर्यन्त रोकिएको छैन । उपन्यास लेख्नेहरू प्रायः मध्यम वर्गभित्र पर्ने स्कुल कलेजका शिक्षक, सरकारी कर्मचारी, पत्रकारिता गर्नेहरू, साहित्यिक क्षेत्रमा चासो राख्नेहरू, समालोचकहरू आदि थिए र छन् ।

यी सबमा कुनै खराबी देख्नु र गुनासो गर्नुमा कुनै तुक छैन । सबैले आफ्नो चेतनाको स्तर अनुरूप लेख्ने हुन् । पढ्नेले पनि आफ्नो चेतना अनुरूपकै किताब पढ्ने हुन् ।

नेपाली साहित्य भारतीय साहित्यको छायाको रूपमा बलियोसँग स्थापित भइसकेको हुनाले यसको स्वत्व नै नरहेको देखिन्छ । नेपाली बुद्धिजीवी मान्यता अनुसार विदेशी (युरोपेली) उपन्याससँग तुलना नगरी प्रकाशित हजारौं उपन्यासहरूमध्ये बाढीमा देखिएका ठूलाठूला मुढाजस्ता पढ्न लायक केही नेपाली उपन्यासबारे चर्चा गर्न लागिएको छ ।

हुन त भारतीय साहित्य पनि विदेशी नै हो । साहित्य तुलना गरिने चिज हैन । यो अतुल्य छ । युरोपको होस् या भारतको दुबै एकै चिज हुन् । रविन्द्रनाथ र चेखव दुबै विशुद्ध साहित्य हुन् । गुलाव र कमलको फूलबीच तुलना गर्नु हास्यास्पद हो । साहित्यको स्तर नै नपुर्याई लेखिएमा युरोपकै किताबमाथि पनि दुनियाँ हाँस्छ ।

केके हुन् त छुटाउनै नहुने नेपाली उपन्यासहरू जसले यौटा आकाश बनाउन सफल भयो नेपाली साहित्यमा ?

यथार्थ जीवनमा आधारित आधुनिक उपन्यासको थालनि नै नेपाली महिलाको बुहार्तन र महान आदर्शगाथाको बयानबाट भएको हो । आधुनिकता र त्रासद यथार्थलाई समेट्न नसके पनि प्रथम उपन्यास भएको हुनाले ‘रूपमती’ आजपर्यन्त महत्त्वका साथ पठनपाठन हुने क्रम रोकिएको छैन । तर, प्रथम आधुनिक उपन्यासको पगरी गुथेपनि रूपमतीमा एक प्रतिशत पनि आधुनिकता देखिँदैन ।

रूपमतीपछि हृदयचन्द्रसिंह प्रधानको ‘स्वास्नी मानिस’ सहनसिला अवलाको विपरित विद्रोही रूपमा देखापर्यो । महिलामाथिको थिचोमिचो र अन्याय अत्याचारको छनक पाइए पनि बौद्धिक चेतनाको आँखाले हेर्दा दुबै उपन्यास आजको या हिजोको मानव समाजका निम्ति बेतुकको देखिन्छ । आजको पुस्ताले दुवै उपन्यासमा उच्च चेतनाको सट्टा केटाकेटीपन देख्न थालेका छन् ।

प्रधानकै ‘एक चिहान’ उपन्यासमा पनि त्यस्तै सतही चेतनाकै छनक पाइन्छ । चिनियाँ कम्युनिष्ट आन्दोलनको प्रभाव, कमरेड पुष्पलाल श्रेष्ठको विचार तथा भारतीय सुधारवादी आदर्शको गन्ध एक चिहानमा पाइन्छ ।

मार्क्सवादी चेतनाले ओतप्रोत मुक्तिनाथ तिम्सिनाद्वारा लिखित त्यसै समयको ‘को अछुत ?’ २०११ सालको उपन्यास आजको सन्दर्भमा पनि पढ्न लायककै छ । ‘को अछुत ?’ उपन्यासको रूपमा भन्दा पनि बढी चेतनामुलक लेखको स्वरूपमा लेखिएको छ । को अछुतपछि दलित विषयमा सम्पूर्ण केन्द्रित भएर आजसम्म लेखिएका अरू उपन्यासमा शरद पौडेलको ‘लिखे’ हो । लिखे उपन्यासले ‘को अछुत’ उभिएको खुड्किलो पार गरेर अर्को खुड्किलोमा पाइला टेकेको सम्म मान्न छ ।

२००८ सालभित्र दार्जीलिङमा युग, स्थान र शिक्षा अनुरूपको चेतनाले आधुनिकताको छनक सहित ‘मुलुकबाहिर’, ‘माइतघर’, ‘लङ्गडाको साथी’जस्ता अमर उपन्यासहरू लेखिसकिएको भएपनि २०१५ सम्म नेपालभित्र लेखिएका उपन्यासहरू एक महिने भ्रुणको अवस्थाका देखापरे ।

नेपाल र नेपालीको यथार्थ चित्र दुनियाँलाई अवगत गराउन ‘बसाइँ’जस्तो उपन्यास नेपालभित्रकाले नभइ गुहाटीका भारतीय नेपालीले लेखिदिनुपर्यो । नेपालसँग सम्बन्धीत भएको हुनाले बसाइँ, मुलुकबाहिरजस्ता उपन्यासले नेपाली उपन्यासको मान्यता पाएका छन् र सदाबहार नेपाली उपन्यासको सूचीमा यिनको नाम छुटाउन मिल्दैन र छुटाएमा नेपाली उपन्यास क्षेत्र मुर्दा हुन जान्छ ।

महिलाको मनोविज्ञानलाई आधार बनाएर नेपाली परिवेशसहित २०१६ सालमा गोविन्द गोठालेले प्रथमपल्ट आजको पुस्तालाई मात्र नभई भोलिको पुस्तालाई समेत हुनेगरी पूर्ण विकसित शिशुको रूपमा ‘पल्लो घरको झ्याल’ सार्वजनिक गरे । वास्तवमा प्रथम नेपाली आधुनिक उपन्यासको पगरी लगाउन ‘पल्लो घरको झ्याल’ लायकको छ । लगत्तै महिला माथि नै केन्द्रित भएर विजय मल्लले ‘अनुराधा’ निकाले ।

बसाइ र मुलुक बाहिरले जस्तो नेपाली सामाजिक–आर्थिक अवस्थाको उजागर नगरे पनि पल्लो घरको झ्याल र अनुराधाले काठमाडौं भित्रका नेवार समुदायका मध्यम र उच्च वर्गका नेपाली महिलाको कुण्ठित मनोविज्ञान र उनीहरूको सामाजिक अवस्थालाई थोरै रूपमा भएपनि देखायो ।

मनोवैज्ञानिक उपन्यास भइकन पनि मल्ल दाजुभाइका उपन्यासहरूले नेपाली सामाजिक सांस्कृतिक अवस्थाको चित्रण भने गरेका छन् । पल्लो घरको झ्यालकी मिश्रीको विद्रोह पश्चातको बचाइ र मनोविज्ञान अनि अनुराधाको विद्रोह गर्ने चाहनामा सीमित मनोविज्ञानको चित्रण लेखकहरूले राम्रैसँग गरेका छन् ।

विजय मल्लकै उपन्यास ‘कुमारी शोभा’ कुमारी परम्परालाई आधार बनाएर कुण्ठित व्यक्ति मनोविज्ञानमा आधारित उत्कृष्ट उपन्यास हो । दुःखद कुरा यो कि कुमारी शोभा उपन्यास वर्षौंदेखि अनुपलब्ध छ । गोठाले र विजय मल्ल (दाजुभाइ) दुबैले नेपाली साहित्यमा आफ्ना उपन्यासमार्फत महिला पनि पुरूष जस्तै रगत र मासु हो देवताको फूलबारीबाट झरेका दैवी आत्मा हैनन् भन्ने देखाए । दुबैका उपन्यासहरू सदावहार छन् । मनोवैज्ञानिक उपन्यासको कुरा गर्दा तारिणीप्रसाद कोइरालाको ‘सर्पदंश’ छुटाउनै नहुने उपन्यासमा पर्दछ । मानव मनोविज्ञान र जीवन–मृत्युको दर्शन मिसिएको उपन्यास सर्पदंश सदाबहार छ ।

नेवार समुदायकै चित्रण गरेर धुस्वाँ सायमिले महिलामाथि लेखेको ‘गंकी’ उपन्यासले भने मल्ल दाजुभाइको उपन्याहरूको उचाइ छुन सकेन । तर गंकीमा सायमिले यौन कुण्ठित महिलाको नभई निम्न आर्थिक अवस्थामा बाँच्न विवश महिलाको संघर्षको चित्रण गर्ने कोशिस गरेका छन् । यस उपन्यासको अर्को विकसित रूप हालसम्म देखा नपरेकाले यसैलाई पढ्पर्ने अवस्था रहेको छ ।

२०१८ सालको ‘खैरेनीघाट’ उपन्यास पहिलोपल्ट नेपालभित्रकै लेखकले आफ्नो देशको यथार्थचित्र भव्य रूपमा लेखेको पहिलो उपन्यास हो । यो साँच्चिकैको नेपाली उपन्यास हो र आजसम्म यत्तिको नेपाली उपन्यास लेखिएन ।

जेलभित्र बसेर उपन्यास लेख्ने डायमण्डशमशेरका दुई ऐतिहासिक उपन्यास ‘बसन्ती’ र ‘सेतो बाघ’को भव्य स्तरमा पुगेका अरू कुनै ऐतिहासिक उपन्यास देखापर्न सकेनन् । ऐतिहासिक विषयमा आधारित महिलाकै दुर्दशामाथि लेखिएको चर्चित उपन्यास ‘एकादेशकी महारानी’ बलिउड फिल्मी शैलीको भएपनि यस उपन्यासमा राणा खानदानका महिलाहरूको भारतीय रजौटाहरूसँगको यातनामय बैवाहिक जीवनको ब्याख्यान पढ्न पाइन्छ ।

२०१७ देखि २०२५ सम्म जेलभित्रै बसेर उपन्यास लेख्ने नेता बि.पि. कोइराला साहित्यमा (विश्वेश्वर कोइराला)का दुई उपन्यास ‘नरेन्द्र दाइ’ र ‘बाबु’ आमा र छोरा’ नेपाली साहित्यका लागि अर्को ठूलो प्राप्ति हो । ‘मोदीआइन’ उपन्यास नभएर एक उत्कृष्ट लामो–कथा हो । भारतका रेणुजस्ता लेखक र नेहरूजस्ता नेताहरूको संगत पाएका कोइरालाको देन यति नै हो । उनका अरू उपन्यासमा हदै केटाकेटीपना देखिन्छ । ‘तीन घुम्ती’मा आफ्नो इच्छा अनुसारको पुरूषलाई पति रोज्नेबाहेक अरू घटनामा नारीवाद कहिँ कतै देखिन्न ।

तीन घुम्तीले विश्वका धेरै प्रतिशत नारीको प्रतिनिधित्व नगरेर अँध्यारो कुनाकाप्चामा मान्छे ढुकेर बस्ने थोरै ठग, लुटेरा, बदमास र घोर व्यक्तिवादीहरूको वकालत गर्दछ । विदेश गएका लोग्नेलाई बिल्लिबाठ पार्ने नयाँ नेपाली संस्कृतिको गुरूका रूपमा तीन घुम्ती उपन्यासलाई लिन सकिन्छ । ‘सुम्निमा’ उपन्यासमा ऐतिहासिक गल्ती छ । विश्वामित्र, किराँत जाति र मिथिलासम्म फैलिएको कुश सभ्यतालाई लिएर । त्यसैगरी डायरीजस्तो ‘हिटलर र यहुदी’ उपन्यासमा हिटलरको नाजीवाद ह्वास्सै गन्हाउँछ ।

‘आज रमिता छ’ उपन्यास भारतीय भूमीमा भारतीय नेपालीहरूको जीवन संघर्ष सम्बन्धि भएको हुनाले यो नेपाली उपन्यास भन्दा ज्यादा भारतीय उपन्यास हो । २०२० मा आएर नेपाली उपन्यासलाई अघि बढ्नका लागि फेरि पनि युग सुहाउँदो बाटो तयार गरिदिने काम दार्जीलिङे चेतनाकी पारीजातले नै शिरिषको फूल गरिदिनुपर्यो । बामपन्थीमाझ कुख्यात ‘शिरिषको फूल’लाई खुंखार बुर्जुवाबादी चश्मा लगाएर चिरफार गर्दा पनि यो उपन्यास कागजकै फूल देखापर्दछ ।

उपन्यासमा न त शंकर लामिछानेले भने झैं बुद्धवादी शून्यवाद देखिन्छ न त नित्सेवादी शून्यवाद । न त विश्वविद्यालयले देखेको नारीवाद नै यसमा देखिन्छ । महिला र पुरूषबीचको समागममा पूर्णविराम लगाउने बरीको विचार नारीवाद पनि होइन । बरी उर्फ पारिजातको भावुक केटाकेटीपन झल्कने अल्लारे बकबकलाई डा. ईश्वर बरालले घतलाग्दो गरी चिरफार गरिदिएकै छन् । अझ केवल हावाको अत्यन्तै न्युन चालले पनि झर्ने शिरिषको फूललाई भमराको चुम्बनपश्चात झरेको देख्ने ‘अनिदो पहाड’, ‘तोरीबारी बाटो र सपना’जस्ता खास नेपाली उपन्यास जन्माउने भविष्यकी खरो पारिजातको बतिला लागेको चेतना शिरिषको फूलमा देखिन्छ । मोटाइका हिसाबले पारिजातको ‘उसले रोजेको बाटो’ पनि उपन्यासिका नै हो । यो उपन्यासिकाको अन्तिम लाइनबाहेक अन्त कुनै खोट देखिन्न । यौटा मानिस क्रान्तिका लागि तयार हुन कति समय लाग्छ र कसले त्यो बाटो रोज्छ भन्ने कुरा उसले रोजेको बाटो मा देखिन्छ ।

नेपाली समाज र नेपालको आर्थिक–राजनीतिक अवस्थाको चित्रण गर्ने अन्य उपन्यासमा डीपी अधिकारीका दुई उपन्यास ‘धर्ती अझै बोल्दै छ’ र ‘आशमाया’ पर्दछन् । तर अधिकारीका उपन्यासहरू हृदयचन्द्र सिंहका दुई उपन्यासहरूमा गरिएको ५० प्रतिशत सुधारमात्रै साबित भए । त्यसमा थप ५० प्रतिशत सुधार गर्ने काम पारिजातले नै गरिन् ।

सुधारमात्रै गरिनन् नेपाली भाषालाई मिठासको चरम सीमामा पुराउने काम समेत पारिजातले गरिन् र नेपाली साहित्यकी साँच्चिकै तारा रानी भइन् । तर उनका उपन्यासहरूको औचित्य २०४६ सालको बहुदलीय प्रजातन्त्रको आगमनसँगै समाप्त भएर गयो । सीमित चेतनाका कारण ती गोर्कीको ‘आमा’झैं हुन सकेनन् ।

नेपाली समाजकै चित्रण गरेर उपन्यास लेखे पनि हावादारी फिल्मी शैलिका उपन्यास लेख्ने दौलतविक्रम विष्टको प्रयोगको छनक पाइने ‘चपाइएका अनुहार’ भने क्लासिक पिस हो । दोस्रो विश्वयुद्धसँग सम्बन्धित कथा समेटिएको उपन्यासमा मानव जातिकै उपस्थितिमा मानव अस्तित्व शंकटमा परेको विद्रुप अवस्थाको बयान छ । मान्छेबाहेक यस उपन्यासमा जंगली जीवहरू र पर्यावरण नै पात्रको रूपमा (मौन रूपमा) देखा परेको छ ।

पारिजातलाई नायिका बनाएर मञ्जुलले आफ्नो सुरूआतकालीन अद्भूत लेखनशैलिद्वारा लेखेका ‘छेकुडोल्मा’ कविताका पारखीहरूका निम्ति खजाना हो । प्रयोगको नाममा पाठकको टाउको दुखाउने उपन्यासहरूको बाढीमा छेकुडोल्मा राम्रै मुढा हो ।

हिन्दू मिथमा आधारित भएर पनि दुई सदाबहार र सफल उपन्यास लेखिए । मदन माड्साब (मदनमणि दीक्षित) को ‘माधवी’ र राजेश्वर देवकोटाको ‘द्वन्दको अवसान’ । मदन माड्साबले जीवनकालमा जे जति हिन्दकुशकालीन साहित्य र दर्शन तथा पश्चिमी दर्शनको अध्ययन गरे, बुझे त्यसको जगमा उभिएको भव्य उपन्यास हो, माधवी । वेद, पुराण र उपनिषद माथि टेकेर लेखिएको माधवीमा राजनीति, अध्यात्म, नारी चिन्तन, आधुनिकता र पुरातन सबथोक छ ।

माधवी यसरी लेखिएको छ कि अब नेपाली साहित्यमा अर्को पौराणीक उपन्यास लेख्नुको औचित्य छैन । लेखककै अर्को उपन्यास ‘मेरी निलिमा’ माधवीको तुलनामा छ्याङको छोक्रामात्रै हो ।

प्रयोगवाद मन पराउने पूर्वीय दर्शनकै अर्का अध्ययता राजेश्वर देवकोटाका गम्भीर चिन्तन र विशाल दर्शनले ओतप्रोत अन्य राम्रा उपन्यासहरूमा ‘डबली’ र ‘आवर्तन’ पर्दछन् । मल्ल दाजुभाइ र धुस्वाँकै बाटो पकड्दै बानीरा गिरीले २०३० को दशकमा उच्च वर्गकी महिलामाथि केन्द्रित दुई उपन्यास लेखिन्- ‘कारागार र ‘निर्बन्ध’ ।

कारागारकी मूल नायिका बौद्धिक तर लबस्तरी छे । उसमा बौद्धिकता छ तर नारीवादी सचेतता छैन । पत्नीपीडित धनी पुरुषको भित्रिनी भएर बाँच्ने महिलाको त्रासद अन्त्यको कथा समेटिएको उपन्यास कारागार नेपाली साहित्यमा नयाँ बौद्धिक आयामसहित देखिनुको साटो पुरानै शैलीको भावुकतामा रूमल्लिएको छ ।

निर्बन्धमा भने कारागारकै पत्नीपीडित पुरूषकी भ्रष्ट श्रीमती कसरी भ्रष्ट हुन पुगी भन्ने देखाइएको छ । ‘अनुराधा’मा झैं बाबु र छोरी बीचको फ्राएड सिद्धान्तलाई नै पकडेर लेखिएको निर्बन्ध पनि सचेत र जुझारू पारिजातका नारी पात्रले भरिएका उपन्यास र कथाका तुलनामा कमजोर नै लाग्छ । पारिजातको नारी सचेतताको परम्परालाई कसैले अघि बढाउने काम गरिएको देखिएन ।

गोविन्दराज भट्टराईको उपन्यासिका ‘मणिपुरको चिठी’ (२०३४) मा उच्च जातकी केटी र अछुत केटाबीचको विवाह र उच्च जातका महिलाहरूले भोग्ने समस्या दर्शाइएको छ ।

भट्टराईकै उपन्यास ‘मुगलान’ले लाहुर पुगेका लाहुरेहरूको डरलाग्दो व्यथा बोकेको छ । लेखकले त्यसलाई जसरी भव्य रूपमा सुरू गरेका थिए त्यसरी सकाउन सकेनन् । उपन्यासको पहिलो आधा पाटो त ज्यादै खरो र जीवन्त छ । मानौं डकुमेन्ट्रि हो । तर पछिल्लो आधा पाटो बलिउड फिल्मको स्क्रीप्टजस्तो छ ।

पारिजात, टि.आर. विश्वकर्मा आदिद्वारा समेत प्रशंसित २०२७ सालमा प्रकाशित जगदिश घिमिरेको उपन्यास ‘लिलाम’, ‘खैरेनिघाट’ पछिको दोस्रो विशुद्ध नेपाली उपन्यास हो ।

यसको भाषा, रामेछापको गाउँले परिवेश, समकालिन आर्थिक अवस्था, सामन्तिहरूको शोषणले उत्पन्न विषम परिस्थिति आदि हरेकथोक तारिफयोग्य छ । ‘साविति’ भने घिमिरेको पतन भएको चेतनाद्वारा लिखित उपन्यास हो ।

बलिउडको स्क्रीप्टको कुरा गर्दा संस्मरणात्मक निबन्धका उस्ताद ध.च. गोतामेको ‘घामका पाइलाहरू’ उपन्यास छुटाउन मिल्दैन । तराईको जीवन देखाउन कोसिस गरिएको यस उपन्यासमा रूपमतीकालीन आदर्शवाद त हावी भएकै छ, हिन्दी फिल्मको शैली पनि हाबि भएको छ । वास्तविक तराइको सांस्कृतिक, आर्थिक, राजनीतिक अवस्था, जनताको चेतनापट्टिभन्दा मध्यम वर्गको सानोतिनो गुनासो, महत्त्वाकांक्षा र सपना अनि साधारण बँचाइबाहेक अरूथोक छैन । संसार बदल्ने बौद्धिक र आदर्शवान जमात आफू भएको र संसार बदल्न ठूलो भूमिका निभाइरहेको भ्रममा फसेको मध्यमवर्गीय चेतको गन्ध यस उपन्यासमा पाइन्छ ।

वास्तवमा ‘नरेन्द्रदाइ’बाहेक तराईमा आधारित सदाबहार उपन्यास आजसम्म अरू लेखिएकै छैन । तर भव्य रूपमा तराईको सामाजिक–आर्थिक अनि सांस्कृतिक झलक दिने उपन्यास भने लेखिएकै छैन । न त २०४६ अघिको तराईको न त २०४६ पछिको नै । हिमाली जिल्लाहरूको जीवनबारे पनि आजसम्म उपन्यास लेखिएन । नेपाली उपन्यास फाँट ज्यादै नै गरिब देखिन्छ ।

आफ्ना कतिपय कथाहरूसमेत बलिउड टाइपका लेख्ने रमेश विकलको उपन्यास ‘अविरल बग्दछ इन्द्रवती’मा पनि फिल्मी–शैली देख्न सकिन्छ । काभ्रेका माझीहरूको जीवन संघर्षमाथि लेखिएको भएपनि मार्क्सवादी पाठक, आलोचक, तथा विद्वानहरूले समेत नरूचाएको विकलको उपन्यासले साविति उपन्यासको उचाइ छुन सकेको छैन ।

आफूलाई प्रगतिवादी लेखक सिद्ध गर्नमात्रै उपन्यास लेखिएको छ । लेखकले माझिहरूको भयानक बँचाइलाई भित्रैदेखि आत्मसात गरेर लेखेको देखिँदैन उपन्यास आधा पढिसक्दा । यस उपन्यासलाई १० मा ६ दिन मिल्छ ।

२०५० को दशकमा देखा परेको नारायण ढकालको उपन्यास ‘पीत संवाद’ र नयनराज पाण्डेको उपन्यासिका ‘उलार’ले राजनीतिक भ्रष्टता, ब्युरोक्रेसी र असफल प्रजातन्त्रको छनक दिन्छन् । सरूभक्तले ‘समय त्रासदी’मा नेपालको राजनैतिक वातावरणको ज्यादै सटिक चित्रण प्रस्तुत गरेका छन् । नेपाली उपन्यासलाई नयाँपन दिलाउने यो उपन्यास छेकुडोल्मापछि आजसम्मकै एकमात्र सफल प्रयोगवादी उपन्यास हो । ‘पागल बस्ती’ जस्तो अल्लारे चेतनाको उपन्यास लेख्ने सरूभक्तको समय त्रासदी परिपक्व चेतनाको उपन्यास हो ।

विशेषतः पाठकलाई डोहोर्याउँदै लगेर डिप्रेसनको खाडलमा खसालिदिने खालका तथा ‘म विशेष बौद्धिक वर्ग हुँ, म हिरो हुँ, तर म अवहेलित छु’ भन्ने मध्यमवर्गीय कुण्ठाले ओतप्रोत उपन्यासहरू लेख्ने नेपाली विषयका प्राध्यापकहरू र समालोचकहरूमाझ चर्चित उपन्यासकार डा. ध्रुवचन्द्र गौतमको सबैभन्दा सफल र सरल उपन्यास ‘उपसंहार अर्थात चौथो अन्त्य’ स्मरणयोग्य छ ।

उपन्यास पत्रकारिता क्षेत्र र प्रजातन्त्रमा देखा परेका परजीविहरूबारे लेखिएको छ । राणाकालीन अवस्थामा महिलाहरूको दुर्दशाको चित्रण गर्न प्रयत्नरत गौतमकै उपन्यास ‘स्वर्गीय हिरादेवीको खोज’ पनि पठनीय छ । भाषाको हिसाबले मल्ल दाजुभाइ, मञ्जुल, वाङदेल, वीपी या पारिजातको जादुमय उचाइ छुन नसके पनि ब्यङ्ग्यको मिसावटका कारण गौतमका उपन्यास पढ्दा पाठकले नयाँ स्वाद फेला पार्छन् ।

वास्तवमा डा. गौतमको पुरस्कृत तर पाठक तथा कतिपय समालोचकहरूबाट चोरिको आरोपसमेत लागेको अलिखितभन्दा यी दुई उपन्यास माथिल्लो स्तरका छन् ।

२०५० को दशकमा निस्किएका उपन्यासहरूमा इन्दिरा प्रसाईंका ‘शिखा’ र ‘रनमाया’ले नारीको दुर्दशा देखाउने कोसिस गरेका छन् । शिखाले पनि निर्बन्धले झैं विजय मल्लको बाबु–छोरीको सम्बन्धको मनोविज्ञानलाई पकड्ने काम गरेको छ तर शिखा उपन्यासमा आमाको इगोग्रस्त मनोविज्ञान पाठकलाई स्वाभाविक र विश्वास दिलाउने खालको देखिन्न । महिलाको असुरक्षित जीवनको सानो झलक भने उपन्यासमा देखिन्छ । रनमाया भने शिखाभन्दा उन्नत छ ।

शोभा भट्टराईको आत्मसंस्मरणात्मक उपन्यास ‘अन्त्यहीन अन्त्यमा’ पनि नेपाली नारीको नयाँ भोगाइलाई प्रस्तुत गरिएको छ । कुनै साहित्यकारद्वारा नलेखिएको हुनाले उपन्यास उत्कृष्ट हुन नसकेपनि नयाँ विषय हुनाले पठनीय नै छ ।

नारायण ढकालको अत्यन्तै चर्चित उपन्यास ‘प्रेतकल्प’ले राणाकालीन समयमा काँठ क्षेत्रका बासिन्दाको जीवन संघर्ष, राजनैतिक जागरण र राणाहरूको घटिया प्रवृत्तिबारे जानकारी दिलाउने प्रयास गरेको छ । डायमन शमशेर पछि नेपाली इतिहासलाई उपन्यासमा सिरियस्ली लेख्ने काम ढकालले गरेका छन् ।

तर, पनि नेवार समुदाय (विशेष ज्यापू समुदाय) यस उपन्यास छुट्न गएका छन् । प्राचीन काठमाडौंको चारहिटी बाहिरको इतिहास उठाउँदा ज्यापू समुदाय छुट्नु अलि खट्किने कुरा हो । उपन्यासलाई दसमा सात दिन मिल्छ ।

२०६० देखि २०७६ सम्मका बजारमा सफल र पुरस्कृत उपन्यासहरू ‘पल्पसा क्याफे’, ‘राधा’, ‘सेतो धरती’, ‘योगमाया’जस्ता उपन्यासहरूले खारिएको चेतना भएका पाठकहरूलाई भन्दा पनि सपाट चेतनाका पाठकलाई सन्तुष्ट पारेको देखिन्छ ।

वास्तवमा २०५० साल देखि २०७७ सम्मका उपन्यासहरूले यौटा युग बिताउन बाँकी छ । अबको चालीस वर्षपछि ती सबैको मूल्यांकन हुने नै छ जुन रूपमा वीपी, पारिजात, शंकर कोइराला या मल्ल दाजुभाइका उपन्यासबारे आज मूल्यांकन भएको छ । अहिलेको तत्कालीन आँखाले हेर्दा पनि ती सबैमा ‘मोडर्न क्लासिक’को कुनै लक्षण भने देखिन्न । किनकि क्लासिक भनिएका कतिपय हाम्रा पुराना किताबमा समेत क्लासिक गन्ध छैन ।

२०४० साल देखि २०७७ सम्मका कुनैपनि उपन्यासमा नेपाली समालोचकहरूले भने झैं नयाँ या भव्य आधुनिकता देखिँदैन । जसरी सलमान रूस्दी या भि.एस. नैपलका उपन्यासहरूमा देखिन्छ ।

समग्र राष्ट्रिय चेतना र संस्कृतिको प्रतिनिधित्व गर्ने र जनताको मुखमा झुण्डिन सक्ने उपन्यास अझै आउन सकेको छैन । धेरैभन्दा धेरै नेपाली उपन्यासहरूमा चिन्तन र दर्शनको साथै तथ्यगत अध्ययनको अभाव छ । यथार्थ जीवनलाई जरैदेखि अध्ययन गरेरभन्दा पनि सतही चेतनामा कोठे कल्पनामा भारतीय साहित्य चोरचार गरी मिसाएर लेख्ने प्रवृत्ति हाबी छ । त्यसैले पनि आजसम्मको नेपाली उपन्यासको इतिहासलाई हेर्दा विश्वबजारमा पेश गर्न लायक खैरेनिघाट, नरेन्द्र दाइ, सेतो बाघ लगायत ज्यादै थोरै उपन्यास देखिन्छन् । प्राचीन हिन्दकुशका पौराणिक कथामा आधारित भएर लेख्ने प्रवृत्ति त्यत्तिकै छ । आफू संलग्न पार्टीको सिद्धान्त र घोषणापत्रका कुरा थुपार्नलाई मात्रै उपन्यास लेख्नेहरू पनि छन् ।

नेपाली साहित्यले भारतीय साहित्यले झैं ‘क्लासिक युग’ अझै पार गर्न बाँकी नै छ वास्तवमा । रेणु, प्रेमचन्द, नागार्जुन, रविन्द्र ठाकुरहरूले जसरी भारतलाई आफ्ना उपन्यासमा स्थापित गरेर गए र पछिका पुस्ताले राजनैतिक ब्यङ्ग्यका ‘रागदरबारी’ हुन् वा ‘नेताजी कहिन’ लेखे, सत्ता र संस्कृतिद्वारा निचोरिएका मानिसहरू माथि ‘नाच्यो बहुत गोपाल’ लेखे, राजनीतिको आगोले खाएका सम्पूर्ण मानव जातिकै निम्ति ‘आधा गाँव’, ‘तमस’ लेखे आधुनिक नारीका बारे ‘शेष यात्रा’ लेखे या समकालीन भोगाइका ‘लाल पीली जमिन’, ‘महाभोज’ आदि लेखे ।

आधुनिकताको खास परिचय बोक्ने महाश्वेता देवीसम्म पुग्नुअघि हामीले धेरै वास्तविक नेपालको चित्र देखाउने ‘नरेन्द्रदाइ’ या ‘खैरेनिघाट’जस्ता उपन्यासले बोकेका विषयमा ध्यान दिएर अझ गहकिला उपन्यास ब्यापक अध्ययनपश्चात लेख्न बाँकी थियो । हाम्रो उपन्यास लेखनको शिलशिला जताततै भत्किएको छ ।

शून्यवाद, अस्तित्ववाद, सररियलिस्ट, उत्तरआधुनिक आदि लक्षणका सक्कली र भव्य उपन्यासहरू युरोपमा प्रशस्तै छन् । रोमान्टिक लक्षणले ओतप्रोत लैनसिंह वाङ्देलका उपन्यासलाई भारतीय समालोचकहरूको शब्द सापटी लिएर अति यथार्थवादी उपन्यास भन्ने नेपाली प्राध्यापक, समालोचक, केही साहित्यिक पत्रकारहरूले हल्ला गरे झैं कुनै पनि नेपाली उपन्यासमा दादावाद, सररियालिजम, उत्तरआधुनिकता मैले फेला पारेको छैन ।

नेपाल राष्ट्रमा लेखिएका उपन्यासहरूले छिमेकी देश भारतका पाठकहरू माझ परिचय नै बनाउन नसकिरहेको अवस्थामा ठूला सिद्धान्त र सपनाको कुरा गर्नु पक्कै बुद्धिमानी होइन !

(लेखक साहित्यिक अध्येता हुन्।)

तपाईको प्रतिक्रिया