विराटनगर / नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीका ‘साइबर स्याल’ हरुबाट सावधान रहनुपर्ने बताएका छन् ।

एमालेको नेपाल समूहले आज काठमाडौमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा नेपालले ‘साइबर स्यालहरु’ले योगेश भट्टराईको नक्कली हस्ताक्षर भएको पत्र सार्वजनिक गरी आजको भेला स्थगित भएको सूचना प्रकाशित गरेकोमा दुःख व्यक्त गरे ।

‘साइबर स्यालहरु अहिले पनि बाँचिरहेका छन्,’ उनले भने, ‘साइबर स्यालदेखि होसियार !’ हाम्रो कार्यक्रम भेला भाँड्नलाई साइबर सेना लागिपरेको तर त्यसले आफूहरुलाई कुनै पनि किसिमको अप्ठ्यारो पार्न नसक्ने उनको भनाइ थियो । सकारात्मक र रचनात्मक उद्देश्यले यो सभा आयोजना गरिएको उनले बताए ।

विचारशून्यहरुले कम्युनिष्ट पार्टी बनाउन नसक्ने बताउँदै उनले प्रष्ट सिद्धान्तका साथ अगाडि बढ्नुपर्ने बताए ।

पार्टीभित्रको सबै विकृति र विसंगतिको जड केपी ओली नै भएको भन्दै उनले भने, ‘जेलमा सँगसँगै बस्ने योद्धाहरुले भन्नुहुन्छ, उहाँको व्यवहार कस्तो छ, कार्यशैली कस्तो छ ।’

नेपालले भने, ‘उहाँलाई सुझाव मन पर्दैन, सल्लाह मन पर्दैन ।’ अहंकार, व्यक्तिवाद र भजन मण्डलीमा ओलीको मन रमेको नेपालको भनाइ थियो ।

तपाईको प्रतिक्रिया