नेपाली फिल्म क्षेत्रले पाएको एउटा चम्किला नक्षत्र हुन्, अभिनेता अनमोल केसी । एक समय उनका पिता भुवन केसीले नेपाली फिल्ममा आफ्नो बलियो वर्चश्व कायम गरेका थिए । अहिले अनमोल नेपाली फिल्मका नम्बर वान नायक बनेका छन् । नेपाली फिल्म भनेपछि नाक खुम्च्याउने पछिल्ला छिमलका पुस्तालाई नेपाली फिल्मप्रति रुची जगाउन उनको ठूलो योगदान मानिन्छ ।

उनै, अनमोल मंगलवारबाट २७ वर्षका भएका छन् । २०५० साल चैत १७ गते बिहान ११ बजेर ३० मिनेटमा काठमाडौंस्थित ओम नर्सिङ्गमा सुष्मिता केसी र भुवन केसीको कोखमा उनको जन्म भएको हो । उनी ५ वर्षको हुँदा सुस्मिता र भुवन अलग भएका थिए । उनी भने पितासँग नै बसे । उनले २०१३ मा हेमराज विसी निर्देशित फिल्म ‘होस्टेल’ बाट नायकको रुपमा डेब्यू गरेका हुन् ।

पहिलो फिल्मबाटै स्टारको रुपमा उदाएका उनले यसपछि ‘जेरी, गाजलु, ड्रिम्स, कृ, ए मेरो हजुर ३ र क्याप्टेन’ फिल्ममा काम गरे । यीमध्ये ‘कृ र क्याप्टेन’ ले नाफाको व्यापार गर्न सकेनन् । बाँकी फिल्मले भने अनमोलको स्टारडम उत्कर्षमा पुर्‍यायो । सिंगो फिल्म आफ्नो काँधमा बोकेर सफल बनाउन सक्ने स्टारडम बनाएका उनी नेपाली फिल्मका सबैभन्दा महंगा अभिनेता समेत मानिन्छन् ।

निर्देशक मुकुन्द भट्टले नयाँ फिल्मका लागि ७५ लाख रुपैयाँ अफर गर्नुले पनि अनमोलप्रति नेपाली निर्माताको कति विश्वास छ भन्ने प्रस्ट्याउँछ । अहिले उनी फिल्म ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त छन् । यसपछि फिल्म ‘पारस’ मा व्यस्त हुनेछन् । हरेक फिल्ममा अभिनयको आलोचना खेप्दै आएका उनले आफ्नो चरित्रलाई न्यायपूर्वक निर्वाह गर्न भने निकै मिहिनेत गर्ने गरेका छन् ।

अनमोल ‘लभ लाइफ’ का कारण पनि प्रायः चर्चामा रहन्छन् । ‘जेरी’ अभिनेत्री आना शर्मा, ‘गाजलु’ अभिनेत्री सृष्टि श्रेष्ठ, ‘कृ’ अभिनेत्री अदिती बुढाथोकी, ‘ए मेरो हजुर ३’ अभिनेत्री सुहाना थापा, अभिनेत्री सारा सिरपालीसँग उनको नाम जोडिएको थियो । केही महिनायता उनी आग्या करनजीतको प्रेममा रहेको चर्चा छ । तर, उनले कसैसँगको प्रेम सम्बन्धलाई स्वीकार गरेका छैनन् ।

तपाईको प्रतिक्रिया