सक्छु अटाउन म
तिमीले कोरेको सीमामा
अहँ! नाघेर चार दिवार
तोडेर जन्जिर त्यो
गर्नेछैन प्रेमको उपहास
बरु आफ्ना अभिलाषा
सक्छु मेटाउन म तर
सक्दिन तिम्रो मुहारमा
कालो बादल देख्न।।

खोपेर चट्टान जसरी
उम्रिन्छ पिपलको बोट
हो, त्यसैगरी उम्रनेछ
प्रेमको पालुवा तिम्रो
दिलमा र तिमी आफैले
मलजल गरेर हुर्काउदै
भन्नेछौं आऊ हेर! प्रिय
यो प्रेमको फूलबारी।।

तक्दिर बदल्न सक्दिन
सोच त बदल्न सक्छु।
समयलाई रोक्न सक्दिन
समयसँगै हिँड्न सक्छु।
यदि तिमीप्रति मेरो
चाहना र संगै हिड्ने
अठोट हुँदैनथ्यो भने
यो समय आज यति धेरै
बलवान हुने थिएन जुन
हेर त तिम्रो खुसीका
लागि आतुर र अधैर्य छ।।

शारदा चौलागाइँ चन्द्रा
काठमाडौं।

तपाईको प्रतिक्रिया