पूर्व श्री ५ ज्ञानेन्द्र शाहले आफू कोभिड-१९ (कोरोना भाइरस)बाट संक्रमित भएको जानकारी गराउनुभएको छ ।

हरिद्वार (भारत) मा बाह्रवर्षे कुम्भ मेलामा सहभागी भएर फर्कनुभएका पूर्व श्री ५ को पछिल्लो जाँचको रिपोर्ट पोजेटिभ आएको चर्चा चलिरहेकै बेला उहाँले मंगलबार ट्वीट गर्दै आफू भाइरसबाट संक्रमित भएको जानकारी दिनुभएको हो ।

मंगलबार राति करिव सवा आठ बजे ट्वीट गर्दै पूर्व श्री ५ ले भन्नुभएको छ- ‘वैश्विक महामारीका रूपमा रहेको कोभिड-१९ (कोरोना भाइरस)को सङ्क्रमण हामी र हाम्री धर्मपत्नीमा पनि देखिएको हुँदा भारत भ्रमणका बेला र त्यसपछि समेत हाम्रो प्रत्यक्ष सम्पर्कमा आउनुभएका सबै व्यक्तिहरूलाई कोभिड परीक्षण गराइ सावधानी अपनाउनका लागि हामी अनुरोध गर्दछौँ।’

यसअघि पूर्व श्री ५ का सचिव फणिराज पाठकले पनि फेसबुकमार्फत ‘पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाह देव तथा पूर्व श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह भारत भ्रमणबाट नेपाल फर्किबक्सेपछि कोबिड पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएकाले निर्मल निवासमा सेल्फ आइसोलेसनमा राज होइबक्सेको छ’ भन्दै सूचना सम्प्रेषण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया