- Pahelopost

सन् १९६९ ताका प्रेमध्वज प्रधानले नेपाल छोडेको खबर छायो। हल्ला मात्र होइन। पत्रिकाको शीर्षक बनेर।

उनी पुगेका थिए मुम्बई। संगीत सिक्न, गुरु जयदेवसँग।

एक वर्षपछि उनी नेपाल आए। फर्किएपछि कलाकारको एउटा समारोहमा पुगेछन् प्रेमध्वज, गीत गाउन। प्रस्तुति सकेर खाना खाँदै थिए, अचानक डाके राजा महेन्द्रले बोलाएछन्। उनी हतारिँदै गए।

राजा महेन्द्रले सोधेछन् ‘तपाईँ त यहाँ हुनुन्थेन नि। बाहिर जानु भएको हो?’

आफू भागेको खबर दरबारसम्म पुगेको थाहा पाइहाले प्रेमध्वजले। प्रष्टिकरण दिएछन् – ‘हजुर सरकार सुगम संगीत अध्ययनका लागि मुम्बइ गएको हुँ। देश छोडेको होइन।’

रियाजले फिट एन्ड फाइन

२०७६ सालको फागुन महिना। पारिलो घाम तापेर बसिरहेथे प्रेमध्वज प्रधान बागबजारस्थित घरमा। हामी पुग्दा भर्खरै व्यायम र रियाज सकेका रहेछन्। पुग्ने बित्तिकै व्यायमकै चर्चा गरे। ठट्यौली शैलीमा भने – त्यतिकै होइन नि ८२ नाघ्दा पनि गाइरहन सकेको।

बिहान ५ बजे नै उठ्ने रहेछन् उनी। त्यसपछि मेडिटेसनबाट दैनिक आरम्भ हुने रहेछ। गणेश, शिव र कालीको २५ मिनेट प्रार्थनापछि २ किलोमिटर हिडडुल गर्ने। त्यसपछि श्वासप्रश्वासको अभ्यास। लगत्तै एकघन्टा समय रियाज गर्ने उनले सुनाए। ‘पहिलेपहिले गीत राम्रो गाउनका लागि रियाज गर्थे, अहिले स्वस्थका लागि रियाज गर्छु, यसले रक्तसञ्चार राम्ररी गर्नेरहेछ,’ गायक प्रधानले भने।

हँसिमजाककै मुडमा रहेछन् प्रधान। जीवनका भोगाइ, देखाइ र सिकाइका विविध प्रसङ्ग रमाइलो मान्दै सुनाए। लाग्दै थियो, कुनै पूरानो एल्बमका फोटो पछाडिका कथा भनिरहेछन्।

गणेशध्वबाट प्रेमध्वज

१९९४ सालमा जन्मिएका उनी पढाईका लागि काठमाडौं आए सिन्धुपाल्चोक, चौताराबाट। यद्यपि प्रेमध्वजले आफ्नो जन्मबारे हामीलाई भनेका थिए, ‘मेरो जन्म १९९३ असारको षष्टीमा बुधबारका दिन भएको हो, तर नागरिकतामा १९९४ भएकोले सबै ठाउँमा त्यही लेख्दै आएको छु।’ भर्खर ८ वर्षका थिए विश्व निकेतन विद्यालयमा भर्ना हुँदा। त्यहीँ पढ्दा हो उनी गणेशध्वजबाट प्रेमध्वज बनेका। गुरु प्रेमबहादुर श्रेष्ठले दोस्रो पटक न्वारन गरेका रहेछन् उनको। ‘हेडमास्टरले मेरो प्रेम झिकेर तिमीलाई दिएँ भनेर मेरो नाम नै फेरिदिनुभयो,’ प्रधानले भने। गुरुले दिएको त्यही नामले संस्थापित भयो उनको। तर, पारिवारिक जीवन उस्तो प्रेमिल रहेनछ प्रेमध्वजको।

उनकी आमा तुलाधार र बुवा प्रधान। समाजले जडा गाडेको जातिय प्रथाले उनकी आमालाई प्रधानको घरकी बुहारी स्वीकारेनन्। घरकाले उनका बुवाको दोस्रो विवाह गरिदिए। त्यतिखेर उनी छ महिनाको थिए।

वि.स. २००१ मा आमाबुवाको डिभोर्स भयो। एक्ला सन्तान, आमासँगै कोठा लिएर बस्न थाले। कहिले काहीँ बुवालाई पसलमा काम सघाउन भने जान्थे। लगाव भने आमातर्फ नै बढी रहेछ। आमा उनका लागि जीवनको अनि संगीतको पनि पहिलो गुरु बनिन्।

गायनमा फड्को

उनकी आमा प्राणदेविले दरबारले दिएको अवसरमा उस्तादहरूसँग संगीत सिकेकी थिइन्। २००७ सालदेखि नै रहेछ उनकी आमाले रेडियो नेपालमा गीत गाउन थालेको। उनैले सिकाइन् प्रेमध्वजलाई संगीतको कखरा। गीत गाउनदेखि तबला, त्रिताल बजाउन समेत उनले आमाबाट सिकेछन्।

गिटारप्रति विशेष लगाव भएका प्रेमध्वजले गिटार बजाउन थाल्नुको प्रसङ्ग भने रोचक रहेछ। एकपटक अमेरिकाका लोक गायकहरूले स्टेजमा उभिएर एउटै तालमा गिटार बजाएको देखेछन्। त्यस दृश्य उनलाई बडो रमाइलो लाग्यो। सोचे – गिटार बजाउन जाने अरु कुनै बाजा बजाउनै पर्दैन।

उनको गिटार सिक्ने मोह यसरी बढ्दै गयो कि एकजना चिनजानका दाइ अमेरिका जाँदा त्यही बाजा मगाए। मगाएको सामान आयो। त्यसपछि रामशरण दर्नालसँग ४ महिना गिटार सिके। माइनर, मेजर कर्ड। त्यसैको भरमा गीतहरु कम्पोज गर्न थाले।

२०२० मा राष्ट्रिय नाचघरमा आधुनिक गीत प्रतिस्पर्धा हुने भनेपछि उनले भाग लिए। ‘गोरेटो त्यो गाउँको’ बोलको गीत भर्खर रेकर्ड गरेका थिए। स्टेजमा त्यही गीत गिटार बजाउँदै गाइदिए। नाम चलेका गायकगायिकाहरु सहभागी थिए प्रतिस्पर्धामा। नतिजा जेसुकै होस्, उनीहरू सामु गाउन पाउनुको खुशी थियो उनमा। तर, उनी नै प्रतिस्पर्धामा अब्बल घोषित भए।

त्यस बखत् राजा महेन्द्रले सुनको जलप भएको मेडल लगाइदिँदा खुशीले गदगद भए। घटनाबारे सुनाइरहँदा पनि उनको मुहारमा त्यो खुशी झल्कियो। सुनाएका थिए : ‘राजा महेन्द्रको अगाडि चारवटा गीत गाएको थिएँ।‘

पहिलो पटक वि.सं २००९ मा रेडियो नेपालमा भ्वाइस टेस्ट गर्न गए प्रेमध्वज। त्यतिबेला रेडियोमा हिन्दी गीत सुनेको अनुभव मात्रै थियो। हिन्दी ‘दिल ये नादान’ बोलको गीत गाएर सुनाए। रिजल्ट आउँदा उनी त ‘क’ श्रेणीमा पास भएका रहेछन्। त्यसपछि शुरु भयो उनको संगीतको सुमधुर यात्रा।

सङ्गीतकार भैरवबहादुर थापालाई आफू भ्वाइस टेस्ट ‘क’ श्रेणीमा पास भएको सुनाए। आफ्ना लागि गीत बनाइदिन आग्रह गरे। थापाको शब्द र संगीतमा पहिलो गीत ‘याद कसैको आइरहेछ, यो अँधेरी रातमा‘ गाए। गीत गाए बापत् बीस रुपैयाँ पारिश्रमिक थापेका थिए। त्यो रकम धेरै थियो। किनकी ‘क’ श्रेणीका अन्य कलाकारले एउटा गीतको १० रुपैया पाउँथे।

प्रौढ शिक्षा निकेतनबाट २०१० सालमा एसएलसी दिए उनले। तर संस्कृतको परीक्षा बिग्रेकाले उनी फेल भए। यसपछि पढाइलाई बिट मार्ने सोचेका रहेछन्। तर २०१२-१३ सालतिर आफै जाग्यो पढ्ने रहर। पदमोदय मा.विमा कक्षा १० मा भर्ना भए। यो पटक राम्रो अङ्कसहित उर्तीर्ण भए। त्रिचन्द्र क्याम्पसमा आइएस्सी भर्ना भए।

 

जागिरको खोजीमा रेडियो नेपालदेखि अमेरिकी सूचना केन्द्रसम्म

पारिवारिक खटपटका कारण उनको बाल्यकाल त्यति सुमधुर रहेन। त्यसपछि भने आफुले जागिर खोज्न बाध्य भएको गायक प्रधानले सुनाए। अनि पुगेछन् रेडियो नेपाल। ‘रेडियो नेपालमा कलाकारको रुपमा जागिर पाउँ भनी निवेदन दिएँ। सय रुपैयाँ तलब हुन्थ्यो। तर छानिएन। ५० रुपैयाँमै काम गर्छु भन्दा पनि दिएनन्,’ प्रधानले विगत सम्झिए, ‘त्यसपछि केही महिना टाइपिङ सिकेर अमेरिकी सूचना केन्द्रमा काम थाले।’

टाइपिङ राम्रो भएकाले त्यही टाइपिङ र फाइलिङको काम पाए। आमा र आफूलाई पुग्दो पैसा जोहो गर्न थाले। ‘त्यतिबेला दिनमा पाँच मोहोर मोहोर पाइन्थ्यो, कसैलाई पनि नेपाल सरकारले तोकेको तलबभन्दा धेरै नदिनु भनेर उर्दी जारी भएको थियो, तर ६ महिनापछि थाई भयो र महिनाको २,४० रुपैयाँ पाउन थाले। त्यतिबेला रेडियो नेपालमा सेक्सन अफिसरको १७५ पुगेको थियो। मैले यति तलब खान थालेपछि भने रेडियो नेपालले बोलायो। म गइनँ,’ प्रधानले भने।

भारतीय रुपैयाँभन्दा नेरु महँगो

अचेल नेपाली रुपैयाँको अवमुल्यन भएकोमा चिन्ता गर्दै थिए प्रधान। ‘एउटा जमाना थियो, त्यतिबेला भारतीय रुपैयाँभन्दा नेपाली रुपैयाँ महाँगो थियो,’ प्रधान भन्छन्, ‘नेपाली ५५ रुपैयाँको भारतीय रुपैयाँ १,०० हुन्थ्यो। अमेरिकी एक डलरको चार रुपैयाँ नेपाली हुन्थ्यो।’

अहिले त्यसको आकाश पातल फरक भएको र नेपाली रुपैयाँ धेरै खस्केको उनको गुनासो छ। नेपाल सरकारले कर लिने तर, जनतालाई सेवा नदिएर अन्याय गरेको पनि उनको गुनासो छ।

पछि कार्यालय बिदाका दिन पारेर जान्थे रेडियो नेपाल, गीत गाउनमात्र। यसरी टाइप मेसिनमा र बाजागाजामा एकसाथ औंला दौडाए ३३ वर्ष। आफ्नो भाग्य मान्छन्, जागिर छाडेर पनि गाउन छाड्नु परेन। स्वास्थ्य र समयले साथ दियो उमेरले आठ दशक काट्दा पनि।

अलिकति पैसा जम्मा भएपछि उनी विसंं. २०२० मा गीत रेकर्ड गराउन मुम्बइ हुइँकिए। चारओटा गीत रेकर्ड गराए। जसमा माया नमार मायालु, गोरेटो त्यो गाउँको बोलको गीतहरुले निकै चर्चा बटुलेको थियो।

‘यो नेपाली शीर उचाली संसारमा लम्किन्छ’ चाहिँ प्रेमध्वजको नेपालमै रेकर्ड गरिएको पहिलो गीत हो।

नातिकाजीको संगीत र कवि भूपी शेरचनको शब्दमा उनलाई स्वरमा साथ दिएकी थिइन् तारादेवीले।

निजी क्षेत्रको लगानीबाट बनेको पहिलो फिल्म ‘माइतीघर’ मा गीत गाउन गायक खोजेको रहेछ। सुनेपछि उनी संगीतकार जयदेवलाई भेट्न गए। त्यतिखेर नै हो उनको पहिलोपटक जयदेवसँग चिनजान भएको। जयदेवलाई हिन्दी फिल्म ‘दोस्ती’ को चारवटा गीत गाएर सुनाए। जयदेवलाई उनको स्वर खुबै मन परेछ। गाउन नदिने कुरै भएन। आफ्नो संगीतमा गीतमा उषा मंगेशकरसँग ‘नमान लाज यस्तरी’ पार्श्व गीत गाउन लगाए।

त्यसपछि उनले अन्याय, मायालु, बदलिँदो आकाश, फेरि फेटौँला, जीवनरेखालगायत १२ फिल्ममा गीत गाए।

माला सिंहासंगको सम्बन्ध!

फिल्म ‘माइतीघर’की अभिनेत्री माला सिंहासँग त प्रेमध्वजको प्रेमको हल्ला नै चल्यो। यस विषयमा उनले मुस्कुराउँदै भनेका थिए, ‘फिल्म ‘माइतीघर’ कै बेला हो मालासँग चिनजान भएको। उनी मलाई राम्रो मान्थिन्। तर, हामीहरूबिच प्रेमसम्बन्ध भने थिएन। बुवाआमाको सम्बन्धविच्छेदका कारण मलाई प्रेमसम्बन्धमा कहिले बस्न मन लागेन।’

मालाले पोखरासम्म सुटिङको चार्टर्ड प्लेनमा उनलाई पनि सँगै लगेको भने स्मरण गरे।

२०२७ मा गाएको ‘घुम्तिमा नआउँ है’ले निकै चर्चा बटुल्यो। यही गीतले आफूलाई ठूलो जमातमा चिनाएको बताउँछन्। त्यस गीत उनले भारतका स्टेज कार्यक्रमहरूमा समेत गाएको बताए।

२०२८ सालमा उनले किरण कुमारी श्रेष्ठसँग मागी बिहे गरे। उनीहरुका दुइ छोरा छन्।

प्रेमध्वजले गायनबारे कथन सुनाउँदा छुटाएनन् स्वरसम्राट नारायण गोपालसँगको सम्बन्धबारे खुल्न। उनीहरू साथी थिए। २००८ सालदेखिकै चिनजान। तर, नारायण गोपाल प्रेमध्वजभन्दा ३ वर्ष कान्छा। पछि नारायण गोपाल गोपाल योन्जनसँग नजिकिए। करिब सँगसँगै करियर शुरु गरेपनि नारायण गोपाल र प्रेमध्वजले सँगै गीत भने गाएनन्।

रेडियो नेपालमा खोकी रोकेर, अन्तिम अन्तरा बिग्रदा सुरुदेखि गाउनु पर्दाका गायक उनी धन्य थिए प्राविधिक सहजता पनि भोग्न पाउँदा। तर, साधना बिना संगीत अंगाल्ने प्रवृत्तिसँग भने गुनासो रहेछ। ‘पहिले घन्टौं समय लगाएर गीत गाउने गरिन्थ्यो। धेरै समय रियाज गरिन्थ्यो। जसकारण क्वालिटी बढी हुन्थ्यो। भावना हुन्थ्यो। तर अचेलका गीत एकैछिनमा रेकर्ड हुन्छन्। साधना हुँदैन, सोखले गीत गाउँछन् अनि कहाँबाट होस् गुणस्तर?’ उनले प्रश्न गरेका थिए।

के रोग थियो उनलाई?

प्राय फिट एन्ड फाइन देखिने प्रधान नसासम्बन्धी रोगबाट ग्रसित थिए। उनी बाहिरी कार्यक्रममा विरलै निस्कन्थे। ‘टाउकोमा हेमाटोमा भएकोले तीन महिना त उपचार नै लाग्यो,’ गायक प्रधानले भने।

हेमाटोमा मगजमा लाग्ने रोग रहेछ। भित्तामा वा ढोकामा टाउको धेरैपटक ठोकिएमा यस्तो रोग लाग्ने चिकित्सकले बताएको उनले सुनाए। ‘ब्रेनमा लाखौं नसा हुने रहेछ, ठोक्किदाँ कुनै कुनै नसा त चुडिँने रहेछ। जसले गर्दा ब्रेनमा रगत जाँदा यस्तो समस्या आउँदो रहेछ,’ गायक प्रधानले भने। बिएन्डबी अस्पतालका न्युरोलोजिस्ट डाक्टर प्रवीण श्रेष्ठको रहोवरमा ३ महिना उपचारपछि आफु निको भएको उनले सुनाएका थिए। पछिल्लोपटक उनी न्यूरो तथा जेनरल अस्पतालमा उपचाररत् थिए।

रेडियो नेपालमार्फत् ३ सय ७० आधुनिक र ४० वटा भजनहरू दिए स्रोतालाई। त्रिचन्द्रमा पढ्दा नेवारी गाउन थालेका उनले वि.सं २०२२ मा ‘राजमति कुमति’ गीत निकाले। सय भन्दा बढी नेवारी गीत गाए। समग्रमा आफ्नो सुनौलो आवाजमा ७ सयभन्दा बढी गीतहरू छाडेर गए सधैंका लागि।

तपाईको प्रतिक्रिया