- annapurnapost.com

काठमाडौं : कुनै समयकी चर्चित मोडल तथा अभिनेत्री क्षितिजा शाक्य अहिले कोरोनाका कारण होम आइसोलेसनमा छिन्। काठमाडौं मलमा आफ्नै सिर्जना प्रयोग गरेर पहिरन गृह सञ्चालन गर्दै आएकी उनी फिल्म, म्युजिक भिडियो अनि स्टेज प्रस्तुतिका लागि पहिरन डिजाइन गर्ने मात्र होइन फेसनप्रति सचेत सबैका चाहना पूरा गर्न लागि परेकी छन्।

ग्ल्यामरको क्षेत्रमा लागे पनि समाजसेवामा झुकाव राख्ने उनी पहिलेदेखि नै अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्न अग्रसर हुन्थिन्। अघिल्लो लकडाउनको समयमा कोरोना कहरमा दुःख पाएकाहरूलाई सहयोग पुर्‍याउन अग्रपंक्तिमा उभिएकी उनी यस पटकको महामारीमा पनि आफूले सकेको सहयोग गर्ने योजना बनाउँदै थिइन् तर उनी आफैं यो महामारीको चपेटामा परिन्।

यस पटकको कोरोना अनुभव सुनाउँदै उनले भनिन्, ‘पहिलो लकडाउनले ठप्प भएको व्यवसाय बल्ल आफ्नो लयमा फर्कन लागेको थियो। म निकै व्यस्त थिएँ। त्यत्तिकैमा फेरि लकडाउनको हल्ला आयो। काम सकाउँदा निकै धपेडी भयो। जिउ धेरै दुखिरहेको थियो। व्यायाम र धपेडीले दुखेको होला भन्ने सोच्दै थिएँ तर होइन रहेछ। भोलिपल्ट डाक्टरकोमा जाँदा कोरोना रिपोर्ट पोजेटिभ आयो।’

उनले आफ्नै मेहनतको कमाइ जम्मा पारेर कोरोनापीडित असहाय, वृद्धवृद्धा र आर्थिक अभाव भएकाहरूलाई सहयोग गर्ने योजना बनाएकी थिइन्। तर आफैं पीडित बनेर बन्द कोठामा बस्नुपर्दा निकै छटपटी भइरहेको उनले सुनाइन्। ‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु। जुन दिन म स्वस्थ्य हुन्छु त्यो दिन अवश्य सहयोग लिएर आउनेछु’, उनले भनिन्।

‘यो विषम परिस्थितिमा सबैले मनोबल उच्च बनाएर एक अर्कालाई सहयोग गर्नुपर्छ। एकता नै बल हो भन्ने सोच लिएर स्वस्थ्य मापदण्डको पालना गरौं। माक्स अनिवार्य लगाऊँ र सामाजिक दूरी कायम गरौं। सुरक्षित बसौं’, उनले भनिन्, ‘कोरोना जितेर छिट्टै पूर्ववत् काममा फर्कने कामना गरौं।’

तपाईको प्रतिक्रिया