चलचित्र संघका महासचिव तथा निर्देशक अशोक शर्माले नेपाली चलचित्र पुरानै अवस्थामा फर्किन १० बर्ष लाग्ने विश्लेषण सुनाएका छन् । अशोकले कोरोना कहर भन्दा अगाडिको अवस्थामा नेपाली चलचित्र फर्किन १० बर्ष लाग्ने र सो समयसम्म चलचित्र क्षेत्र जटिल अवस्थामा गुज्रिने बताए ।

उनले भने–‘नेपाली चलचित्र क्षेत्रमा बर्षेनी सय चलचित्र बन्थे । यसमध्ये ८० प्रतिशत भन्दा बढी चलचित्र नयाँ निर्माताले बनाउँदै आएका थिए । सो समयमा एउटा लहर थियो । सोही लहरमा निर्माताले चलचित्रमा लगानी गरे । तर, अब यो लहर ध्वस्त भएको छ । कोरोना कहर सकिएर पुरानै अवस्थामा माहोल फर्किएपनि चलचित्र क्षेत्र फर्किदैन ।’

अशोकले पुराना निर्माताले समय राम्रो नभएसम्म चलचित्र नबनाउने र नयाँ निर्माताले एकैचोटी सय चलचित्र नबनाउने पनि बताए । उनले भने–‘कोरोना कहर सकिएपछि विस्तारै चलचित्र बन्न थाल्छ । तर, एकैपटक सय चलचित्र बन्दैन, जुन पहिला बन्थ्यो । यसका लागि १० बर्ष समय लाग्छ । हामी, कोरोना कारण करिब १० बर्ष पछि धकेलिएका छौं भन्ने मेरो विश्लेषण हो ।’

चलचित्र संघका महासचिव समेत रहेका शर्माले लकडाउनयता दुई दर्जन हल बन्द भएको बताए । उनले भने–‘कुमारी, जय नेपाल जस्ता हल पनि सधैका लागि बन्द भएका छन् । मोफसलका धेरै सिंगल हल पनि बन्द भएका छन् । यस्तै अवस्था अझै केही समय रहेको खण्डमा मल्टिप्लेक्सहरु पनि बन्द हुने अवस्था आउँछ । किनकी, धेरै मल्टिप्लेक्स त भाडा चलिरहेका छन् ।’

तपाईको प्रतिक्रिया