विराटनगर- सफल एवं प्रतिष्ठित सञ्चार उद्यमी चन्द्र न्यौपानेको कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान निधन भएको छ । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत सुनसरीको इटहरी घर भएका ५० वर्षीय न्यौपानेको बिहान ८ः२५ बजेतिर निधन भएको हो ।
विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँलाई उपचारका लागि वैशाख २८ गते भर्ना गरिएको थियो । न्यौपानेलाई कोरोनासँगै निमोनियाको सङ्क्रमण पनि देखिएको देवले बताउनु भयो । अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखेर उहाँको उपचार थालिएको थियो ।
उपचारमा प्लाज्मा थेरामी र रेम्डेसिभिरको प्रयोग गरिए पनि छ दिनदेखि भेन्टिलेटरमा उपचाररत न्यौपानेलाई बचाउन नसकिएको जानकारी देवले दिए। न्यौपाने व्यावसायिक रेडियोहरुको छाता सङ्गठन ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल (वान)का केन्द्रीय अध्यक्ष पनि थिए । उहाँ २०७४ सालदेखि वानको नेतृत्वमा हुनुहुन्थ्यो । सञ्चार क्षेत्रमा आफ्नो जीवन समर्पण गरेका न्यौपाने राजनैतिक एवं सामाजिक क्षेत्रमा पनि क्रियासिल रहेको थिए ।
उनी इटहरीको सबैभन्दा पुरानो व्यवसायिक रेडियो सप्तकोसी एफएमका स्टेशन म्यानेजर पनि हुन । न्यौपानेलाई वौद्धिक, क्रियासिल र प्रेरणादायी व्यक्तित्वका रुपमा सबैले लिने गरेका थिए । अल्पायुमै भएको उनको निधनप्रति विभिन्न सङ्घ संस्थाले दुःख व्यक्त गरेका छन् ।
यसैबिच चन्द्रप्रसाद न्यौपानेको निधनले नेपाली एफएम रेडियो क्षेत्रमा अपुरणीय क्षति पुगेको बान प्रदेश १ का अध्यक्ष डा सन्देशदास श्रेष्ठले बताएका छन । उहाले निजी रेडियोको छाता संगठन बानलाई पनि अपुरणीय क्षति पुगेको बताए । उनले निजी रेडियोको विकासका लागि महत्त्वपूर्ण भूुमिका निर्वाह गरेका अध्यक्ष श्रेष्ठले बताए । उनले शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेकाछन ।