युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीले कमलबिनायक देखि नगरकोट जाने बाटो बिगत ७ बर्ष देखि अलपत्र भई जनजीवनमा प्रत्यक्ष असर पारेको हुँदा उक्त बाटो तत्काल मर्मत गरि जनजीवन सहजीकरण गराउन भक्तपुर जिल्ला प्रसासन कार्यलय मार्फत प्रधानमन्त्री कार्यलयलाइ ज्ञापनपत्र बुझाएको छ। योजाने १६ किलोमिटर सडक स्तरोन्नतीको कार्य ७ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएको भन्दै युवा संघ नेपालले जिल्ला प्रशासन कार्यालय भक्तपुर मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।

युवा संघ नेपाल जिल्ला कमिटी भक्तपुरका अध्यक्ष रञ्जन मोहन सैंजु र युवा नेता दिपक थापाले सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरी मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पठाएको हो । ज्ञापन पत्रमा लेखिएको छ, ‘भक्तपुरको कमलबिनायक देखि नगरकोटसम्म जोड्ने सडक छिटो भन्दा छिटो तोकिएको गुणस्तर, लागत र समयावधि भित्र सम्पन्न गर्नका लागि प्रधानमन्त्री कार्यालय, सडक विभाग र मातहत कार्यालय/ निकायलाई आवश्यक पहल कदमी अनुगमन गर्नका लागि युवा संघ नेपाल जिल्ला कमिटी भक्तपुर जोडदार अपिल गर्दछ ।’ कमलबिनायकदेखि नगरकोटसम्म जाने १६ किलोमिटर सडक स्तरोन्नती गर्नका लागि नेपाल सरकारले करिब ७ वर्ष अघि शैलुङ कन्स्ट्रक्सन र ए आई पि. एल जे. भी. लाई जिम्मा दिएको थियो । २०७१ साल जेष्ठ २२ गतेबाट सो सडक निर्माण को थालनी भएता पनि ठेकेदार कम्पनीको लापरवाही र गैर जिम्मेवारीका कारण पटक पटक गरी ६ पटक म्याद थप गरी कार्य सम्पन्न गर्न सम्झौता अवधि थप गर्दा समेत आयोजना सम्पन्न हुन नसकेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

यो सडकका कारण पर्यटकीय क्षेत्र नगरकोटमा आन्तरिक तथा बाह्रय पर्यटकको आगमनमा कमी आएको, सम्पूर्ण नगरकोटबासीहरु दुःख, कष्ट र जोखिमपूर्ण यात्रा गर्नु परेको तथा धुलो धुवाँ र हिलोले स्थानीय बासिन्दामा श्वासप्रश्वास सम्बन्धि जटिल र दीर्घ रोगहरुको समस्या देखा परेको भन्दै युवा संघले तत्काल उक्त सडक निर्माण सम्पन्न गर्न आग्रह गरेको छ । ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी केशरीले ज्ञापन पत्र आजै सरकारसम्म पुर्‍याउने प्रतिबद्धता जनाएको कुरा युवा नेता दिपक थापाले जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया