बीबीसी । यसै साता रौतहट जिल्लाको नेपाल-भारत सीमा क्षेत्र नजिकैबाट १,००० रुपैयाँ दरका करिब १० लाख नक्कली नेपाली नोटसहित तीन जनालाई पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ । भारततिरबाट पैदल नेपाल आउँदै गरेका ती सन्दिग्ध व्यक्तिलाई पक्राउ गरी खोटा मुद्रा कारोबारको आरोपमा कारबाही अघि बढाइएको प्रहरीको भनाइ छ ।
प्रहरी प्रवक्ताका भनाइमा विगत पाँच वर्षको विवरण हेर्दा अवैध रूपमा नेपालमा नक्कली नेपाली मुद्राको कारोबार भइरहेको देखिएको छ । पहिले नेपालमा भारतीयलगायत विदेशी मुद्राका नक्कली नोटहरू धेरै भेटिने गरेकामा केही वर्षयता जाली नेपाली नोट पनि भेटिनु चिन्ताको विषय भएको कतिपयको भनाइ छ ।
नक्कली नोट भेटिने क्रम कस्तो छ ?
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार पछिल्ला वर्षहरूमा “भारततर्फबाट नेपालमा नक्कली नेपाली रुपैयाँ” भित्रिने गरेको पाइएको छ ।
उनले भने, “नक्कली भारुमा नेपाली बाटो प्रयोग भयो भन्ने कुरा छ… नेपालीका हकमा चाहिँ उता (भारत) उत्पादन गर्ने, छाप्ने अनि यता चलनचल्तीमा ल्याउने देखिन्छ ।” उनी मानिसहरूमा चाँडै धनी बन्ने लालसा लगायतका कारणले यस्ता नोटको कारोबार भएको ठान्छन् ।
प्रहरीका अनुसार विगत पाँच वर्षको विवरण हेर्दा आर्थिक वर्ष २०७४/०७५ मा ठूलो मात्रामा नेपाली नक्कली नोट बरामद भएको देखिएको छ । त्यस वर्ष नेपालमा कुल दुई करोड ६४ लाख ८८ हजार ६७० रुपैयाँ बराबरको नक्कली नेपाली नोट बरामद भएको थियो ।
नक्कली नोट कसरी चिन्ने ?
प्रहरी र नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरू “सामान्य सतर्कता अपनाए” सर्वसाधारणले पनि धेरै नक्कली नोट चिन्न सक्ने बताउँछन् । राष्ट्र ब्याङ्ककको मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालका अनुसार सर्वसाधारणले नक्कली नोट चिन्ने विभिन्न उपायहरू हुन सक्छन् ।
केही उदाहरण दिँदै उनी भन्छन्ः
सबैभन्दा पहिले कागज खस्रो छ कि सामान्य छ भनेर हेर्ने
कटकट गरेर नोटलाई भाँच्ने
पछाडिबाट लाइट बालेर पानीछाप हेर्ने
“सुरक्षाका कुराहरू पछाडिबाट लाइट बालेर हेर्दा देखिन्छ । अगाडिबाट कसैले फोटो कपी गरेर पनि जोड्न सक्छ । नक्कलीमा पछाडिबाट लाइट बाल्यो भने देखिँदैन ।” “हरेक नोटमा सगरमाथा हुन्छ, सगरमाथामा लाइट बालेर हेर्दा झलझली बल्यो भने त्यो सक्कली हो, बलेन भने त्यो नक्कली हो । त्यस्तै गभर्नरको हस्ताक्षर र नोटको नम्बर पनि हेर्नुपर्छ । यति कुरा पहिचान गरियो भने त्यो सक्कली हो कि नक्कली भनेर पहिलो चरणमा हामीले थाहा पाउन सक्छौँ ।”
उनका अनुसार ब्याङ्कले नोट छाप्ने कागज व्यवस्थापन गर्दादेखि नै विभिन्न सुरक्षाका उपायहरू अपनाउने गरेको छ । उनले नोट छाप्ने कम्पनीहरूलाई कसरी पानीछाप राख्ने, बत्ती बल्दा देखिने कुराहरू लगायतका सुरक्षात्मक उपायहरू कसरी राख्ने भनेर सुरुमै जानकारी गराइने गरेको बताए ।
सक्कली नेपाली नोटको कागज खस्रो हुने र पानी हाल्दा पानी बगेर जाने तथा कटकट गर्ने तर नक्कलीमा त्यस्तो नहुने उनी बताउँछन् । उनले थप सुरक्षात्मक उपाय बारे जानकारी दिँदै भने, “यस्तो खालको रङ र नम्बरहरू राखेको हुन्छ कि त्यो रङहरू कागज उत्पादन गर्ने कम्पनीबाहेक अरूले फोटोकपी गरेर बनाउन सकिँदैन ।”
के सबैले नक्कली नोट चिन्न सक्छन् ?
सामान्यखाले नक्कली नोटहरू सर्वसाधारणले चिन्न सक्ने भए पनि कतिपय अवस्थामा सर्वसाधारणले नक्कली नोट नचिन्न पनि सक्ने अधिकारीहरूको भनाइ छ । नेपालका अनुसार नक्कली नोट चिन्ने पहिलो सजिलो उपाय भनेको कुनै पनि नोटमा हुने सुरक्षात्मक विशेषताहरू थाहा पाउनु हो ।
तर सर्वसाधारणले सबै सुरक्षात्मक उपायबारे जानकारी नपाएका पनि हुन सक्छ । नेपाल भन्छन्, “सबै सर्वसाधारणले सबै विशेषताहरू थाहा पाउन सक्दैनन् । त्यसैले हामीले विभिन्न चरणका सुरक्षा उपायहरू अपनाएका हुन्छौँ ।”
“पहिलो तहको सुरक्षा उपाय भनेको सर्वसाधारणका लागि, दोस्रो तहको सुरक्षा उपाय भनेको ब्याङ्क तथा वित्तीय संस्थाका लागि र तेस्रो तहको सुरक्षा उपाय भनेको केन्द्रीय ब्याङ्क जसले नोटहरू उत्पादन गर्छ, नोट डिजाइन गर्ने र छाप्ने कम्पनीका लागि हो ।”
उनले राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थाहरूले नक्कली नोट सहजै चिनून् भनेर विभिन्न क्षेत्रमा गएर नियमित तालिम दिने गरेको जानकारी दिए । त्यस्तै ब्याङ्कहरूमा राखिने नोट गन्ने विद्युतीय उपकरणमा पछिल्ला सुरक्षा विशेषताहरूबारे जानकारी दिने विवरण अपडेट गरिएको भएमा त्यस्ता उपकरणले पनि सहजै नक्कली नोट चिन्ने उनले बताए ।
राष्ट्र ब्याङ्कका प्रवक्ता देवकुमार ढकाल चाहिँ नेपालको वित्तीय प्रणालीमा भित्रिएका नक्कली नोटहरू प्राय: पहिचान हुने गरेको बताउँछन् । त्यसैले ठूलो रकम नगदमा कारोबार नगरेर ब्याङ्किङ प्रणाली अपनाउँदा नक्कली नोटको खतराबाट बच्न सकिने उनको तर्क छ ।