काठमाडौं -काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाउने तयारी गरिएको छ । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रसासन कार्यालयले जारी निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी गरेका हुन् ।

स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौंलाई कोरोनाको रेड जोन मानेपछि निषेधाज्ञाको स्वरुपसमेत थप कडाइ गर्नुपर्ने अवस्था आएको प्रशासनको भनाइ छ । संक्रमणको दर कम हुनेभन्दा बढ्दो गतितर्फ रहेकाले प्रसासनले थप संक्रमण दरको समीक्षा गर्दै निषेधाज्ञाको कडाइमा आवश्यक निर्णय लिने तयारी प्रशासनको छ ।

साथै प्रशासनले सर्वसाधारणलाई जथाभावी भीडभाड नगर्न, मास्कको प्रयोग गर्न र बिनाकाम घरबाहिर ननिस्कनसमेत आग्रह गरेको छ । आइतबारसम्म उपत्यकामा ११ हजार ७८६ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा मात्रै आठ हजार ४ सय ३० जना सक्रिय संक्रमित छन् ।

ललितपुरमा एक हजार ९ सय ७० र भक्तपुरमा एक हजार ३ सय ८६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ ।

तपाईको प्रतिक्रिया