विराटनगर । आफ्नोविरुद्धमा समाचार प्रकाशित गरेको भन्दै इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले विराटनगरको एक अनलाईन समाचार पोर्टल ब्लक गरेको छ ।

विराटनगर ट्राफिक चौकस्थित सेवा केन्द्रमा सेवाग्राहीले तालाबन्दी गरेकोको समाचार शुक्रबार विराटनगरको आवर विराटनगर डटकमले प्रकाशित गरेको थियो । गुणस्तरीय सेवा प्रवाह नगरेको भन्दै सेवाग्राहीले क्लासिक टेकको कार्यालयमा तालाबन्दी गरेका थिए ।

‘समाचार प्रकाशित गरेको विषयमा हाम्रो अनलाईनलाई उसको नेटवर्कभित्र ‘ब्लक’ गरिदियो,’ आवर विराटनगर डटकमका प्रबन्धक÷निर्देशक सरोज कार्कीले भने, ‘यो प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता विरुद्धमा छ ।’

आवर विराटनगरको पेज ब्लक गरेपछि क्लासिक टेक प्रयोगकर्ताले त्यो पेजमा गएर समाचार सामाग्री हेर्न नमिल्ने बनाएको कार्कीले बताए । सेवाग्राही अमित गुप्ताले चारदिन अगाडिदेखि सेवा अवरुद्ध भएको भन्दै गुनासो गरेपनि सुधार नगरेपछि शुक्रबार साँझ तालाबन्दी गरेका थिए ।

क्लासिक टेकको नेशनल मेनेजर भुपाल सिंह कार्कीले फोन गरेर आवर विराटनगरमा समाचार आएकोप्रति सेवाग्राहीलाई धम्कीसमेत दिएका छन् । समाचार सामाग्रीमा चित्त नबुझे कानुनी उपचार खोज्न पाउने अधिकार भएपनि सञ्चारमाध्यमलाई नै ‘ब्लक’ गर्ने कुराको आलोचना चौतर्फी भएको छ ।

अनलाइन ब्लक गरेको विषयमा ओबी मिडिया प्रा.लि.ले त्यस विषयमा मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला, नेपाल पत्रकार महासंघ प्रदेश लगायतलाई जानकारी गराईसकेको जनाएको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश १ का महासचिव विवेक गौतमले सञ्चारमाध्याम बन्द गराउने कुरा प्रेस स्वतन्त्रता विरोधी भएको बताए । नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरेले प्रकाशित समाचारप्रति चित्त नबुझे कानुनी बाटो अपनाउन सक्ने भएपनि सञ्चारमाध्यमलाई नै ब्लक गर्नु कानुन सम्मत नहुने बताए । ओबी मिडिया प्रा.लि.भने क्लासिक टेकले संविधानको मर्म र कानुन विपरित काम गरेको भन्दै त्यस विरुद्ध कानुनी कारवाहीमा जाने बताएको छ ।

तपाईको प्रतिक्रिया