काठमाडौं -ललितपुरको सिद्धिपुर सानागाउँमा विगत १३ वर्षदेखि संचालित सुप्रिम ब्युटी होम एण्ड ट्रेनिङ सेन्टरले आफ्नो १३ औँ बार्षिकोत्सव भब्यताका साथ मनाएको छ। सिद्धिपुर पार्टी प्यालेसमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै यस ब्युटी होमले आफ्नो बार्षिकोत्सव मनाएको हो।

कार्यक्रममा प्रमुख अतिथि महालक्ष्मी नगरपालिका वडा नं ६ का वडाध्यक्ष बासुदेव महर्जन बिसेष अतिथिहरु वरिष्ठ ब्युटिसियनहरू सोनी कारँजित,रुस्का श्रेष्ठ, गुण केसरी ताम्राकार,लक्ष्मी महत, वडा सदस्य एवं समाजसेवी शोभा महर्जन, चर्चित ब्युटिसियनहरू थ्री आरबाट रचना शाक्य, रेणु राना, रिना अवाले,समाजसेवीहरु, पत्रकारहरु, अन्य चर्चित व्यक्तित्वहरु तथा आफ्ना आफन्त र कर्मचारीहरुको उपस्थितिमा केक काटेर मनाइएको थियो।

कार्यक्रममा बोल्दै बिसेष अतिथि वरिष्ट ब्युटिसियन सोनी कारँजितले सुप्रिम ब्युटी होमकी संचालिका देवि महर्जनलाई सफलताको शुभकामना दिइन् । उनले महर्जन धेरै नै मेहनति रहेको चर्चा गर्दै महिलाहरूलाई घरपरिवारले साथ दिए सफल हुन कुनै गाह्रो नहुने समेत बताइन्। त्यसैगरी वरिष्ट ब्युटिसियन सोनी कारंजित, रुस्का श्रेष्ठले पनि संचालिका महर्जनको कामको प्रशंसा गर्दै आफु पनि बिहेपछि ब्युटिसियन करियरमा लागेकोले परिवारको साथ र सहयोगले मात्र हरेक महिला सफल हुने बताइन्। ‘महिला सफल हुन् सुरुवात घरबाटै हुनु पर्ने र त्यो देखिएको छ।’ उनले भनिन्।

त्यस्तै अर्की वरिष्ट ब्युटिसियन गुण केसरी ताम्राकारले पनि ‘जहाँ महिला त्यहाँ विकासको पाहिला’ भन्ने नारा अहिले सफल भैरहेको चर्चा गरिन्। सुप्रिम ब्युटी होम एण्ड ट्रेनिङ सेन्टरको सफलताको शुभकामना दिंदै हरेक महिलालाई अघि बढ्न केहि सर-सहयोग चाहिएमा आफुलाई सम्झिन पनि उनको आग्रह रहेको छ।

त्यस्तै महालक्ष्मी नगरपालिका वडा नं ६ की वडा सदस्य एवं समाजसेवी शोभा महर्जनले परिवारको साथ र सहयोगविना महिलाहरू अघि बढ्न नसक्ने बताइन्। जुन घरमा महिला सक्षम छ त्यो घर नै उज्यालो हुने उनको भनाइ छ।

वडा सदस्य महर्जनले सुप्रिम ब्युटी होम संचालिका महर्जनलाई वडाबाट के कस्तो सहयोग चाहिन्छ त्यो उपलब्ध गराउन आफ्नो वडा तयार रहेको कुरासमेत जानकारी गराइन्। ‘आफु महिला भएकै कारण महिलाले गरेको हरेक कामलाई साथ र सहयोग गर्दै आइरहेको छु,’ उनले भनिन्।

महिलाहरू तालिम लिने तर घरमै बसे आफ्नो उदेश्यमा पुग्न नसकिने भन्दै तालिम लिइसकेपछि त्यसलाई व्यवहारमा उतार्न पनि उनले जोड दिइन्।

त्यस्तै महालक्ष्मी नगरपालिका वडा नं ६ का वडाध्यक्ष बासुदेव महर्जनले पनि सुप्रिम ब्युटी होम एण्ड ट्रेनिङ सेन्टरको १३ औ बार्षिकोत्सव शुभकामना दिँदै महालक्ष्मी नगरपालिका वडाहरू मध्ये ६ वडामा महिलाहरू सशक्त रुपमा अघि बढेको बताए। ‘हामी निर्वाचित भएर आइसकेपछि महिलाहरूको सीप विकासको लागि हरेक वर्ष बजेट छुट्याउँदै आइरहेको छौं। ब्युटिसियन तालिम पनि आयोजना गरेका थियौं यसपालि पनि ७ लाख बजेट छुट्याएका छौँ अब एड्भान्स ब्युटिसियन तालिम पनि संचालन गर्छौं,’ उनले भने।

तालिम लिएर पैसा सक्काउने र प्रमाणपत्र घरमै राख्ने परिपाटी त्याग्नु पर्ने भन्दै वडाध्यक्ष महर्जनले हामीहरूले परिणामुखी तालिम चाहेको बताए। संचालिका देवि महर्जनको सफलतामा सिंगो वडा खुसी र आफु गौरवानित महसुस गरेको भन्दै वडाले गर्नु पर्ने कुनै पनि साथ सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

कार्यक्रममा सुप्रिम ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरमा तालिम लिएका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै प्रमुख अतिथि, अतिथिलगायत, सहयोगी, विज्ञापनदातालाई मायाँको चिनोसमेत प्रदान गरिएको थियो । कार्यक्रमको संचालन संचारकर्मी तथा कलाकार सुर्य चन्दले गरेका थिए।

तपाईको प्रतिक्रिया