काठमाडौँ। केलियन एम्बाप्पेले रियल मड्रिड जाने भए मात्र आगामी समरमा क्लब छाड्ने बताएका छन् । उनले यो सिजनको शुरुमा नै पीएसजी छाड्न खोजेका थिए।

यद्यपि पीएसजी र रियल मड्रिडबीच उनको ट्रान्सफरको सम्झौता हुन सकेन। रियलले अझै उनलाई अनुबन्ध गर्न चाहेको छ। एक अन्तर्वातामा बोल्दै उनले भने, ‘मैले यो समरमा क्लब छाडें भने म रियल मड्रिड मात्र जान्छु ।’

पछिल्लो ६/७ वर्ष आफूले पेरिसका लागि सबै कुरा दिएको र राम्रो प्रदर्शन गर्ने प्रयास गरेको भन्दै उनले रियलका लागि क्लब छाड्नु तर्कसंगत कदम हुने बताएका छन्।

पीएसजीले रियल मड्रिडको प्रस्ताव रोक्दा आफूलाई शुरुमा केही दुःख लागेको एम्बाप्पेले सुनाए । छाडेर जान लागेको मान्छे पुनः त्यही क्लबमा बस्दा खुशी हुन नसक्ने उनको तर्क छ। तर अहिले त्यो अवस्थाबाट आफू बाहिर आएको भन्दै उनले भने, ‘म सधैं खेल्न चाहन्छु र आफूलाई महान् खेलाडी हुँ भनेर साबित गर्न चाहन्छु। केही कुराले पनि मलाई केही असर पार्न सक्दैन।’

पीएसजीमा रहँदासम्म क्लबका लागि महत्वपूर्ण योगदान दिने एम्बाप्पेले बताएका छन्।

तपाईको प्रतिक्रिया