नुवाकोटका नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीको बारेमा उनकै निर्वाचन क्षेत्रका एक युवाको अनौठो टिप्पणी थियो । ती युवा भन्दैथिए्,‘मेरो हजुरवुवाले केसीलाई भोट हाल्न शुरु गर्नु भएको, बुबाको पालामा पनि कायमै थियो । अहिले मलाई पनि बुबाले हाम्रा नेता हुन् अर्जुन नरसिंह केसी भन्दै उनलाई नै मत दिन लगाउनु हुन्छ । तीन पुस्ताले एउटै बुढोलाई किन भोट हाल्ने?’ युवाको तर्क हो कि विद्रोह ? उनी त एउटा प्रतिनिधि पात्रमात्र हुन् । यो नियम नेपालका पहिलो र दोस्रो पुस्ताका धेरै नेतामा लागू हुन्छ ।

सिरहा जिल्लाका पद्मनारायण चौधरी हुन या चित्रलेखा यादव वा हुन् सीतादेवी यादव र उनका छोरा डा. सुभाषचन्द्र । अथवा नेपाली कांग्रेस हुँदै माओवादी केन्द्रमा पसेर सांसद भएका सुरेश चन्द्र दास नै किन नहुन् । जुन विवाहमा पनि बेहुला नै बन्नु पर्ने प्रवृत्ति बोकेकालाई अब प्रत्येकको निर्वाचन क्षेत्रका यूवाहरुले नुवाकोटे युवाले जस्तो विद्रोह गर्लान् त ? मंसिर ४ गतेको निर्वाचनका लागि यो प्रश्न जोड तोडले उठ्ने गरेको छ ।

नेकपा माओवादी भूमिगत हुँदै एउटा महत्वपूर्ण निर्णय गरेको थियो । उसले आफू सत्तामा जाने अवस्था आएमा पहिलो पुस्ताका नेता सरकारमा नजाने निर्णय गरेको थियो । मातृका यादवले यसबारेमा सिरहा कै एक स्थानीय पत्रिकामा संकटकालकै बेला अन्तर्वार्ता दिएर यो बताएका थिए । त्यस दिनदेखि पंक्तिकारले माओवादीको यो निर्णयलाई उनीहरु सत्तामा नपुगुन्जेल प्रशंसा गरेको थियो ।

तर जब सत्ता प्राप्तिको बेला आयो माओवादीले त्यो निर्णय विर्सियो । र, अहिले पुष्पकमल दाहाल ( प्रचण्ड) की छोरी नागरिकलाई गुहार्दैछिन् कि, ‘मेरो बुबालाई प्रधानमन्त्री बनाइदिनुस, कुनै नेपालीले सडकमा भीख माग्नु पर्दैन ।’ नेपालीलाई भीखमाग्ने बनाउनमा आंशिक दोष त प्रचण्डको पनि छ भन्ने छोरीलाई थाहा रहेनछ । पाँचथरका एक युवा अहिले खाडी मुलुकमा काम गरिरहेका छन् ।

उनले पंक्तिकारलाई विश्वास गरेर संकटकालमा माओवादीले उनको गाउँमा गरेको एक घटना सुनाएका छन् । ती युवा भन्छन्, ‘म ६ कक्षामा पढ्दा माओवादीका लडाकुहरु स्कूलमा आएर एउटा यशु नामको फिल्म र अर्को माओवादी लडाकु र प्रहरी, सेनासंग भएको युद्धमा मृत्यु भएका माओवादीहरुलाई यशुले पुर्नजीवन दिएको फिल्म देखाएका थिए । फिल्म हेर्ने ठाउँको सुरक्षाको लागि काठको नक्कली बन्दुक बोकेका यूवाहरु गेटमा सेन्ट्रि भएर बसेका हुन्थे।’

उनले थपे,‘ फिल्ममा हेर्दा सुरक्षाकर्मीले नागरिकलाई मारिरहेको र यशुले मरेकाजति सबै नागरिकलाई बचाइरहेको जस्तो देखिँदा आफूलाई पनि गाउँमा सामान्य खेलेजस्तै त रहेछ युद्ध भन्ने लागेको थियो । आखिरमा मर्नु नपर्ने ?’ तर ती सबै भ्रम रहेछन् ।

उनले त्रसित हुँदै साउति पाराले खुसुक्क भने,‘माओवादीले त्यसबेला बुर्जवा शिक्षा पढ्नु पर्दैन, हिड हामीसंग भनेको थियो । माओवादीसंग गइयो भने मरिन्छ भनेर अभिभावकले छोराहरुलाई गाउँछोडेर भाग्न भने । म पनि भागेर विराटनगर गएर मजदुरी गरेर बसे ।’ गाउँमा बसे माओवादी हुनुपर्ने बाध्यता भएपछि धेरै बालकहरु भागेर शहर पसेका र बाल मजदुर भएर काम गर्न बाध्य भएका थिए ।

ती सबै बालकहरुको कथा सुन्दा अहिले माओवादीको जगजगी भएको बेला गाउँमा यूवाहरुले कस्तो दुर्दशा भोग्नु परेको रहेछ भन्ने बुझ्न सकिन्छ । यस्तो परिस्थिति भोगेर सडकमा माग्ने जस्तै बनाएका माओवादीहरु यत्रो शासन चलाई सकेपछि प्रचण्डलाई प्रधाानमन्त्री बनाइदेऊ भनेर नागरिकसंग फेरि भीख माग्दैछन् । के ती युवाहरु जो अहिले बयस्क भएर घर परिवारको खर्च जोहो गर्ने माध्यम भएका छन्, उनीहरुले माओवादीलाई भोट दिनका लागि अभिभावकलाई भन्लान ? पक्कै पनि यसमा प्रतिकार गर्लान ।

तर अझ पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बडादशैंको शुभकामना दिने क्रममा प्रतिगमन विरोधी शक्तिलाई भोट दिनु भन्दैछन् । उनका नजरमा प्रतिगमन गर्ने को हुन भन्दा जो राजाका समर्थक छन्, जो केपी ओलीका समर्थक छन् वा जो रबिन्द्र मिश्र ज्ञानेन्द्र शाही, राजेन्द्र लिंगदेन र रबि लामिछानेहरु होलान । तर मतदाताहरु त प्रतिगमनको नयाँ रुप ल्याउन प्रचण्ड नै कम्मर कसेर लागेको देखिरहेका छन् । प्रचण्डले प्रतिगमनकारी भनेर आरोप लगाउन खोजेको शक्ति को हो ?

स्वयं प्रचण्डलाई आतकंकारीको विल्ला लगाउने को थियो ? प्रचण्ड परिवारबादमा गएको देख्नेहरु माओवादी भित्रै कति छन् ? प्रचण्ड लम्पसारबादी हुन, खाओवादी भइसके भनेर उनका नाममा विभिन्न विशेषणहरु बनाउने मतदाताहरुलाई नै उनी भन्दैछन् कि प्रतिगमनकारीहरुलाई भोट नदिनु भनेर । उनको यो भनाईले जसलाई उनले प्रतिगमनकारी भनेकाछन् उसको मत झन बढ्ने सम्भावना भयो । प्रचण्डका विरोधीहरु अब सबै एकढिक्का भएर उनले भोट नदिनु भनेकालाई नै भोट दिने भए ।

एउटाले अर्कोलाई प्रतिगमनकारी, अवसरवादी, भ्रष्टचारी, स्वेच्छाचारी, पैसाकारी, परिवारवादी भनेर आरोप लगाएर हिडेर नेताहरुको अवमुल्यन गर्नु भन्दा कुनै नयाँ विकल्प खोजेर च्याऊ झैं उम्रिएका नेताहरुलाई व्यवस्थापन गरेर सामाजिक काममा लगाउने हो कि ?

पंक्तिकार विराटनगरमा बस्दा कहिले काँही दुध विक्रि भएन भनेर सुन्ने गरेको थियो । त्यतिखेर धेरै दुध उत्पादन भएकाले दुग्ध विकास संस्थानले हप्तामा एक दिन दुध नकिन्ने भनेर मिल्क होलिडे मनाउने गरेको थियो । दुध बढी उत्पादन भएजस्तै नेपालमा नेताहरु धेरै उत्पादन भए । सबै नेताहरुलाई पद् र पावर दिन नसक्ने स्थिति देखा परेको छ । यस्तोमा निर्वाचनमा धाँधली, पैसाको चलखेल, टिकट किनबेच, हत्या हिंसा बढ्ने हुन्छ ।

तीन पुस्ता एउटा नेतालाई भोटमात्र हालिरहनु पर्ने बाध्यतालाई अन्त्य गर्न राजनीतिक शक्तिमा जहिले पनि बसिरहनु पर्ने लालच हुने नेताहरुलाई लगातार दुईपटक टिकट पाइसकेपछि तेस्रो पटकको पाँच बर्षे अवधिमा उम्मेदवार नबनाएर पुरै समय सामाजिक काम र आफ्नो सेवा प्रति संलग्न गराउनका लागि ‘पावर होलिडे’ अथवा ‘राजनीतिक पावर होलिडे’ मनाउने व्यवस्था संविधान, ऐन कानुन मै व्यवस्था गर्ने हो कि ? संविधानमा पछि आउला पहिले राजनीतिक पार्टीहरुले नै आफ्नो नीति बनाएर लागु गर्ने हो कि ?

पावर होलिडे लागु गरियो भने सबैभन्दा सन्चो नेपाली कांग्रेसलाई हुन्छ । हुन त उसले पहिले समानुपातिकमा भएकालाई फेरी समानुपातिक नबनाउने भनेर मिनि पावर होलिडे त मनाउन लगाएकै छ । यसले गर्दा कांग्रेसका महिलाहरु सुताजा कोइराला, चित्रलेखा यादव, सितादेवी यादव लगायतलाई यो नियम लागु भइसकेको छ ।

माओवादी केन्द्र, एमाले र मधेस केन्द्रित दलले पनि यो नियम लागु गर्नुपर्ने देखिएको छ । हुन त टिकट नपाए एमालेका भीम रावल मार्काका मानिसहरु स्वतन्त्र उठ्ने र प्रचण्ड लगायतका मानिसले उक्त क्षेत्रमा गठबन्धनको उम्मेदवार नउठाएर सहयोग गर्ने जस्तो तोर्पे कुरा पनि बजारमा आएको छ । यो कदमले गठबन्धनलाई कहाँ सम्म लाने हो ? बीचबाटैमा दुर्घटना हुने होड त जनता समाजवादी पार्टीको पछिल्लो निर्णयले देखाइदिएको छ । तर पनि मतदाता नै अन्तिम निर्णयकर्ता हुन् । यो सबैलाई थाहा छ ।

हो, यूवा वा मतदाताहरुले अहिले परिवर्तन चाहिरहेका छन् । राजनीतिक पार्टीहरुले नयाँ नयाँ विकल्प नदिने हो भने एउटै स्वादको खाने कुरा पटक पटक खाएभने खानै मन नलागेजस्तै एउटै नेता पटक पटक एउटा क्षेत्रमा उम्मेदवार भइराख्दा अर्थशास्त्रको सिद्धान्त सक्रिय हुन सक्छ । यसबाट हुने जोखिम कम गर्नका लागि ‘पावर होलिडे’ को व्यवस्था सबैले गरौंं । मंसिर ४ गते हुन लागेको प्रदेश र संघको संसदीय निर्वाचनमा नयाँ नयाँ अनुहारलाई अवसर दिऔं । हार्नका लागि चुनाव उठने र उठाएको चन्दाको आधा बचत गरेर निर्वाचनलाई नाफाको विजिनेश बनाउनेहरुबाट सावधान होऔंं ।

‘पावर होलिडे’ले नियमित रुपमा राजनीति मात्र गरिरहेर भ्रष्टचार गर्नु हाम्रो अधिकार हो भन्ने सोच बनाइसकेकालाई आफ्नो कुनै एक पेशा त हुनुपर्दछ भनेर सन्देश जान्छ । राजनीतिक शक्तिबाट टाँढा भएको पाँच बर्ष पेशामा संलग्न हुने र समाजसेवीका रुपमा गाउँ बुझ्ने, शहर बुझ्ने र बढीभन्दा बढी जनसम्पर्कमा रहेर नागरिकको समस्याहरुलाई आफ्नै समस्याको रुपमा अनुभुति गरेर त्यसको समाधानका लागि फेरी शक्तिमा आउँदा व्यवहारमा लागुगर्ने काम गर्न सक्दछन् ।

देशमा स्वतन्त्र उम्मेदवारहरुको विगविगी छ । मतदाताहरु राजनीतिक पार्टीका उम्मेदवारहरु भन्दा स्वतन्त्रहरु मध्येको राम्रो विकल्प खोज्ने दौडमा छन् । त्यस्ता स्वतन्त्रहरु मध्येका लागि पार्टीले आफ्ना उम्मेदवार बनाएर स्थानीय निर्वाचनमा जीताएको उदाहरण काठमाडौं महानगरपालिकाको उपमेयर सुनिता डंगोल त छदैछिन् ।

जसरी एमालेले स्वतन्त्रमा उठ्न तयारी गर्दै गरेका अवदुस मियाँ जस्ता होनहार यूवालाई टपक्क टिपेर आफ्नो पार्टीमा लगिसकेको छ, त्यसैगरी पावर होलिडेको मर्मलाई अनुशरण गर्नका लागि सबै राजनीतिक पार्टीले जनअधार भएका स्वतन्त्रलाई उम्मेदवार बनाएर पटक पटक उम्मेदवार बन्ने प्रबृत्ति भएका केही नेताहरुलाई छटनी गरेर चटनीको स्वादवाला नयाँ अनुसारलाई उम्मेदवार बनाउनु पर्दछ । जसरी खानामा चटनीलाई स्वादको रुपमा लिइन्छ, त्यसैगरी यसपटकको निर्वाचनमा हुने नयाँ उम्मेदवारहरु चटनीजस्तै स्वादका होउन ।

बासी भात रुपी पुराना पटक पटक ‘टेस्टेड’ भइसकेका नेताहरुलाई फेरि पनि सत्तामा पु¥याऔं भने राजनीति मै झाडापखाला लाग्न सक्छ । गणतन्त्रलाई नै सिंगारपेटार गरेर चलाउने मनसाय भएका नेताहरुले म नै विकल्प हुँ भन्नु भन्दा अरुलाई अवसर दिऊ र संविधान बचाऔं भन्नेमा लाग्नु राम्रो हो । तर भीरबाट लड्न लागेको गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिन्न भनेजस्तै अहिले अरुलाई प्रतिगमन कारी भन्ने राजनेताहरुले भीरबाट गोरु लडन लागेजस्तै भएका छन् । सबै विवाहमा आफै बेहुला बन्ने प्रबृत्ति बोकेका नेताहरुलाई यसपाली पंक्तिकारले मात्र होइन, सिंगो देशका मतदाताहरुले राम राम मात्र भन्नेछन् ।

जय ‘पावर होलिडे’ ।

तपाईको प्रतिक्रिया