कात्तिक ११ गतेबाट प्रदर्शनमा आउन लागेको प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरुष’का कलाकारहरुले मोफसलका दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्ने भएका छन् । असोज २५ गतेबाट सुरु हुने टूरमा फिल्मका कलाकारहरु हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अन्जना बराईली, कमेडियन सुमन कार्की, चर्चित गायक निशान भट्टराई रहनेछन् ।

केही शहरमा भने फिल्मका कलाकार मदनकृष्ण श्रेष्ठ पनि सहभागी हुने बताइएको छ । प्रमोसनल टूरमा हाँस्य र संगीतसहितको प्रस्तुति रहने फिल्मका कलाकारसँगै कार्यकारी निर्माता समेत रहेका रविन्द्र सिंह बानियाँले बताए । उनले भने- ‘हामीले भ्रमणको क्रममा मनोरन्जनात्मकको कार्यक्रम तयारी गरेका छौँ । हामी ‘महापुरुष’बारे दर्शकलाई विभिन्न प्रस्तुतिमार्फत जानकारी दिनेछौँ ।’

‘महाभ्रमण’ नाम दिइएको कार्यक्रम असोज २५ मा विर्तामोडस्थित वान स्टप मल, असोज २६ इटहरीमा जनता प्राविको मैदान र विराटनगरको सेन्ट्रल मल, असोज २७ मा हेटौंडाको हुप्र चौर, असोज २८ मा नारायणगढको नारायणी नदी किनार, असोज २९ मा बुटवलको अमरपथमा रहेको टक्सार कम्प्लेक्सको अगाडि र असोज ३० मा पर्यटकीय नगरी पोखराको हलन चोकमा हुनेछ ।

शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको पनि अभिनय रहेको यो फिल्मबाट अरुण र अन्जनाले डेब्यू गरेका हुन् । फिल्ममा दीपक बज्राचार्यको छायांकन र मित्र डी. गुरुङको सम्पादन रहेको छ ।

‘महापुरुष’बाट कवि नवराज पराजुलीले गीतकारको रुपमा डेब्यू गरेका छन् । षट्कोण आर्ट्सको व्यानरमा निर्मित यस फिल्मको कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य र शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा किशोर आचार्य, रंग संयोजनमा जुनिम गहतराज र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी छन् ।

तपाईको प्रतिक्रिया