१. पृष्ठभूमि
जतिसुकै नास्तिक भए पनि ज्योतिष विषयमा धेरैले आस्था राख्ने गर्छन् । ज्योतिषमा विशेषगरी नवग्रहहरुको प्रभाव वा फलादेशका बारेमा चर्चा गरिएको हुन्छ भन्ने ठानेर धेरैजसो व्यक्तिहरु ज्योतिषीकहाँ चिना हेराउन वा हात हेराउन जाने गर्छन् । हामीमध्ये कतिपयले कुनै असफलता प्राप्त ग¥यौँ भने ‘ग्रह लागेर यस्तो भयो’ भनेर ग्रहलाई दोष दिने गरेका छौँ तर हाम्रो जीवनचक्रमा सधैँ कुनै न कुनै ग्रह त लागेकै हुन्छन् भन्ने कुराको भने ख्याल गर्दैनौँ ।
हामीले मान्दै आएका सात बारकै नामबाट सात ग्रह तथा राहु र केतु गरी नौ ओटा ग्रहहरु हुन्छन्, जसलाई छोटकरीमा ‘आ., चं., भौ., रा., बृ., शं., बु., के., शु.’ भन्ने गरिन्छ । विंशोत्तरी र त्रिभागी ग्रहदर्शा हेर्दा यिनै नवग्रहहरुको फलका बारेमा चर्चा गरिन्छ । यसका अतिरिक्त मङ्गला, पिङ्गला, धान्या, भ्रामरी, भद्रिका, उल्का, सिद्धा र सङ्कटा गरी अन्य आठ ग्रहहरुको पनि चर्चा ज्योतिष वाङ्मयमा भएको पाइन्छ । यिनलाई स्त्रीग्रह मानिन्छ भने नवग्रहलाई पुंग्रह मान्ने गरिन्छ ।
योगिनीको सङ्कटा दशालाई विभाजन गरेर सङ्कटा र विकटा भन्ने प्रचलन पनि रहेको छ । ग्रहदशाको जपपाठ गर्दा यी सबै प्रकारका ग्रहहरुको पूजा गरिन्छ भने सबैजसो पूजामा नवग्रहको मात्र पूजा गरिन्छ । यसरी हामीले ग्रहहरुको पूजा त वर्षौंदेखि गर्दै आएका छौँ तर ग्रहको पूजा किन गर्ने ? भन्ने विषयमा हालसम्म हाम्रो ध्यान आकृष्ट हुन सकेको छैन ।
२. आधुनिक विज्ञानका दृष्टिमा ग्रहहरु कति छन् ?
आधुनिक विज्ञानका दृष्टिमा सन् २००६ सम्म बृहस्पति, शनि, अरूण, वरूण, पृथ्वी, शुक्र, मङ्गल, बुध र प्लेटो गरी ग्रहहरुको सङ्ख्या नौ नै थियो ।
सन् १९३० मा पत्ता लगाइएको प्लुटो ग्रह ७५ वर्षपछि सन् २००६ मा ग्रहको श्रेणीबाट उपग्रहमा झरेपछि हाल ग्रहको सङ्ख्या आठ रहेको छ । पूर्वीय वाङ्मयमा चर्चा गरिएका नवग्रहमध्ये बृहस्पति, शनि, शुक्र, मङ्गल र बुध गरी पाँच ग्रहको नाम आधुनिक विज्ञानले पनि समान नै राखेको छ यद्यपि यी नाम नेपालीकरण गरिएका नै किन नहुन् ।
आधुनिक विज्ञानले सबै ग्रहलाई सौर्य मण्डलकै परिधिमा राख्तै सबै ग्रहहरुलाई गोलाकार रहेको, सबैमा गुरूत्वाकर्षण शक्ति रहेको र सबै ग्रहहरुले सूर्यको फन्को मार्ने कुरालाई स्वीकार गरेको छ । त्यसैगरी आधुनिक विज्ञानका अनुसार बृहस्पतिको रङ सेतो, सुन्तले, खैरो र रातोको सम्मिश्रण मानिएको छ भने बुधको रङ गाढा खरानी रङको ठानिएको छ ।
शुक्र र शनिको रङ पहेँलो मानिएको छ भने अरूण र वरूणको रङ नीलो ठानिएको छ । त्यस्तै पृथ्वीको रङ खैरो र मङ्गलको रङ सुन्तला रङको मानिएको छ । पूर्वीय वाङ्मय र आधुनिक विज्ञानका दृष्टिमा कुनै पनि ग्रहको रङमा समानता देखिँदैन । तसर्थ हाम्रा ऋषिमुनिहरुले विभिन्न ग्रहको विभिन्न रङ निर्धारण गर्नुको रहस्यको अन्वेषण गर्नुपर्ने आवश्यकता देखिन्छ ।
३. के ग्रहको पूजा गर्नु कृतज्ञता प्रकट गर्नु हो ?
जसरी जुनसुकै कार्यक्रम वा समारोह सम्पन्न गर्नका लागि सबैको संलग्नता र क्रियाशीलता आवश्यक हुन्छ त्यसरी नै हाम्रो शरीरको निर्माणमा पनि धेरै दैवी शक्तिहरुको योगदान रहेको छ । हाम्रो शरीरको निर्माणमा सूर्यले आत्मा प्रदान गर्दछन् भने चन्द्रमाले मन दिन्छन् । मङ्गलले रक्त सञ्चार गर्छन् भने बुधले कल्पनाशक्ति प्रदान गर्छन् । बृहस्पतिले ज्ञान दिन्छन् भने शुक्रले वीर्य र रज प्रदान गर्छन् । शनिले सुख र दुःखको अनुभूति प्रदान गर्छन् । राहु र केतुले पृथक् चीज प्रदान नगरी शनिले जस्तै दुःख र सुखको अनुभूति गर्न हामीलाई प्रेरित गर्छन् ।
त्यसैले, हाम्रो शरीर कसैको कृपाले प्राप्त भएको हो भन्ने कुरामा वैदिक सनातन धर्मका आस्थावान् व्यक्तिले विश्वास गर्दै आएका कारण गर्भाधानदेखि अन्त्येष्टिसम्मका संस्कारमा मात्र होइन अन्य वैदिक कर्महरुमा समेत ग्रहहरुको पूजा गर्ने गरिएको हो ।
जसरी कुनै आयोजकले कार्यक्रम सम्पन्न गर्न योगदान दिएका सबै संघसंस्था र व्यक्तिहरुलाई नामै लिएर धन्यवाद ज्ञापन गर्न बिर्संदैनन् त्यसैगरी हाम्रो शारीरिक र मानसिक विकासका लागि विशेष योगदान दिइरहेका नवग्रहहरुलाई कृतज्ञतास्वरुप पूजा गरी सम्मानभाव व्यक्त गर्ने गरिएको हो ।
४. के ग्रहपूजा विश्वबन्धुत्वको प्रतीक हो ?
‘वसुधैव कुटुम्बकम्’ अर्थात् पृथ्वीका सम्पूर्ण प्राणीहरु आफन्ती हुन् भन्ने भावना वैदिक सनातन धर्मसंस्कृतिमा बाहेक अन्यत्र पाउन मुस्किल छ । सूर्यलोक, चन्द्रलोक आदि समस्त ग्रहलोकसम्म पनि हाम्रो आत्मीय सम्बन्ध छ भनेर प्रमाणित गर्न समेत ग्रहपूजा गरिन्छ ।
हामीले गर्ने सबैजसो राम्रा वा नराम्रा कर्महरुमा ग्रहहरुको उपस्थिति हुन्छ र उनीहरु साक्षी बनेर बसेका हुन्छन् । हामीले हरेक पूजाकर्ममा ग्रहहरुको पूजा गरेर उनीहरुलाई सम्मान गरिरह्यौँ भने उनीहरुले पनि हाम्रो सम्मान गर्नेछन् र ग्रहहरुसँग हाम्रो आत्मीय सम्बन्ध स्थापित हुन्छ ।
जसरी नजिकको नातासम्बन्ध पनि आवतजावत र भेटघाट हुन छाड्यो भने पराईजस्तै हुन्छ त्यसरी नै ग्रहहरुलाई पुज्न र सम्मान गर्न छाडिएका खण्डमा उनीहरुले हामीलाई सुखदुःखमा साथ दिन सक्तैनन् । त्यसैले ग्रहपूजालाई आत्मीय सम्बन्ध स्थापित गर्दै विश्वबन्धुत्वको भावना पैmलाउने प्रतीकका रुपमा लिन सकिन्छ ।
५. नवग्रहको पूजा किन गर्ने ?
अथर्ववेद (१९।९।१०) मा चन्द्रमाका साथ सबै ग्रह, सूर्यका साथ राहु, मृत्युको सूचक धूमकेतु र डरलाग्दा रूद्रगण हाम्रा लागि कल्याणकारी होऊन्, उनीहरुले हाम्रो कल्याण गरुन् भन्ने कामना गरिएको छ । त्यसैले ग्रहको पूजा गर्नु भनेको कल्याण र शान्तिका लागि हो ।
‘अग्निर्देवता व्वातो देवता…’ वैदिक मन्त्रमा अग्नि, वायु, सूर्य, चन्द्रमा, अष्टवसु, ११ रूद्र, १२ आदित्य (सूर्य), ४९ मरूद्गण, विश्वेदेव, बृहस्पति, इन्द्र र वरूण यी सबै देवता हुन् भन्ने उल्लेख गरिएको छ ।
देवताले कहिल्यै नराम्रो त गर्दैनन् तर जसले नराम्रो कर्म गर्छन् तिनलाई दण्ड दिन भने देवता सदैव अग्रसर हुन्छन् । सूर्य, चन्द्र आदि ग्रहहरु पनि देवता नै भएका कारण उनीहरुले हामीलाई शान्ति प्रदान गरुन्, हाम्रा राम्रा र नराम्रा कर्ममा हामीलाई सदैव मार्गदर्शन गरिरहून् र सचेत बनाइरहून् भनेर ग्रहको पूजा गरी सम्मान गर्ने गरिएको हो ।
६. मान्छेमा ग्रहको प्रभाव कसरी पर्छ ?
हामीले फलानालाई फलानो ग्रह लागेको छ त भन्छौँ तर ग्रहको प्रभाव मान्छेमा कसरी पर्छ ? भन्ने बारेमा ख्याल गरेका हुँदैनौँ ।
एउटै ग्रह बुद्धिमान् व्यक्तिमा लाग्दा उसले बुद्धिमान् व्यक्तिलाई तर्क र वितर्क गरी दुष्कर्मबाट बचाएर सत्कर्म गर्न प्रेरित गर्छ भने दुष्ट व्यक्तिमा लाग्दा त्यही ग्रहले सोच्ने शक्ति कम गराइदिएर दुष्कर्म गर्न प्रवृत्त गराउँछ । त्यसैले हामीले आफ्नो दुष्ट प्रवृत्तिलाई परास्त गर्दै जान सक्यौँ भने ग्रहहरुले पनि हामीलाई सदैव सुकर्म गर्न अग्रसर गराउन सक्छन् ।
७. जपपाठ र दान गर्नाले के ग्रहदोष हट्छ ?
आयुर्वेदशास्त्रको ‘माधवनिदान’ नामक ग्रन्थमा उल्लेख भएअनुसार पूर्वजन्ममा गरिएको पापले यस जन्ममा रोगको रुप लिएर मान्छेलाई दुःख दिन्छ । औषधि, दान, जप र देवताको पूजा गरेर त्यसको शान्ति गरिन्छ ।
वर्तमानमा हामीले केवल औषधिद्वारा रोगलाई निवारण गर्ने प्रयास गर्दछौँ तर सबै रोग औषधि गरेर मात्र पनि निर्मूल हुन सक्तैनन् । त्यसका लागि दान, जप, होम र देवपूजाको आवश्यकता बताइएको हो । दान पनि आफ्नो हैसियतभन्दा कम दिँदा त्यसले फल दिँदैन ।
सम्बद्ध ग्रहको पूजा गरी ‘शान्तिकर्मणि सर्वत्र तथा दुःस्वप्नदर्शने, ग्रहपीडासु चोग्रासु माहात्म्यं शृणुयान्मम’ (दुर्गासप्तशती १२।१६) मन्त्रले सम्पुट चण्डीपाठ गर्नाले ग्रहको दोष हट्छ भन्ने परम्परागत मान्यता हाम्रो समाजमा रहिआएको छ । चण्डीपाठ र ग्रहजप गरेपछि अन्तमा सम्बद्ध ग्रहका लागि निर्धारण गरिएका वस्तुहरु दान गर्नाले ग्रहदोष हट्छ तर त्यसरी जपपाठ गर्ने पुरोहित दक्ष हुनाका साथै पुरोहितले विधिपूर्वक जपपाठ गराएको हुनुपर्छ । ग्रहका लागि जपपाठ र दान गर्दा यजमानले मानसिक रुपमा आफू ग्रहदोषबाट मुक्त भएको अनुभूति गर्छन् ।
मानव शरीरमा रक्त, मांस, मज्जा, मेदा, अस्थि, शुक्र र ओज यी त¤वहरुमध्ये कुनै एउटा त¤वको कमी वा बढी भएमा रोग लाग्ने भएकाले जुन त¤वको कमी वा बढ्ता भएर रोग लागेको छ त्यही त¤वको पूर्ति वा न्यून गरेर रोगको निवारण गरिन्छ ।
रक्तविकारसँग सम्बद्ध कमलपित्त वा जन्डिस रोग मङ्गल ग्रहको दोषले गर्दा लाग्ने गर्छ । त्यसैले मङ्गलग्रहको दोषको निवारणका लागि मङ्गलग्रहसँग सम्बद्ध मुँग, सुन, तामा, गहुँ, गुड, मसुरो, चाकु, घिउ, रातो चन्दन, रातो करबिरको फूल, रातो बहर र रातो कपडा दान दिइन्छ । यसैगरी अन्य ग्रहको दोषका कारण हुने रोगको निवारण गर्न सम्बद्ध ग्रहका लागि निर्धारण गरिएका दान सामग्रीहरु दान दिने व्यवस्था गरिएको हो ।
८. उपसंहार
वर्तमान भौतिक र वैज्ञानिक युगमा ग्रहको पूजा गर्ने विषयमा सबैले चासो नराख्नु अस्वाभाविक होइन । जजसले ग्रहको अदृश्य प्रभावका बारेमा विश्वास राख्छन् उनीहरुले ग्रहको पूजा गर्दा मानसिक रुपमा शान्ति प्राप्त गरेको अनुभूति गर्न सक्छन् ।
दीर्घकालीन रोगहरु लागेपछि धेरैजसो अस्पताल धाउँदा पनि रोगको निवारण हुन नसकेपछि कतिपय अनास्थावान् व्यक्तिले पनि ग्रहपूजामा विश्वास गर्न थालेको देखिन्छ । सूर्यग्रहण र चन्द्रग्रहणमा पनि ग्रहकै दुष्प्रभावबाट बच्नका लागि ग्रहणका समयमा भोजनादि निषेध गरेर ग्रहविशेषसँग कुनै मन्त्रको जप गर्नाले मन्त्रसिद्धि हुन्छ भन्ने विश्वास पनि मन्त्रसिद्धिकर्तामा रहेको छ ।
विज्ञानले खोजअनुसन्धान गरेर पत्ता लगाउनुपर्ने विषयहरु अनन्त भएकाले कुनै दिन ग्रहको पूजा गर्ने विषयमा पनि विज्ञानसम्मत तथ्य पत्ता लाग्ला र ग्रहपूजा गर्नेहरु रुढिवादी रहेनछन् भन्ने कुरा प्रमाणित पनि हुन सक्ला ।
त्यतिन्जेलसम्म हामीले परम्परागत रुपमा गर्दै आएको ग्रहपूजाले हामीलाई मानसिक रुपमा स्वस्थ र शान्त बनाउन मद्दत गर्नेछ भन्ने कुरालाई आत्मसात् गर्न उपयुक्त देखिन्छ ।
(सहप्राध्यापक, नेसंवि, कालिका विद्यापीठ, गैँडाकोट, नवलपरासी)