कोरियोग्राफरको रूपमा पहिचान बनाएका माइकल चन्दले निर्देशनमा हात हालेका छन् । उनी निर्देशितमा ल्याएका पहिलो फिल्म ‘राम नाम सत्य’ को छायांकन शुक्रबार देखि चितवनमा सुरु गरिएको छ भने भरतपुर–११ स्थित धर्मधाम मन्दिरमा क्यामेरा पूजा गरेर फिल्मको पहिलो दृश्य खिचिएको छ ।
निर्देशक चन्दका अनुसार फिल्मको करिब ८० प्रतिशत छायांकन चितवनमा हुनेछ भने बाँकी १० दिनको सुटिङ मुस्ताङमा गर्ने तयारी छ भने अहिले फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ र दिव्या रायमाझीमाथि केन्द्रित दृश्य खिचिँदै छन् । यस्तै, अभिनेता विराज भट्ट पनि यसै साताबाट छायांकनमा सहभागी हुने जनाइएको छ ।
आगामी चैत्र २७ गते प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, आशा पौडेल, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, कनिज कोइराला, रवि गिरी, दिनेश डीसी, राजेन्द्र आचार्य, अर्जुन सुनार र रामेश्वर शाहलगायत कलाकारको अभिनय रहनेछ भने ‘टिकटक स्टार’ आयुष सिंह ठकुरीले यसै फिल्मबाट डेब्यु गर्दैछन् । एक्सन, सस्पेन्स र लभस्टोरी मिसिएको कथामा निर्माण भइरहेको फिल्ममा उपेन्द्र शाही र स्वेता विमली निर्मातामा छन् भने किशोर भट्ट र राजेन्द्र भट्ट कार्यकारी निर्माताको रुपमा काम गर्दै छन।
यो फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, अर्जुन पोखरेल, एसडी योगी, विमल गिरी र नवाज अन्सारीको संगीत तथा विक्रम स्वाँर र सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ ।







































































