विराटनगर ÷
नेपाल बीमा प्राधिकरणको आयोजनामा सोमबार विराटनगरमा कोशी प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा कोशी प्रदेश सरकारका माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा सन लाइफका सीईओले “स्वास्थ्य र वित्तीय सुरक्षालाई सुदृढ पार्ने उपाय” विषयमा आफ्नो प्रस्तुतीकरण दिनुभयो। सोही क्रममा प्रोपर्टी इन्सुरेन्सका कोशी प्रदेश प्रमुख प्रदीप बाबु तिवारीले “मौलिक बीमा” सम्बन्धी विषयमा प्रस्तुती राख्नुभयो भने प्रभु इन्सुरेन्स विराटनगर शाखा प्रमुखले मोटर बीमाको अवस्थाबारे जानकारी दिनुभयो।
छलफलका क्रममा प्रदेश सचिव आचार्यले कार्यक्रम प्रभावकारी रहेको बताउँदै बीमासम्बन्धी प्रस्ताव र सुझावका आधारमा नीतिगत सुधार अघि बढाइने उल्लेख गर्नुभयो। उहाँले बीमा दावी प्रक्रिया छिटो र पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभयो। साथै, विपद्का घटनाहरू बढ्दै गएसँगै राज्य वा प्रदेश सरकारले मात्र क्षतिपूर्ति दिन नसक्ने भएकाले बीमाको माध्यमबाट जोखिम व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सचिव आचार्यले कोशी प्रदेशका आठ वटा यातायात कार्यालयबाट बीमासम्बन्धी सेवा सुरु भएको जानकारी दिँदै बीमा सचेतना कार्यक्रमलाई अझ सशक्त बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले नक्कली बीमाको प्रचलनबारे पनि गम्भीर ध्यानाकर्षण गराउँदै यसको अनुसन्धान गर्नुपर्ने धारणा राख्नुभयो।
त्यसैगरी, यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुखले बीमा अवधि अनुसार ब्लुबुक नवीकरणको व्यवस्था गरिएको बताउँदै छोटो अवधिको बीमाका लागि नीतिगत सुधार गर्नुपर्ने सुझाव दिनुभयो। उहाँले उद्योग तथा व्यवसायका लागि तेस्रो पक्ष बीमाको प्रावधान आवश्यक रहेको र चालक अनुमतिपत्र (लिखित परीक्षा) मा सवारी बीमाबारे जानकारीसमेत समावेश गर्नुपर्ने बताउनुभयो।
मालपोत तिर्दा र व्यवसाय दर्ता तथा नवीकरणका समयमा अनिवार्य बीमाको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको थियो। साथै, कोशी प्रदेशमा करिब ८ हजारभन्दा बढी इ–रिक्सा सञ्चालनमा रहे पनि धेरैले बीमा नगरेको र चालकसँग लाइसेन्स नहुँदा बीमा दावीमा समस्या भइरहेको विषय उठाइएको थियो।
कार्यक्रममा बोल्दै नेपाल बीमा प्राधिकरणकी कोशी प्रदेश प्रमुख प्रीति देवले प्राधिकरणले आफ्ना अधिकार क्षेत्रभित्रका कार्यलयहरूलाई सहजीकरण गर्ने बताउँदै प्रदेशस्तरमा बीमाको पहुँच र प्रभावकारिता बढाउन निरन्तर प्रयास भइरहेको जानकारी दिनुभयो। कार्यक्रमले प्रदेशमा बीमा सचेतना विस्तार, नीतिगत सुधार र सहकार्यका सम्भावनाहरू पहिचान गर्न योगदान पु¥याएको बताइएको छ। कार्यक्रममा प्रदेश सचिव राम प्रसाद आचार्य, उप–सचिव विमल बास्कोटा, सन नेपालका प्रमुख कवि फुयाँल, पुर्वाञ्चल ट्रिपर व्यवसायी संघका प्रतिनिधि, विभिन्न बीमक संस्थाका अधिकारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो।







































































