यही कात्तिक २५ गतेबाट प्रदर्शनमा आउन लागेको कमेडी प्रधान फिल्म ‘चोर र पुलिस’का निर्देशक आरएल लामा मोक्तानले नयाँ निर्माता तथा निर्देशकलाई फिल्म बनाउन अत्यन्त गाह्रो रहेको बताएका छन् । बिहीवार फिल्मको ट्रेलर रिलिज कार्यक्रममा उनले नयाँ मेकरको नाम सुनेरै चलेका कलाकारहरु स्क्रिप्ट नसुनी भाग्ने गरेको र हलवालाले पनि शोमा विभेद गर्ने गरेको गुनासो पोखे ।

मोक्तानले भने, ‘मलाई थाहा छ मेरो फिल्मलाई मल्टीप्लेक्सले शो नै दिँदैन । अनि, मिडियाबाट यो हिरो खत्तम र यो हिरोइन खत्तम भनेर प्रदर्शन अगावै फिल्मलाई मार्ने काम हुन्छ । अब कसलाई खेलाउने ? शित्तल केसी चल्दैन, अनमोल केसी खेल्दैन । अब के गर्ने ? के अब सबै फिल्ममा अनमोल मात्र लिने ? उसले पनि सक्दैन नि । त्यसैले नयाँ कलाकारहरुलाई पनि प्रोत्साहन गर्नुपर्छ ।’

उनले आफूले केही नाम चलेका कलाकारलाई ‘चोर र पुलिस’ अफर गरेको भए पनि उनीहरुले स्क्रिप्ट समेत सुन्न नचाहेको अनभुव सुनाए । ‘नयाँ मेकर हुने वितिक्कै चलेका कलाकारहरु काम नै गर्दैनन् । कमसेकम स्क्रिप्ट त सुन्दिनु पर्‍यो । यो राम्रो कुरा होइन नि त । अनि, चलेका हिरोलाई स्क्रिप्ट र हिरोइन उनीहरुले भनेअनुसार हुनुपर्ने रे । निर्माताले त्यो कसरी गर्न सक्छ ?,’ उनी सुनिए ।

हल व्यवसायीहरुले नेपाली फिल्मलाई शो नै नदिएर मार्ने गरेको मोक्तानको भनाई छ । ‘नेपाली फिल्ममाथि हेपाहा प्रवृति व्याप्त छ । लाखौं-करोडौं लगानीमा बनाएको फिल्मलाई राम्रो शो नै दिँदैनन् । राम्रो शो दिए न नेपाली फिल्म पनि चल्छ,’ उनले अगाडि भने, ‘शो नै नदिएपछि दर्शक कहाँबाट नेपाली फिल्म हेर्न हल आउँछन् ? हामी जस्ता नयाँ मेकरले फिल्म बनाउनु त झन् दुर्भाग्य हो ।’

तपाईको प्रतिक्रिया