उमेर नपुगेकी किशोरी बलात्कारको आरोपमा पक्राउ परेका किक्रेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीले चौथो पटक म्याद थपको तयारी गरेको छ ।
नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा गत दशैंको टीकाको भोलिपल्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनबाट पक्राउ परेका उनलाई पुनः म्याद थपका निम्ति आज काठमाडौं जिल्ला अदालत लैजाने तयारी गरिएको हो ।
यसअघि कात्तिक २ गते अदालतले चार दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
पहिलोपटक सात दिन, दोस्रोपटक पाँच दिन र तेस्रो पटक चार दिन थपिएको म्याद आजबाट सकिँदैछ । त्यसैले प्रहरीले उनलाई आज अदालत उपस्थित गराउन लागेको हो ।
हाल लामिछानेलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । गत भदौ २१ गते एक नाबालिकाकी आफन्तले लामिछानेविरुद्ध प्रहरी वृत्त गौशालामा बलात्कारको उजुरी दर्ता गराएपछि उनी पक्राउ परेका हुन् ।