काठमाडौं, ७ कात्तिक

अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासनासिंह ठकुरी पहिलोपटक एउटै फिल्ममा देखिँदै छन् । दुवै अभिनित प्रेम कथानक फिल्म ‘डिसेम्बर फल्स’ ३० डिसेम्बर (१५ पुस) मा देशव्यापी प्रदर्शन हुने छ ।

निर्माता रामप्रसाद रिजालको पाँचौ फिल्म ‘डिसेम्बर फल्स’ को शुक्रबार दुई प्रकारका पोस्टरसँगै प्रदर्शन मिति खुलाइएको हो । सार्वजनिक एउटा पोस्टरमा अभिनेता आर्यन र अर्काेमा अभिनेत्री उपासना एकल रुपमा प्रस्तुत भएका छन् । आर्यन ‘एक्शन–रियाक्सन’ मा देखिएका छन् भने उपासना घाइते अबस्थामा तनावग्रस्त देखिन्छिन् । दुवै पोस्टरले अहिले चर्चा पाइरहेका छन् ।

अभिनेता आर्यन केही समयको अन्तरालपछि ‘डिसेम्बर फल्स’ मार्फत पर्दामा छाउँदैछन् भने उपासना पछिल्लो समयकी सफल अभिनेत्री हुन् । उनी अभिनित अहिलेसम्मका सबै फिल्म सुपरहिट भएका छन् । भारतीय फिल्म उद्योगमा कार्यरत ब्यस्त निर्देशक प्रवीण झाद्वारा निर्देशीत फिल्ममा आर्यन, उपासना, सुमन थापा रोहित, नरेश भट्टराईका साथमा सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायतका कलाकारको अभिनय छ ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको प्रस्तुतकर्ता रामप्रसाद र कार्यकारी निर्माता लक्ष्मण रिजाल छन् । रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता रहेको फिल्मलाई भारतीय छायाँकार महेश आर गुप्ताले खिचेका हुन् । बिपीका खनालको कथा, केदार भुसाल र प्रतीक पौडेलको पटकथा÷संवाद रहेको फिल्मको सम्पादन बनिष शाहले गरेका छन् । दीपक शर्मा, कोसिस क्षेत्री, सुुशान्त गौतम र प्रतीक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्का सुनिल मानन्धरले वितरण गर्दैछन् ।

तपाईको प्रतिक्रिया