धनगढी । दार्चुलामा सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको घटनामा भारतीय पक्षले क्षतिपूर्ति वापतको रकम दिएको छ। व्यास गाउँपालिका–२ का १२ वर्षीय पवन महराको मृत्यु भएको घटनामा भारतीय पक्षले क्षतिपूर्ति दिएको हो।

शनिबार धार्चुलास्थित एसडिएम कार्यालयमा नेपाली प्रशासन र दार्चुलाका जनप्रतिनिधि समेतको टोलिसंगको छलफलपछि तावाघाट–लिपुलेक सडक निर्माण गरिरहेको गर्ग एन्ड गर्ग कम्पनीले पीडित परिवारलाई क्षतिपूर्ति वापत नेपाली १६ लाख रुपैयाँ उपलब्ध गराएको हो।

पीडित पक्षसँग भएको सहमतीअनुसार गर्ग एन्ड गर्ग कम्पनीले १६ लाख (१० लाख भारु) उपलब्ध गराएको दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले जानकारी दिनुभयो ।

डीएसपी पाण्डेकाअनुसार उक्त कम्पनीले सडक निर्माणका क्रममा जिलेटिन विस्फोट गर्दा खसेको ढुङ्गा लागेर बालकको मृत्यु भएको थियो। यस्तै उहाँकी दिदी १४ वर्षीय सरिना महरा घाइते हुनुहुन्छ । उहाँको जिल्ला अस्पतालमा उपचार भैरहेको छ। अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ।

अगामी दिनमा जिलेटिन विस्फोट गराउदा दुवै पक्षले पूर्व जानकारी दिनुपर्ने सहमती पनि गरिएको छ। यो घटनामा भारतीय कम्पनीले क्षतिपूर्ति दिएपछि मृतकका आफन्त बालकको शव बुझ्न तयार भएका छन्। परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको शव प्रक्रिया पूरा गरेर परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया