विराटनगर । आउँदो मंसिर १६ गते विराटनगरमा मानवताका लागि सांगीतिक यात्रा ‘नेपथ्य लाइभ कन्सर्ट’ आयोजना हुने भएको छ ।
मानवसेवा आश्रमले एक दशकदेखि सडकपेटी एवं सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गर्दै आइरहेको छ । आश्रमले मानवीयताको अभियानलाई थप प्रभावकारी बनाउन नेपथ्य ब्याण्डसँगको सहकार्यमा विराटनगरको हाटखोला मैदानमा नेपथ्य लाइभ कन्सर्ट गर्न लागेको जनाएको छ ।
एक महिने लाइभ कन्सर्टको पहिलो कार्यक्रम विराटनगरबाट सुरु गर्न लागिएको आश्रमले जनाएको छ । त्यसपछि लगातार देशका अन्य ९ प्रमुख सहरहरूमा कन्सर्ट हुने छ ।
मानवता प्रवद्र्धनसँगै मानवसेवा आश्रम विराटनगर शाखाले विराटनगर महानगरपालिका–५, बरगाछीमा भवन निर्माण कार्य गरिरहेको छ । उक्त भवन निर्माण कार्यलाई सम्पन्न गर्न नेपथ्यसँग मिलेर आश्रमले सांगीतिक कार्यक्रम आयोजना गरेको मानवसेवा आश्रमका प्रदेश १ प्रमुख नवराज केसीले जानकारी दिए ।
‘नेपथ्य लाइभ कन्सर्टले धेरै मानिसहरूलाई आश्रमले गरिरहेको सेवाकाबारेमा जानकारी गराउने छ । त्यसबाहेक हाल भाडामा सञ्चालनमा रहेको आश्रमको स्थायित्वका लागि भवन निर्माण कार्यलाई सहयोग पुग्ने लक्ष्य लिएका छौँ ।’, केसीले भने ।
मानवसेवा आश्रमको सेवालाई अनुभूति गरी विराटनगर महानगरपालिका–५ मा रहेको डम्बर सत्सङ सद्गुरू कविर सेवा आश्रमले मानवसेवा आश्रमको भवन निर्माणका लागि १३.५ कठ्ठा जग्गा उपलब्ध गराएको छ । सोही जग्गामा २० करोड लागतमा मानवसेवा आश्रमको भवन निर्माण कार्य भइरहेको छ ।
महिला, पुरूष र बालबालिकाहरूकालागि छुट्टाछुट्टै भवन निर्माणको योजना रहेको र एउटा भवनको निर्माण प्रक्रिया शुरु भएको आश्रमले जनाएको छ । भवन निर्माणका लागि आश्रमले संस्थाका अभिभावक कलाकार मनोज गजुरेल, गायीका आनि छोइङ डोल्मा, पूर्व डिआइजी रमेश खरेललगायतको उपस्थितिमा मिट एण्ड ग्रिट कार्यक्रम गरी ३ करोडको प्रतिवद्धता भइ निर्माण कार्यको शिलान्यास भएको थियो ।
भवनमा लक्ष्मीनारायण र बालगोपालको आवाससहित भान्सा, भोजन, ध्यान, मनोरञ्जन, शौचालय, बालबगैँचालगायत निर्माण हुनेछ ।
आश्रमको भवन निर्माणसँगै व्यवस्थापकीय सेवामा जन्मदिन, विवाह वर्षगाँठ, पितृहरूको स्मृतिलगायतका पर्व एवं अन्य विशेष सेवाका लागि अक्षयकोष सञ्चालनार्थ जो कोहीले स्वेच्छिक योगदान गर्न सक्ने आश्रमले जनाएको छ ।
मानवसेवा आश्रमको कुनै एक सेवा केन्द्रमा वर्षको कुनै एक दिन नियमित हुने विहान वा दिउँसोको खाजा सेवाको आजिवन सदस्यता लिन ६१ हजार १११रुपैयाँ योगदान गर्न सकिने छ ।
त्यसैगरी एक लाख ११ हजार १११ योगदान गरी वर्षमा एक दिनको कुनै एक सेवा केन्द्रमा विहान वा बेलुकाको भोजनसेवा सौजन्य गरी आजिवन भोजनसेवा सदस्यता लिन सकिने छ ।
यस्तै दुई लाख ६१ हजार १११ योगदान गरी वर्षमा कुनै एक दिनको सेवा व्यवस्थापन सौजन्य गर्न सकिनेछ । यी योगदानहरू मानवसेवा आश्रमको अक्षयकोषमा जम्मा भई त्यसबाट प्राप्त हुने वार्षीक ब्याजबाट सेवा सञ्चालन गरिने छ ।
त्यसैगरी इच्छाइएको कुनै दिन वा समयमा आश्रमको खाजा सेवा सौजन्य गर्नका लागि आठ हजार, एक समयको भोजनसेवाका लागि १५ हजार र पुरै एक दिनको सेवा सौजन्य गर्नका लागि ३० हजार योगदान गर्न सकिने आश्रमले जनाएको छ ।
मानवसेवा आश्रमको उक्त शाखा १४ औँ जिल्ला शाखाको रूपमा २०७६ भदौ १३ गतेदेखि शुरु भएको थियो । हाल विराटनगरको उक्त शाखा अन्तरगत वडा नं. १० तिनटोलियाको अरनिको स्कुलसँगै र वडा नं. ३ पोखरियास्थित वन कार्यालयसँगै दुई सेवा केन्द्र रहेको छ ।
आश्रमले तिनटोलियामा महिला, बालबालिकाहरू र पोखरियामा पुरूषहरुलाई संरक्षण गर्दै आइएको छ । दुवै सेवा केन्द्रमा गरेर ४ बालक, ३ बालिका, ८५ पुरूष र ५६ महिला सहित १४८ जना आश्रित रहेका छन् ।
शाखा सञ्चालनमा आएदेखि ५५० सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार भएकोमा २३५ को पारिवारिक मिलन, ६९ को निधन र २५ जनाको सामुदायिक पुनस्र्थापना भएको आश्रमले जनाएको छ । कुल १२० जना परामर्श र उपचार पश्चात आफ्नो जीवन निर्वाह आफैँले गर्ने गरी घर फर्किएका छन् ।
यी शहरमा पनि हुँदैछ नेपथ्य लाइभ कन्सर्ट
नेपथ्य लाइभ कन्सर्ट विराटनगरमा मङ्सिर १६ गतेबाट शुरु भइ काठमाण्डौंमा पुस १६ गते समापन हुने छ ।
मंसिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुल चौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशालामा कार्यक्रम गरिने आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
यस्तै पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्र र अन्तिम कार्यक्रमको रूपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।
कार्यक्रमको टिकट मानवसेवा आश्रमको विराटनगर १० तिनटोलियामा रहेको सेवा केन्द्रबाट प्राप्त गर्न सकिने छ । यस्तै इसेवा वा अन्य वेबसाइटबाट समेत खरिद गर्न सकिने आश्रमले जनाएको छ । टिकटको मूल्य १,००० (एक हजार) रहेको आश्रमले जनाएको छ । टिकटका लागि प्रदेश १ का प्रमुख नवराज के.सी (९८५५०७६०१५÷१६) र केन्द्रीय अध्यक्ष रामजी अधिकारी (९८५५०७६००१) लाई सम्पर्क गर्न सकिने छ ।