काठमाडौं । २०७२ सालको हिट फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । नेपाली र भारतीय कम्पनीको संयुक्त लगानीमा बन्ने फिल्मको छायांकन यसै वर्षभित्र सुरु गर्ने तयारी छ ।

अभिनेता विनय श्रेष्ठले फिल्मको पटकथा लेखन भइरहेको जानकारी दिए । फिल्मको प्रमुख भूमिकामा अघिल्लो शृंखलाका प्रमुख कलाकार हुनेछन् । विनयसहित मेनुका प्रधान, कार्म, कामेश्वर चौरसिया, शिशिर बाङ्देल र साम्तेन भुटिया फिल्मका कलाकार हुन् ।

पहिलो भागलाई प्रणव जोशीले निर्देशन गरेका थिए । तर दोस्रो श्रृंखलामा जोशीको निरन्तरताबारे एकिन भइसकेको छैन । माधव वाग्लेको निर्माण रहेको फिल्म विनयको कम्पनी भी मोक्सन पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको हो ।

फिल्मको गीत ‘पिरतीको छाता ओढाउँला’ ब्लकबस्टर गीत थियो जसले टिकटक नभएको त्यो समयमा पनि दर्शकको मुखैमा झुण्डिएको थियो । उक्त गीत हिट भएपछि सिक्वेलमा पनि त्यस्तै हिट गीत खोज्ने दबाब निर्मातामाथि छ ।

फिल्म रिलिजको भोलिपल्ट आएको विनाशकारी भूकम्पले फिल्मको व्यापारलाई प्रभावित तुल्याए पनि ओपनिङ विस्फोटक थियो ।

विनयको वेब सिरिज ‘लभसूत्र’ रिलिजको तयारीमा

अभिनेता विनय श्रेष्ठ यतिबेला वेब सिरिज ‘लभसूत्र’को पोष्ट प्रोडक्सनमा व्यस्त छन् । नेपाली, बंगाली र हिन्दी भाषामा बनिरहेको यो सिरिजमा विनयसहित शिल्पा मास्के, सुरक्षा पन्त, रविन्द्र झा र सञ्जोग कोइरालाको अभिनय छ ।

निरोज महर्जनले निर्देशन गरेको यो वेब सिरिज विभिन्न भाषामा निर्माण हुन लागेको हो । यतिबेला मुम्बईमा यसको पोष्ट प्रोडक्सन भइरहेको विनयले बताए ।

तपाईको प्रतिक्रिया