सभ्य समाज निर्माणमा कलाकारको भूमिका महत्त्वपूर्ण हुन्छ । उनीहरुले पर्दामा वा निजी जीवनमा गर्ने हरेक खालका गतिविधि र क्रियाकलापलाई आम मानिसले पछ्याउने गर्छन् । यसैले कलाकारलाई समाजको मार्गनिर्देशक भनिन्छ । कलाकार भएपछि समाजप्रतिको जिम्मेवारी र उत्तरदायित्व भुल्नु हुँदैन । तर, अचेल कलाकारको भूमिका समाजप्रति करिब प्रायः देखिन छाडेको छ ।
पछिल्लो समय नयाँ पुस्ताका केही अपवाद कलाकारहरुको गतिविधिले समाज नै फड्किने स्थितिमा पुगेको गुनासो र टिप्पणी हुँदै आएको छ । स्वास्थ्यका लागि हानिकारक वास्तुको खुल्लम खुल्ला प्रचार-प्रसार गर्नु, राष्ट्रियतामा दख्खल पुग्ने खालको अभिव्यक्ति दिनु, एकअर्काप्रति सम्मानभाव नै नराख्नुलगायतका गतिविधिले कलाकारप्रति समाजले हेर्ने दृष्टिकोणमा नै परिवर्तन आएको छ ।
कलाकारहरु समाजप्रति गम्भीर हुन छाडेको एउटा उदाहरणको रुपमा अभिनेत्री सुष्मा कार्कीलाई लिन सकिन्छ । केही दिनअघि उनले टिकटक लाइभमा अश्लिल शब्द बोलेको भिडियो यतिबेला भाइरल छ । ‘ब्लाइन्ड डेट’की पूर्व विजेता सिलु पोखरेलसँग टिकटकमा लाइभ गेम खेल्ने क्रममा आफू हारेपछि सुष्माले अपशब्द बोलेकी हुन् । जसले गर्दा सुष्मा गालीको पात्र बनेकी छन् ।
हुन त सुष्माका लागि विवाद अति सामान्य कुरा हो । उनी आफैं चर्चा र विवादमा आउन विभिन्न हत्कण्डा अपनाउँछिन् । कहिले अभिनेत्री पूजा शर्मालाई धारेहात लगाउँदै युट्युबमा अन्तर्वार्ता दिन्छिन् त कहिले प्रेम सम्बन्धका कारण चर्चामा आउने गर्छिन् । तर, सामाजिक सञ्जालमै अश्लिल गाली गर्नु कलाकार भएपछि शोभा दिँदैन । यसले समाजमा पर्ने असरबारे सचेत र गम्भीर हुनुपर्छ ।
केही वर्षयता सुष्मा फुर्सदिलो छिन् । हातमा फिल्म छैन । यसैले आजकाल उनको दैनिकी टिकटक लाइभमै बसेर वित्ने गरेको छ । उनले आफ्नो सेलिब्रेटी फेस विकाएर टिकटक लाइभमार्फत् केही डलर पनि झार्ने गर्छिन् । टिकटक लाइभमा बस्नु वा नबस्नु, उनको इच्छा हो । तर, एउटा कलाकारको गल्तीले समग्र कलाकारमाथि दाग लाग्छ । यो कुरा उनले बेहोसीमा पनि भुल्नु हुँदैन ।