काठमाडौं । ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा गरिएको छ । नातिकाजी स्मृति समाजले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुरस्कृत हुनेको नाम सार्वजनिक गरेको छ ।

राष्ट्रपतिको हातबाट प्रदान गरिने यो सम्मान नेपाली मौलिक संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टालाई प्रदान गरिने जनाइएको छ ।

‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान २०७८’ गीतकार मनबहादुर मुखिया, रेकर्डिस्ट दीप तुलाधर, गायक प्रदीपराज पाण्डे, संगीत संयोजक फणिन्द्र राई, गायक बीके राना, कन्हैयासिंह परियार, गीतकार शुभ मुकारुङ र अमर बान्तुलाई प्रदान गरिने भएको छ ।

‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार गीतकार एकनारायण भण्डारी, संगीतकार कालीप्रसाद बाँसकोटा, गायक राज सिग्देल, गायिका माण्डवी त्रिपाठी दिइने भएको छ ।

‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’ गीतकार देवेन गिरी, संगीतकार दीपक शर्मा, गायक कृष्ण काफ्ले, गायिका अस्मिता अधिकारीलाई प्रदान गरिने भएको छ । ‘नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार’ संगीतकार चन्दनकुमार श्रेष्ठलाई दिइने भएको छ ।

‘नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा बाह्य पुरस्कार संगीत संयोजक रविन कार्की ढली र ‘नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार’ लोक गायिका देवी घर्तीलाई प्रदान गरिने भएको छ ।

‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ पत्रकार डम्बरबहादुर बुढाथोकी र कुबेरराज गिरीलाई प्रदान गरिने भएको छ । यो वर्षको ‘नातिकाजी राष्ट्रिय नवप्रतिभा पुरस्कार’ भने गायक आशिष सचिन गौतमलाई प्रदान गरिनेछ ।

सम्मान तथा पुरस्कारको राशी जनही ११ हजार १११ रुपैयाँ छ । संगीतकार शम्भुजीत बास्कोटाको अध्यक्षतामा समाजको हालै सम्पन्न बैठकले सम्मान तथा पुरस्कारको निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया