रेट्रो ग्रुपको ब्यानरमा निर्माण गर्न लागिएको चलचित्र ‘द आउट ल’ निर्माण घोषणा गरिएको छ । निर्माण टिमले अंगेजी नयाँ वर्षको छेको पारेर यो चलचित्र निर्माण गर्ने घोषणा गरेको हो । साथै, चलचित्रको थिम ट्रिजर र फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको छ ।

अभिनेता सुशील श्रेष्ठ, शिक्षा संर्गौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी, महेश त्रिपाठी, लगायतका कलाकारको मुख्य भूमिका रहने ‘द आउट ल’ पूर्ण एक्सन–थ्रिलर जनरामा निर्माण हुनेछ । विक्की महर्जनको निर्देशनमा निर्माण हुन लागेको यो चलचित्रले कानुन नमान्ने व्यक्तिको कथा बोल्नेछ ।

कोरोना महामारीपछि अभिनेता सुशीलको लागि यो कमब्याक प्रोजेक्ट बन्नेछ । सन् २०१५ मा होस्टेल रिटन्र्सबाट अभिनय करिअर सुरु गरेका सुशीलले सायद २, कारखाना र बादशाह जुटमा पनि अभिनय गरेका छन् । त्यस्तै पपुलर मोडल शिक्षालाई अहिलेसम्म कुनै पनि चलचित्रमा दर्शकले देख्न पाएका छैनन् ।

शशाङ्क खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने यस चलचित्रका कार्यकारी निर्माता विनोद कडायत हुन् । कडायत चलचित्र प्रेम गीत ३ का आर्ट डिरेक्टर समेत हुन् । संयोगको कुरा त के छ भने, यो चलचित्र निर्माण टिममा अधिकांश फिल्म पढेका र ३० वर्ष मुनिका युवाहरू छन् ।

निर्माता शशाङ्क खड्काले चलचित्रको छायाङ्कनका लागि सम्पूर्ण तयारी पुरा भएको बताए । उनले जनवरी जनवरी ५ बाट निर्माण टिम फ्लोरमा निस्कने जानकारी दिए । उनले भने, ‘चलचित्रको कथा असाध्यै दमदार छ । यूथ टार्गेट स्टोरी कथामा निर्माण हुने चलचित्र मेकिङ टिममा धेरैजसो पढेका र यूथ भएकाले चलचित्रको आउटपुट राम्रो निस्कने विश्वास छ ।’

नवीन गुरुङ चलचित्रका डिओपी हुन् । २ करोड हाराहारी बजेट खर्च हुने अनुमान गरिएको यो चलचित्र आगामी वर्षको दसैँमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ ।

तपाईको प्रतिक्रिया