काठमाडौँ । करिब दुई दशकअघि अमेरिकामा प्रकाशित फिल्म निर्देशन सम्बन्धी पुस्तक ‘‘डाइरेक्टिङ फिचर फिल्म्स’को नेपाली अनुवाद आउको छ । ‘महानगर’ फिल्म निर्देशक मोहन राई अनुदित पुस्तक एक कार्यक्रमकाबीच अभि सुवेदी, जोएल हिबोनेट, नविन सुब्बा, सुस्मा राईले संयुक्त रुपमा विमोचन गरे ।

कार्यक्रममा बोल्दै युरोपियन युनियनकी उपराजदूत हिबोनेटले फिल्म सञ्चारको सशक्त माध्यम भएको बताउँदै पुस्तक प्रकाशनले यो माध्यमको शक्तिलाई थप प्रभावशाली बनाउन मद्दत पुग्ने बताइन् । ‘युरोपियन युनियनले पनि फिल्मको माध्यमलाई महसुस गरी नेपालमा युरोपियन फिल्म फेस्टिभल गरिरहेको छ । यस्ता किताबको प्रकाशनले नेपाली फिल्मकर्मीलाई थप प्रतिस्पर्धी सिनेमा बनाउन मद्दत गर्छ भन्ने विश्वास छ,’ उनले भनिन् ।

यसैगरी पुस्तक प्रकाशक मिडलवे फिल्मस् कि प्रमोटर सुस्मा राईले मोहन राई आफ्नो भाइ भएको र उसले फिल्म निर्माणसँगै यसको प्राज्ञिक काममा योगदान गरिरहेको देख्दा असाध्यै खुसी लागेको बताएकी थिइन् ।

निर्देशक नविन सुब्बाले निर्देशनसम्बन्धी आफूले पढेका किताबमध्ये आफूलाई मन परेको किताब मोहन राईले अनुवाद गरेकोमा आफूलाई ईष्र्या लागेको बताए । सुब्बाले यो पुस्तक पढ्दा अहिले बनिरहेभन्दा उत्कृष्ट नेपाली फिल्म बनाउन सकिने धारणा राखे ।

‘हामी आर्ट सेक्टरमा काम गर्ने मान्छे पढ्ने कुरामा रुची राख्दैनौँ । जन्मजात प्रतिभा लिएर आएका छौँ । मैले किन अरुको कुरा पढ्ने, सिक्ने भन्ने सोच छ । तर विश्वमा धेरै राम्रा राम्रा काम भइरहेका छन् । यो पुस्तक त्यस्ता धेरै राम्रा कामहरूको संश्लेषण हा ’ उनले भने, ‘जानेको कुरालाई झन् तिखार्नुपर्छ । यसरी तिखार्ने काम यस्तै पुस्तकले गर्छन् ।’

मोहन राईले दिग्गज फिल्मकर्मीसँगको अन्तर्वार्तामा आधारित ‘जक्स्टापोजिसन’ प्रकाशन गरेका छन् । धेरै वर्षपहिले सार्वजनिक यो पुस्तक सार्वजनिकीकरणमा पनि वक्ता रहेका लेखक अभि सुवेदीले मोहन राई आफ्नो प्रिय शिष्यमध्ये एक रहेको बताउँदै मोहनको सक्रियता लोभ लाग्दो रहेको बताए ।

‘यो किताब फिचर फिल्म निर्देशनमा केन्द्रित भए पनि मलाई यो किताबमा मन परेको कुरा के हो भने यसले सहकार्यको कुरामा जोड दिएको छ । जस्तो कि अहिले थिएटर र सिनेमामा यस्तो अभ्यास देख्न सकिन्छ,’ उनले भने, ‘थिएटरका मान्छे फिल्ममा गइरहेका छन् र फिल्मका मान्छे थिएटर गर्न इच्छुक छन् ।’

अनुवादक मोहन राईले आफूले सात–आठ वर्ष अगाडिदेखि यो पुस्तकमा काम गरिरहेको बताएका उनले पुस्तक आउन बिबिध कारणले ढिलो भएको बताए । ‘म त निःशुल्क पनि यस्ता काम गर्न तयार छु । तर एक जनाले मात्र गरेर यो सम्भव हुन्छ जस्तो लाग्दैन । मैले मेरो अघिल्लो पुस्तक पनि प्रकाशनका लागि चलचित्र विकास बोर्ड धाएँ । तर ठोस उपलब्धि नभएपछि आफैँ प्रकाशन गर्न कस्सिएको हुँ,’ उनको भने ।

तपाईको प्रतिक्रिया