विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योगी व्यवसायीलाई आत्महत्या जस्तो कायरतापूर्ण काम नगर्न आग्रह गरेका छन् ।

नेपाल उद्योग परिसंघ प्रदेश १ ले आयोजना गरेको सीएनआई कोसी एक्स्पो २०२३ को उद्घाटन गर्दै उनले हरेक मानिसको जीवनमा संकट आउने भएकाले त्यसको डटेर समाधान गर्नुपर्ने बताए ।

ओलीले उद्योगी व्यवसायीहरुको प्रतिकूल अवस्था छ भन्दैमा आत्महत्याको बाटो रोज्नु नहुने बताए । आफू जीवनमा ठूलो कष्ट सहेर यहाँसम्म आइपुगेको बताउँदै उनले भने, ‘म पनि डेढ महिनासम्म चिसो भुइँमा सुतेर बसेको मान्छे हो । मलाई कुनै ओढ्ने ओछ्याउने केही दिदैनथे । खाली पुलिसले बुटले हान्थ्यो । त्यस्तो अवस्थामा पनि मैले आत्महत्याको बाटो रोजिन ।’

१४ वर्ष जेलनेल भागे पनि देशका लागि केही गर्छु भन्ने अठोटले आत्महत्याको बाटो नरोजि परिस्थितिको सामना गरेको उनले बताए ।

‘व्यवसाय गर्ने मान्छेहरू कहिले लडिन्छ, कहिले ढलिन्छ, कहिले घाटा-नाफा हुन्छ,’ ओलीले भने, ‘तर आत्तिएर मात्र केही हुँदैन, धैर्य गर्नुपर्छ ।’

पछिल्लो समय उद्योगी व्यवसायीले नै आत्महत्याको बाटो रोज्नुपर्छ भनेजस्तो तरिकाले चर्चा गर्न थालेको बताउँदै ओलीले भने, ‘ यस्ता खाले सन्देशले मानिसहरूमा गलत खालको उत्प्रेरणा जानसक्छ । तपाईंहरुले नै कमसेकम यस्तो चर्चा नगरिदिनुहोस् । प्रतिकूल अवस्थामा संघर्ष गर्न सिक्नुपर्छ ।’

परमादेशी सरकारले १८ महिनासम्म अर्थतन्त्र ध्वस्त पारेको उनले आरोप लगाएका छन् । अहिलेको सरकारले अर्थतन्त्रलाई सही बाटोमा डोर्‍याउने र व्यवसायीमा उर्जा थप्ने ओलीको भनाई छ ।

विराटनगर उद्योगको शहरका रुपमा चिनिए पनि पछिल्लो समय उद्योगहरुको विकास हुन नसक्नु दुखद भएको उनले बताए ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनाका विषयमा गलत टिप्पणी सुरु भएको भन्दै प्रदेशका राम्रा कामहरूको प्रचार गर्न आग्रह गरेका छन् । उनले प्रदेश सरकार उद्योगीहरुसँग मिलेर काम गर्न तयार रहेको बताए ।

यस्तै संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगी व्यवसायीका सबै समस्याहरु क्रमैसँग समाधान गरिने र त्यसका लागि सरकार अग्रसर रहेको बताए ।

उद्घाटन समारोहमा परिसंघका प्रदेश अध्यक्ष भीम घिमिरेले समग्र उद्योगी व्यवसायीका समस्या राखेका थिए ।

तपाईको प्रतिक्रिया