काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा युएईको दुबईमा हुन लागेको ‘नेपाल सिनेमा फेस्ट’मा सहभागि हुन दुई दर्जनभन्दा बढी फिल्मकर्मी शनिबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।

अध्यक्ष भुवन केसीसहित कलाकारहरु अनमोल केसी, उपासनासिंह ठकुरी, ऋचा शर्मा, शिव श्रेष्ठ, राज कटुवाल, प्रशान्त ताम्राकार, ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ, अर्जुन कुमार लगायत बोर्डका पदाधिकारी त्यसतर्फ प्रस्थान गर्दैछन् ।

संचार तथा सूचना प्रविधि मन्त्रालयको वार्षिक कार्यक्रम अनुसार हुन लागेको चार दिने महोत्सव आइतबारदेखि बुधबारसम्म दुबईमा हुनेछ । कार्यक्रमको व्यवस्थापन सूर्य कर्पोरेसनले गरेको छ ।

चारदिने फेस्टिभलमा ‘कबड्डी ४’ र ‘ऐना झ्यालको पुतली’जस्ता चर्चित फिल्मको प्रदर्शन, मेकरसँग अन्तरक्रिया, दुबईमा रहेका छायांकन गन्तव्य र स्टुडियोको भ्रमण, बजार विस्तारबारे स्थानीय व्यवसायी र गैरआवासीय नेपालीसँग छलफल लगायतका कार्यक्रम तय छन् ।

नेपाली फिल्मको अन्तर्राष्ट्रियकरतर्फ दुबई फेस्टिभल कोशेढुंगा हुने बोर्ड अध्यक्ष केसीले बताए । दुबईतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै बोर्डले कार्यक्रमबारे जानकारी दिएको छ ।

‘हामी मध्यपूर्वलाई नेपाली फिल्मको आकर्षक बजारको रुपमा स्थापित गर्न चाहन्छौं’ अध्यक्ष केसीले भने, ‘फेस्टिभल त्यसको लागि महत्वपूर्ण माध्यम बन्न सक्छ ।’ बोर्डले पहिलोपटक विदेशमा यसरी फेस्टिभल गर्न लागेको हो ।

 

तपाईको प्रतिक्रिया