बिहीबार अभिनेता प्रदीप खड्काले इन्स्टाग्राममा सेतो धोतीमा गम्छा भिरेर भारतको महाराष्ट्रस्थित नासिक त्रयम्बकेश्वर मन्दिरमा पूजापाठ गरेको एक भिडियो शेयर गरेका थिए । त्यसलगत्तै उनले इन्स्टाग्राममा आफ्नो नयाँ फिल्म ‘कामिनो’को थिम पोस्टर शेयर गर्दै आफूले काम गर्न लागेको औपचारिक जानकारी गराए । धेरैलाई लाग्यो, प्रदीपले यो फिल्मका लागि नै पूजापाठ गरेका हुन् ।

तर, खासमा उनले आफ्नो अर्को नयाँ फिल्म ‘एक्स ९’को सफल निर्माण र प्रदर्शनका लागि पूजापाठ गरेको जानकारी प्राप्त भएको छ । फिल्मीखबरलाई प्राप्त एक तस्विरमा उनलाई निर्देशक मुकुन्द भट्टसँग एकसाथ अग्निपूजा गरिरहेको देख्न सकिन्छ । मुकुन्दले पनि प्रदीपले झैं सेतो धोतीमा गम्छा भिरेका छन् । करिब दुई साताअघि उनीहरु यही फिल्मको शिलशिलामा भारत उडेका थिए ।

अभिनेता अनमोल केसीले निर्माण ढिलाई भएको भन्दै ‘एक्स ९’बाट हात झिकेपछि निर्देशक भट्टले प्रदीपलाई फिल्म अफर गरेका हुन् । प्रदीपले फिल्ममा काम गर्ने सम्झौता गरिसकेको निकट स्रोतको दाबी छ । आगामी फागुन तेस्रो साता फिल्मको औपचारिक रुपमा घोषणा गरिँदैछ । त्यसअघि फिल्मका लागि केही भारतीय कलाकारसँग सम्झौता गर्न मुकुन्द र प्रदीप मुम्बई गएका हुन् ।

उनीहरुले फिल्ममा बलिउड अभिनेता सुनिल शेट्टीलाई लिने प्रयास गरिरहेका छन् । उनको सेड्युल नमिलेको अवस्थामा बलिउड अभिनेता सोहिल खानलाई लिने प्रयासमा उनीहरु छन् । फिल्ममा सौगात मल्ल, पुष्प खड्का, नीति शाह, सुदर्शन थापालगायतको पनि अभिनय रहनेछ । एक्सन जनरामा निर्माण हुन लागेको ‘एक्स ९’लाई सिरिजको रुपमा अगाडि बढाउने योजनामा मुकुन्द छन् ।

तपाईको प्रतिक्रिया