दर्शकको एउटा वर्गले चिनेका कलाकार हुन्, पुष्प खड्का र वर्षा सिवाकोटी । उनीहरुलाई विश्वास गरेर हलसम्म पुग्ने दर्शक छन् । भलै, त्यसको संख्या ठूलो नहोला । तर, के उनीहरुले दर्शकप्रति जिम्मेवार भएर फिल्म छनोट गरिरहेका छन् ? दर्शकको विश्वास कायम राख्नका लागि सचेत छन् ? शुक्रबारबाट प्रदर्शन यात्रा थालनी गरेको फिल्म ‘मनसँग मन’ हेर्दा कमसेकम त्यो चाहिँ देखिन्न ।

यो फिल्ममा उनीहरु मुख्य भूमिकामा छन् भन्नु नै गलत हुन्छ । निर्देशकलाई चाहिने बेला मात्र उनीहरु झुल्किन्छन् । मध्यान्तरअघि त उनीहरु सहायक पात्र जस्ता छन्, मुश्किलले ४/५ वटा सिन छ । उनीहरुबीच प्रेमको अंकुरण भएको महसूस गर्नै नपाई गहिरो प्रेममा डुबेर डाँडाकाँडामा नाच्न भ्याइसकेका हुन्छन् । मध्यान्तरपछि पनि यी दुईलाई पर्दामा हेर्नका लागि एक निन्द्रा पूरा गर्नुपर्छ ।

पुष्प र वर्षाको अभिनय स्वभाविक लाग्दैन । हुन त अभिनय महसूस गर्ने खालका दृश्य पनि छैनन् । चरित्र स्थापित नहुँदा फिल्ममा उनीहरुको उपस्थितिको कुनै अर्थ देखिन्न । उनीहरु नहुँदा पनि फिल्मलाई फरक पर्दैन थियो । यो हुनु भनेको कमजोर पटकथा र प्रस्तुतीकरणको नजिता हो । फिल्ममा अनावश्यक पात्रको त ठूलो जत्था छ । तर, कसैको अभिनय र भूमिका स्वभाविक लाग्दैन ।

निन्द्रा लाग्ने दृश्य त फिल्मको विशेषता हो । मध्यान्तर अघि होस् वा पछि, लम्बेतान दृश्य भलिभाती छ । पसले बाको अनावश्यक उपस्थिति, मुख्य खलपात्रलाई दिइएको महत्त्व, बुद्धि तामाङलाई अस्पताल लैजाँदा र अस्पतालभित्रका दृश्य हदैसम्म पट्यारलाग्दा छन् । क्याइमेक्स झन् नाटकीय छ । द्वन्द्वका दृश्य हाँसोलाग्दो छन् । छायांकन, सम्पादन, ब्याकग्राउन्ड स्कोर उस्तै कमजोर छ ।

फिल्ममा तीनवटा गीत छन् तर कुनैले कथावाचनमा भूमिका खेलेका छैनन् । निर्देशकले जहाँ इच्छा लाग्यो यही गीत जोडेका छन् । यद्यपि, गीतको अडियो र कोरियोग्राफी पक्ष राम्रो छ । फिल्मको माध्यमबाट सिक्किम र नेपालको सम्बन्धलाई जोड्न खोजिएको छ । तर, कमजोर कथा लेखनका कारण फिल्म उद्देश्यमा पुग्न सकेको छैन । फिल्मले भन्न खोजेको कथा के हो भन्ने समेत स्पष्ट छैन ।

कमजोर कथा र पटकथाको जगमा बनेको ‘मनसँग मन’ले दर्शकसँग मन गाँस्नै सक्दैन । बरु, नेपाली फिल्मप्रति नै मन भड्काउन सक्छ । पुष्प र वर्षाको यो विर्सनलायक फिल्म हो । दुवैले यो फिल्म आर्थिक लाभका लागि मात्र काम गरेको देखिन्छ । उनीहरुको न पर्याप्त ‘स्क्रिन स्पेश’ छ न चरित्र निर्माण बलियो छ । दुवैका लागि यो फिल्मबाट संख्या थप्नेभन्दा बाहेक अरु उपलिब्ध नै छैन ।

तपाईको प्रतिक्रिया