– कृष्ण उदाशी

हरेक मानिसको आफ्नै कथा हुन्छ । सबैसँग सुख र दुःखले जेलिएका परिस्थितिहरू हुन्छन् । प्रत्येक मानिससँग अरुलाई भावुक बनाउनसक्ने भोगाइहरू हुन्छन् । झट्ट देख्दा मानिस सामान्य हिँडिरेको देखिन्छ तर ऊभित्र विशाल सप्तकोशी उर्लिरहेको पनि हुनसक्छ । हामीले यो सामग्रीमा प्रस्तुत गर्न लागेका गगन योक्पाङ्देनको जीवन कथा पनि कुनै चलचित्रको कथा भन्दा कम छैन । यति बेला उनी नेपालमा कविताकै शक्तिका कारण परिचित छन् तर उनले छोटै समयमा पार गरेका अप्ठ्यारा समयहरूको तालिका निक्कै लामो छ । जन्मिएका प्राय धेरै सन्तान नबाँचेपछि बसाइँ सरेका आमा बुबाबाट जन्मिएका कान्छो सन्तान । उनी जन्मिएपछि बुबाले अर्की लिएर हिँड्नु । आमाले सारै दुःखले हुर्काउनु । बुबाले पटकपटक आमाका विरुद्धमा मुद्धा लगाएर दिनुसम्मको दुःख दिनु । बुबाको माया नपाउनु । मुद्धाहरूकै कारण घरको अवस्था एकदमै कमजोर हुनु । अभावकै बिचमा हुर्किँदै जानु । उमेर पुगेपछि पनि हरेक हण्डर खानु, हातको औँला नै छिनाउनु । यी सबै गगन योक्पाङ्देनले छिचोलेका अप्ठ्यारा दिनहरूका चरणवद्ध घटनाहरू हुन् । हामी यो सामग्रीमा उनै गगन योक्पाङ्देनको जीवन कथा प्रस्तुत गर्दै छौँ ।

गगन योक्पाङ्देन वि.सं. २०४८ साल माघ २१ जन्मिएका हुन् । उनको जन्म मोरङ जिल्लाको साबिक मधुमल्ला गा.वि.स वडा नं. ४, कालिदह भन्ने ठाउँमा भएको हो । हाल राज्य पुनः संरचना पश्चात् उक्त ठाउँ मिक्लाजुङ गाउँपालिका वडा नं. ४ भएको छ । उनका बुबाआमाको नाम चन्द्रबहादुर लिम्बू र कान्छीमाया लिम्बू हो । उनकी आमा अझै पनि भन्छिन् ‘म त १२ जना छोरा छोरीकी आमा पो त, तर सबै बाँचेनन् ।’ गगन योक्पाङ्देकका ४ जना दिदीहरू कुमारी, हस्तकला, पवित्रमाया र खिनामाया लिम्बू छन् । उनकी आमा पट्टीका कान्छो सन्तान हुन् गगन । यो प्रसंगको पनि आफ्नै कथा छ ।

पहिला उनीहरूको घर टाँडीको धोबेनी धन्ने ठाउँमा थियो । त्यहाँ बस्ता जन्मिएका नानीहरू प्राय नबाँचेपछि गगन भन्दा पहिला जन्मिएको नानीको सतगत गर्न भेला भएका मलामीहरूले नै धोबेनीको घर भत्काएर त्यहाँको सबै खाँबा बला बोकेर तल कालीदहमा सारिदिएका रहेछन् । त्यसपछि जन्मिएका रहेछन् गगन । तर उनी जन्मिएको केही समयपछि भने उनका बुबाले मन बिगारे । घरको हालत असहज भएकै बेला उनी अर्की बिहे गरेर हिँडे । कता गए पत्तै भएन । गगनलाई आफू सानो छँदा बुबाको हात समाएर हिँड्ने सौभाग्य नै जुरेन । उनले बुबालाई निक्कै ठूलो भएपछि चिने तर बहुत नराम्रो गरी चिने । भयो के भने, कालिदहमा घर ऐलानी जग्गामा थियो । घरमुली नभएकाले घर निक्कै बिस्याहार भएको थियो । खाँबाखुट्टी फेर्नुपर्ने भएको थियो । त्यसका लागि उनकी आमाले त्यही ऐलानी जग्गामा रहेको घर छेउकै कदमको रुख काट्न लगाएकी थिइन् । उनका बुबा राडीको ब्यापार गर्दै हिँड्दा रहेछन् । उनलाई कान्छी श्रीमती लिएर घर आउन नपाएको झोक थियो, जेठी श्रीमतीप्रति । सायद उनले कान्छी श्रीमती लिएर घर आउन खोजेका थिए र यही कुराले गगनकी आमा रिसाइन् । कुरा बुझ्ने भइसकेका गगनकी दिदीहरूले पनि आमालाई नै साथ दिए । गगनका बुबा जेठी श्रीमती र छोरीहरूसँग खुब बाझे । त्यसपछि फन्केर खेतैखेत उकालो लागेका थिए, गएर वन कार्यालयमा आफ्नै श्रीमती र छोराछोरीका विरुद्ध अनाधिकृत रुपमा वन फाँडेको भनेर उजुरी दिएछन् । त्यो मुद्धाले गगनकी आमालाई यति धेरै सतायो कि, गगन भन्छन् ‘वन मुद्धा त ज्यान मुद्धाभन्दा गाह्रो हुँदोरहेछ ।’ बल्ल तल्ल त्यो मुद्धा सल्टिएको थियो, उनका बुबाले फेरि ‘आफ्नै घर जान श्रीमतीले नदिएको’ भनेर थानामा अर्को मुद्धा हालेछन्, गगनकी आमाका विरुद्धमा । ती मुद्धाहरूका कारण घरको सम्पती, आम्दानी त सकियो सकियो, उनकी आमालाई माइतीले दिएका सुनचाँदीका गरहगना पनि सबै सकिए । त्यसै पनि एक काँधे भइसकेको परिवार, झन् थला पर्यो । गगनका लागि भने बुबा भने पनि आमा भने पनि उनी आमा नै हुन् ।

गगन सानु छँदा एकदमै अन्तरमुखी स्वभावका थिए । कसैसँग पनि नबोल्ने । उनलाई बाल्यकालको स्वभाव कस्तो थियो भनेर सोध्दा उनी हाँस्दै भन्छन् ‘म त एकदमै मूर्ख थिएँ ।’ उनी औसतमा अलि ठूलो भएर मात्रै विद्यालयमा जान थालेका थिए । त्यसो हुनुको एउटा कारण त हामीले माथि नै उल्लेख गरिहाल्यौँ । त्यसमाथि नजिकै विद्यालय नै थिएनन् । त्यहाँबाट टाँडीको कालिका विद्यालयमा पुग्न साना केटाकेटीका लागि निक्कै गाह्रो थियो । यता मधुमल्ला बजारमा रहेका विद्यालयमा आउन झन गाह्रो थियो । त्यसो हुँदा उनी अलि ठूलो भएपछि कालीका माध्यमिक विद्यालय जान थाले । तर उनी विद्यालय जान थालेकै साल उनको घरछेउमै कालिदह प्राविको स्थापना भयो । त्यसपछि उनी त्यही विद्यालयमा भर्ना भए । कक्षा ४ देखि भने उनी फेरि कालिका मा.वि. नै गए । उक्त स्कुलमा उनले कक्षा १२ सम्म पढे ।

विद्यालय जान थाललेको बेला उनको स्वभाव झन अचम्मको थियो । विद्यालय पुगेर कक्षामा पसिसकेपछि उनी दिसा पिसाप लागे पनि छुट्टी नभइन्जेल बाहिर निस्कँदैन थिए । कक्षामा प्राय कोहीसँग बोल्दैन थिए । आफैँले कसलाई चलाउँदैन थिए । कसैले उनलाई चलायो, जिस्कायो भने लाप्पा खेलिहाल्थे । त्यसो हुँदा उनीसँग उनीभन्दा ठूला ठूला विद्यार्थी पनि डराउँथे । अलि ठूलो भएपछि उनी कक्षामै भाले जुदाइ खेल्न थाले । त्यो पनि आफूभन्दा ठूलासँग मात्रै खेल्थे ।

गगनका बुबा घरमासँगै थिएनन्, आमाले पढेकी थिइनन् । दिदीहरू पनि कहिल्यै विद्यालय गएनन् । परिवारकै विद्यालय जाने पहिलो व्यक्ति उनी, उनलाई घरमा सिकाउने कोही थिएनन् । उनले उल्टो ‘च’ लेखेर आमालाई देखाउँदा ‘मेरो छोराले पढ्न लेख्न जान्यो’ भनेर आमा खुसी हुन्थिन् । खासमा पढ्न र लेख्न न आमा जान्दथिन्, न त गगन नै जान्दथे । उनले यसरी नै अक्षर चिने । कक्षा ७ सम्म पुग्दा उनी विद्यालयका विभिन्न क्रियाकलापमा सहभागी हुन थालिसकेका थिए । विशेष गरेर उनी वादविवाद प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, कविता, निबन्ध लेखन प्रतियोगिता आदिमा सहभागी हुन थालेका थिए । उनीसँग प्रतिभा एकदमै राम्रो थियो । प्रतियोगितामा सहभागी भइसकेपछि प्रथम नै नभएपनि कुनै न कुनै पुरस्कार त लिएर नै फर्किन्थे ।

गगन योक्पाङ्देन साहित्य क्षेत्रमा तानिनुको पनि आफ्नै कथा छ । पत्रकार सेन्छेलुङ पतङ्वा र उनको घर नजिकै हो । चार÷पाँच कक्षा पढ्दाताका गाउँका साथीभाइसँग लुकीडुम लेख्ने क्रममा उनी सेन्छेलुङको घरमा पुगेछन् । त्यहाँ सेन्छेलुङले पढिसकेका थुप्रै किताबहरू बोरामा हालेर राखिएका रहेछन् । बोराभित्र गरीमा, मधुपर्क लगायतका अरु थुप्रै साहित्यका पठनीय सामग्री थिए । गगनले ती पढ्न थाले । उनलाई ती सामग्री पढ्नमा रस भिज्यो । उनी भन्छन् ‘सेन्छेलुङ दाईलाई यो कुरा मैले कहिल्यै भनेको छैन, तर उहाँकै पठन संस्कृतिले मलाई प्रभावित पारेको हो ।’ त्यो बेलासम्ममा गगनको रुची गायन क्षेत्रमा पनि बढेको थियो । ८÷९ कक्षा पढ्दाताका शोभा नामक संस्थाले इलाका स्तरीय गायन प्रतियोगिता कार्यक्रम संचालन गरेको थियो । त्यसमा आफैँ, गीत लेख्नुपर्ने, लय बनाउनुपर्ने र गाउनुपर्ने थियो । उक्त प्रतियोगितामा गगनले थुप्रै चरणहरू पार गर्दै दोस्रो स्थान हासिल गरेका थिए । त्यसपछि उनी गायन क्षेत्रमा झन धेरै आकर्षित भएका थिए ।

गगन लिम्बूको न्वारानको नाम भने गगन नभएर गुमानसिंह लिम्बू हो । कक्षा ८ पढ्दासम्म उनको नाम गुमानसिंह नै थियो । उनलाई भने आफ्नै नामसँग लाज लाग्थ्यो । अलिक फरक खालको नाम बनाउन चान्थे तर नयाँ नाम सुझिरहेको थिएन । कक्षा ८ मा जिल्ला स्तरीय परीक्षाको फारम भर्ने बेलामा उनले नाम फेर्ने निधो गरे । गाउँकै एकजना दिदीले नाम चै ‘ग’ बाटै जुराउनुपर्छ भनेर गगन राखिदिइन् । उनी ८÷९ कक्षा पढ्दा विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी हुन थालिसकेकाले गगन नामबाट परिचित हुन कति पनि समय लागेन । उनी गुमानसिंहबाट हराएर गगन भए ।

कालिका मा.वि. बाटै कक्षा १२ पास गरेपछि गगन स्नातक पढ्न उर्लाबारी बहुमुखी क्याम्पस, उर्लाबारी झरे । त्यतिबेलासम्ममा उनी आफ्नो बाटो संगीत नभएर साहित्य हो भन्ने निर्णयमा पुगिसकेका थिए । बिस्तारै उर्लाबारी गजल मञ्चसँग जोडिए । त्यो बेला उर्लाबारी गजल मञ्चको साहित्यिक माहोल एकदमै राम्रो थियो । त्यहाँबाट गगनले फैलिने मौका पाए । बिस्तारै नेपाली साहित्य समाज उर्लाबारीमा आवद्ध भए । त्यतिबेलासम्ममा उनी विभिन्न प्रतियोगितामा सहभागी हुन थालिसकेका थिए । त्यहीबेला दमक जेसिजले आयोजना गरेको कविता प्रतियोगितामा प्रथम भएका गगन योक्पाङ्देनले आफूले पाएको पुरस्कारको राशी रकम जस्ताको तस्तै लगेर छापाखानामा बुझाएर टाँडी कुञ्ज परिवारको प्रस्तुतिको रुपमा ‘जरुवा’ नामक साहित्यिक पत्रिका प्रकाशन गर्न थाले । त्यसको सम्पादक उनी आफैँ थिए । आर्थिक असुविधाका कारण उनले त्यो पत्रिका धेरै अङ्क निकाल्न भने सकेनन् । पत्रिका छोडेपछि उनले टाँडीकुञ्जको प्रस्तुतिमा विशेष र वौद्धिक कार्यक्रमको आयोजना संचालन गरे । उनले संचालन गरेका वौद्धिक र उल्लेखनीय कार्यक्रमहरूमा ‘कवि हिरा आकाश र उनका सिर्जना’ कार्यक्रम र ‘दान खालिङ परिचर्चा’ कार्यक्रम विशेष र चर्चित भए । संस्थागत हिसाबले उनी अहिले नेपाली साहित्य समाज उर्लाबारीका उपाध्यक्ष र मिक्लाजुङ साहित्य समाजको अध्यक्ष हुन् ।

गगन योक्पाङ्देनले स्नातक पढ्दैगर्दा भूमिका लिम्बूसँग विवाह गरे । विवाहपछि भने उनी पारिवारिक बन्धनमा बाँधिए । स्नातक अन्तिम वर्षको परीक्षा दिन पाएनन् । आर्थिक अवस्था निक्कै जटिल भएपछि विदेश जान कोसिस गरे, स्वास्थ्य परीक्षणमा फेल भए । घर सल्लाह गरेर ट्याक्टर किनेर त्यसै मार्फत जीवन चलाउने निधोमा पुगे । ट्याक्टर निकाल्न पनि आफूसँग नगद रुपैयाँ थिएन । ऋण लिनलाई बन्दकी राख्ने नम्बरी जग्गा थिएन । अर्काको जग्गा बन्दकी राखेर ट्याक्टर निकाले र त्यसैमा काम गर्न थाले । सोझो मान्छेलाई ट्याक्टर चलाउन पनि सजिलो थिएन । जसो तसो चल्दै थियो । ट्याक्टर किनेको तेस्रो वर्षमा जग्गा धनीले जग्गा बेच्ने भए । त्यसो गर्दा धनिपूर्जा उकासिदिनुपर्ने भयो । उनले सस्तैमा ट्याक्टर बेचिदिए र धनीपूर्जा त उकासे तर ऋण चुक्ता भएन । आर्थिक दबाव झन बढ्यो । फेरि विदेश जान खोजे, स्वास्थ्य परीक्षणमा उही समस्या । नेपालमा केही काम पाइरहेका थिएनन् । के काम गर्ने पनि उनलाई थाहा थिएन । जानेको काम लेख्नेपढ्ने थियो । त्यस्ता काम नेपालमा कहाँ पाउनु । बल्लतल्त दिदी र दिदीका छिमेकीको सहयोगमा एउटा छुर्पी प्याकेजिङ गरेर विदेश पठाउने उद्योगमा काम पाए ।

सुरुमै उनलाई उक्त काम आफ्ना लागि होइन भन्ने लागि सकेको थियो । दिमागले खतरा महसुस गरिरहेको थियो । तर बल्ल पाएको काम किन नगर्नु भन्ने भयो । काम गर्ने निधोमा पुगे । पहिलो दिन राम्रै काम भयो । काम पाइएकोमा परिवारका सबैजना खुसी पनि थिए । तर दोस्रो दिन राम्रो भएन । छुर्पी काट्ने मेसिनले हात काट्यो । काट्यो पनि कसरी भने, उनको दाहिने हातको बूढी औला नङ पलाउने ठाउँमै चर्लप्पै छिनायो । त्यो निक्कै पीडादायी समय थियो । उनी भन्छन् ‘मलाई हात काटेर जति दुखेको थियो, त्यो भन्दा धेरै चै अब मेरो हातले लेख्न मिल्दैनकी भनेर आत्तिएको थिएँ ।’

ठीक त्यो बेला फलैँचा इन्टरटेनमेन्ट संचालनमा आउँदै थियो । गगनले आफ्नो हात काटिएको केही बेरमै फलैँचा इन्टरटेन्मेन्टका संचालक कृष्ण उदाशीलाई फोन गरे । त्यहाँ सबै कुरा भइसकेपछि कृष्ण उदाशीले गगनलाई हात निको भएपछि अफिसमा आउनु र स्कृप्ट लेख्ने काम गर्नु भनेर सल्लाह दिए । तर गगनलाई हात काटिइएको बारेमा आमालाई सुनाउने हिम्मत भएन । त्यसैले उनी भोलिपल्टैदेखि फलैँचा जान थाले । त्यहाँ उनले झण्डै १८ महिना काम गरे । राम्रै चलिरहेको थियो । सबै ठिकै थियो । त्यही बेला कोरोनाको कारण लकडाउन भयो । लकडाउन पछि उनले काम गर्दै गरेको ठाउँ पनि आर्थिक दबाबमा पर्यो । उनी फेरि बेरोजगार भए ।

केही काम नभएपछि उनले घर बनाउने मिस्त्रीको सहयोगीका रुपमा काम गर्ने निधो गरे । तर पढेलेखेका मान्छेलाई ठेकेदारहरूले तत्कालै त्यस्तो काममा राख्दा रहेनछन् । उनी भन्छन् ‘बल्ल तल्ल एउटा ठेकेदारले काम त दिए, तर हामीले जति नै काम सानो हुँदैन भनेर आदर्शका कुरा गरे पनि हामीलाई हिनतावोध हुँदोरहेछ । सँगै पढेका साथीहरूले देखेर के भन्लान भन्ने लाग्दोरहेछ ।’ त्यस्तो काम पनि निरन्तर नपाइने ।

केही सिप चलेन गगनले फेरि विदेश जाने निधो गरे । फेरि पनि स्वास्थ्य परीक्षणमै फेल । त्यसपछि उनकी श्रीमती भूमिकाले विदेश जाने मन गरिन् । कलिला फूलका कोपिला जस्ता नानीहरूलाई छाडेर नजाऊ त भने उनले तर, भूमिका विदेश गइन् ।

यसरी परिस्थितिले खेदाउँदै खेदाउँदै अब भने उनलाई पोइट आइडलमा पुर्याएको छ । स–साना छोरीहरू सेसेफुङ र नुमाफुङ दुईजनामा एउटी छोरी एकातिर र अर्की छोरी अर्का तिर राखेर उनी पोएट आइडलमा गएकाछन् । छिन छिनमै मन चर्केर दुख्छ । पोएट आइडलमा अब उनी उत्कृष्ट आठका लागि प्रतिस्पर्धामा छन् । अब भने भोटले नै निर्णय हुने चरणमा छन् उनी । तर भोट गर्नलाई उनीसँग कति पनि पैसा छैन । घरमा भएको केही बेचेर भोट गरौँ भन्ने केही पनि छैन । जति भोट आउँदै छउनलाई मन पराउने र माया गर्नेहरूले गरिरहेका छन् । मिक्लाजुङ गाउँपालिकाले थोरबहुत सहयोग गर्दैछ । गाउँपालिकाका अध्यक्ष बबिकुमार राईले व्यक्तिगत रुपमा भने उनलाई बहुतै माया गरिरहेका छन् । साथीसङ्गीहरूले मिलेर उनलाई सकेको सहयोग गरिरहेका छन् । त्यसैले उनी यो चरणसम्म आइपुगेका छन् । गगन योक्पाङ्देन पोएट आइडलमा उत्कृष्ट कविता प्रस्तुत गरेर ३ पटक ‘प्रफमर अफ द डे’ भइसकेका छन् । एक पटक ‘लाइन अफ द डे’ पनि भएका छन् । मुख्य कुरा भनेको १६ भाग कार्यक्रम प्रस्तुत हुँदा ‘लाइन अफ द डे’ र ‘प्रफमर अफ द डे’ दुबै विधामा एकै साथ पुरस्कृत हुने प्रतियोगी भने गगन योक्पाङ्देन मात्रै हुन् । यतिका शसक्त कवि गगन योक्पाङ्देनलाई पोएट आइडलको उपाधी प्राप्त होस्, हार्दिक शुभकामना ।

तपाईको प्रतिक्रिया