काठमाडौं । तपाईंलाई प्रेमकथामा आधारित फिल्म हेर्न रुचि छ भने चैत १७ गतेबाट प्रदर्शन हुन लागिरहेको फिल्म ‘प्रेमा’ योग्य हुन सक्छ । ‘प्रेमा’ नामक महिला पात्रलाई केन्द्रमा बनाइएको फिल्ममा सृष्टि श्रेष्ठ, शुभेच्छा खड्का र अरुण क्षेत्री शीर्ष भूमिकामा छन् ।

‘रणवीर’ फेम्ड निर्देशक गोविन्दसिंह भण्डारी निर्देशित यो फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले फिल्मको कथावस्तु, चरित्र निर्माण, कास्टिङदेखि फिल्ममा दर्शकीय मनोविज्ञानबारे खुलेर कुरा गरेका छन् । यो फिल्म नेपालीसहित तेलुगू, तमिल र हिन्दी भर्सनमा ओटीटीमा रिलिज हुने जनाइएको छ ।

लेखनका हिसाबले ‘प्रेमा’ भएपनि निर्देशन र रिलिजको हिसाबले ‘रणवीर’पछि दोस्रो फिल्म हुनेछ । ‘प्रेमकथाले दर्शकलाई रोमान्टिक बनाउँछ र यसले मान्छेलाई जोड्ने काम गर्छ । कुनै न कुनै उमेरमा आफूभन्दा विपरीत लिङ्गीसँग जोकोही आकर्षित हुने गर्छ,’ उनी भन्छन्, ‘मैले प्रेमा र रणवीरको स्क्रिप्ट सँगै लेखेको थिएँ । पहिला प्रेमा बनाउन चाहन्थे, तर समय र परिस्थितिले गर्दा रणवीर बन्यो ।’

गोविन्दले जीवनको कुनै समयमा एक युवती भेटेका थिए, जोबाट प्रभावित भएर उनले ‘प्रेमा’ लेखे । ‘प्रेमाको वास्तविक चरित्र जुन युवतीमा पाएँ, त्यो चरित्रलाई समातेर अघि बढ्न सक्छु भन्ने लाग्यो । किनकि ऊ साधारण भएर पनि उसमा अरुलाई आफूतिर आकर्षण गर्ने क्षमता छ । मान्छेहरु बढी चमकधमक भएको वस्तुतिर आकर्षित हुन्छन् । तर प्रेमाको चरित्र आफैंमा शान्त, सुशील हुँदा पनि उसमा आकर्षक व्यक्तित्व छ,’ उनी भन्छन्, ‘त्यो चरित्रलाई लिएर कथा भन्न मन थियो । मान्छेको जीवनमा केही घटना यस्ता हुन्छन्, जुन उसले कहिल्यै बिर्सन सक्दैन । प्रेमाको कथा पनि त्यस्तै घटनाबाट प्रभावित भएर लेखिएको हो ।’

भारतमा रहँदा उनले हलिउड निर्देशक डोभ–एस सिमेन्सको बारेमा सुनेका थिए । डोभ चिनियाँ फिल्म एकेडेमीका संस्थापक, हलिउड फिल्म इन्स्टिच्युटका संस्थापक र ग्लोबल फिल्म स्कुलका डिन तथा संस्थापक हुन् । डोभ प्रशिक्षणका लागि नेपाल पनि आइसकेका छन् । उनले काठमाडौंमा फिल्मको दुई दिने तालिम समेत दिए ।

गोविन्दले डोभ एस–सिमेन्सले टु डे फिल्म्स स्कुलमा दिएको प्रशिक्षणको भिडियो कोर्सलाई अनलाइनमा हेरेर फिल्म मेकिङसम्बन्धी प्रशिक्षण लिएका थिए । ‘‘सिमेन्सले ‘पहिलो फिल्म गर्दा बजेट सीमित राख्नु, काम यस्तो होस् कि निर्देशकको काम बढी देखियोस्’ भन्नुहुन्थ्यो । गीतलाई कोरियोग्राफी, एक्सनलाई फाइटमास्टर राखिदिँदा निर्देशकको काम के त ? त्यसकारण कथावाचनको शैली राम्रो हुनुपर्छ भन्नुहुन्थ्यो । चरित्र र सिमेन्सको भनाईलाई लिएर प्रेमा लेखेको हुँ,’’ उनले भने ।

गोविन्दको बुझाइमा स्क्रिप्ट लेख्दा एउटा ‘इमेज’ दिमागमा आउँछ । ‘प्रेमा’ लेखिरहँदा उनको दिमागमा पात्रको कपाल, अनुहार, उचाइ र शरीरको बनावट बनाइसकेको थियो । शुभेच्छासँग उनले ‘रणवीर’मा काम गरिसकेका थिए । त्यसकारणले शीर्ष चरित्रमा शुभेच्छा ‘फिट’ छिन् भन्ने कुरामा उनी ढुक्क थिए ।

‘‘म वास्तविक पात्र र फिल्मको पात्रसँग नजिक थिएँ । शुभेच्छासँग पहिला पनि काम गरिसकेको हुनाले प्रेमा चरित्र निर्वाह गर्न सक्छिन् भन्नेमा म ढुक्क थिएँ,’ गोविन्द भन्छन्, ‘शुभेच्छालाई सबै कुरा भनेर, स्क्रिप्ट पढ्न लगाएर, न्यारेसन सुनाएर ‘तिमी क्रिएटिभली स्क्रिप्ट मन पर्छ भने मात्र काम गर’ भनें ।’’

गोविन्द नयाँ अनुहारसँग काम गर्न मन पराउँछन् । फिल्मका लागि चाहिने प्रमुख पुरुष पात्रका लागि उनले धेरै जनासँग अडिसन लिएका थिए । तर उनले सोचेको जस्तो पात्र फेला पार्न सकेका थिएनन् । त्यही बेला फिल्म सम्पादक कृष्ण भण्डारीले अरुण क्षेत्रीको नाम लिए । अरुण त्यो समयमा रेनाशा बान्तवा राईको फिल्म ‘आईएम २१’मा काम गरिरहेका थिए ।

सृष्टिसँग गोविन्दको पहिलो सहकार्य हो । सृष्टिसँगको पहिलो सहकार्यबाटै उनी प्रभावित भएका रहेछन् । ‘सृष्टि काममा ध्यान दिने कलाकार हुन् । यो तरिकाले काम गर्ने मान्छेसँग मैले अहिलेसम्म सहकार्य गरेको थिइनँ,’ गोविन्द भन्छन्, ‘सृष्टि प्रि–प्रोडक्सनअन्तर्गत वर्कसपमा नोट लिएरै बस्थिन् । म बोलिरहँदा उनी नोट गरिरहेकी हुन्थिन् । उनले के लेखिरहेकी छन् भन्ने हामीलाई थाहा पनि हुँदैन थियो । उनी समयमै सुटिङ सेटमा आउँथिन् । कतै ढिलो हुने अवस्था भएमा खबर गर्थिन् । उनको फिल्म हेरिसकेको हुनाले काम गर्न गाह्रो हुँदैन भन्ने अनुभव भयो ।’

तपाईको प्रतिक्रिया