रुपन्देही । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अधिकार नै नभएकाले आफूले चाहेजस्तो काम गर्न नसकेको गुनासो गरेका छन् ।
रुपन्देहीको लुम्बिनीमा शुक्रबारदेखि सुरु भएको गौतम बुद्धको जीवनी र दर्शन संगत रहेर ‘जीवनीमा चलचित्र निर्माण अन्तराष्ट्रिय बजार तथा पर्यटन प्रवर्द्धन’ विषयक ३ दिने कार्यशालाको उद्घाटन समारोहमा बोल्दै केसीले यस्तो बताएका हुन् ।
प्रयाप्त अधिकारको अभावमा आफूले चाहेर पनि नेपाली चलचित्रको क्षेत्रमा अपेक्षित प्रगति गर्न नसकेको बताउँदै उनले बाहिरबाट हेर्दा विकास बोर्डले काम गर्न नसकेको देखिए पनि काम गर्नका लागि प्रयाप्त अधिकार प्राप्त नहुनु नै वास्तविकता रहेको बताए ।
नेपाली फिल्म क्षेत्रमा ४ दशक लामो अनुभव बटुलेका केसीले केही गर्ने सोचका साथ आफू बिकास बोर्डमा आएपनि बाहिरबाट देखिएको र वास्तविकतामा धेरै फरक रहेको बताए । ‘विकास बोर्डमा खासै धेरै अधिकार छैन, केही पनि अधिकार छैन ।’ केसीले भने, ‘हामीले धेरै निर्णय गरेर अघि बढायौं तर, मन्त्रालयमा जान्छ त्यहाँबाट स्टप हुन्छ ।’
नेपाली चलचित्र क्षेत्रको विकासका लागि हाल रहेका कानूनहरु निकै पुरानो रहेको बताउँदै उनले अब ती कानूनहरुले सबै कुरालाई सम्बोधन गर्न नसक्ने टिप्पणी गरे ।
चन्द्र सूर्य सिनेमाको आयोजना तथा चलचित्र पत्रकार संघ रुपन्देही सहकार्यमा आयोजित उक्त कार्यक्रममा बोल्दै केसीले बोर्डले नयाँ कार्यविधि तयार पारेर अघि बढाएको उल्लेख गरे । उक्त कार्यविधि पारित भएपछि चलचित्र क्षेत्रका धेरै समस्याहरुको समाधान र बिकासमा सहयोग पुग्ने उल्लेख गरे ।
लुम्बिनीमा आयोजित कार्यशालामा सिने पत्रकारिता क्षेत्रमा लामो समय कलम चलाएका विश्व बस्नेत, प्रकाश सायमी, नेपाल चलचित्र निर्देशक समाजका अधयक्ष जनकदिप पराजुली, कथाकार विक्रमभक्त जोशीलगायतको प्रस्तुती रहने छ ।