- डा ज्वाला थापा

महिनावारीको समयमा तल्लो पेट दुख्नु सामान्य नै मानिन्छ। तर महिनावारी बाहेक अन्य समयमा हुने दुखाइलाई सामान्य रुपमा लिनु हुँदैन।

तल्लो पेट दुख्ने समस्या महिलाहरुमा देखिने आम समस्या हो। प्रजनन क्षमता भएका उमेरका महिलामा यो समस्या बढी हुन्छ। तल्लो पेटको दुखाइ महिनावारीसँग मात्र सम्बन्धित हुँदैन। यसका धेरै कारण छन्। प्रजनन अंगसँग सम्बन्धित रोग हुँदा पनि तल्लो पेट दुख्छ। पाठेघरमा मासु पलाउँदा, अण्डासँग सम्बन्धित समस्या भएका, पिसाबको संक्रमण, पाठेघर बाहिर बच्चा बस्दा पनि तल्लो पेट दुख्छ। पेटको दुखाइको अर्को कारण योनीको संक्रमण पनि हुन सक्छ।

कहिले पनि पेट नदुख्ने महिलालाई एक्कासि पेट दुख्न थालेमा सामान्य रुपमा लिनु हुँदैन। महिनावारी बाहेक पनि अन्य दिनमा पेट दुखेमा र दुखाइकै कारण दैनिक काममा असर परेमा त्यो दुखाइलाई गम्भीर रुपमा लिनुपर्छ। पिसाब फेर्दा दुखेमा, रगत बगेमा, ज्वरो आएमा, सेतो पानी बगेमा पेट दुखाइका अन्य कारण पनि हुन सक्छन् भनेर परीक्षण गराइहाल्नुपर्छ।

सरसफाइमा ध्यान नदिने र धेरै जनासँग यौन सम्पर्कमा रहने महिलामा पनि तल्लो पेट दुखाइको समस्या देखिन्छ। केही महिलामा महिनावारी हुनुअघि डेढ दुई हप्ता अगाडि नै तल्लो पेट दुख्ने समस्या पनि हुन्छ। यस किसिमको समस्या छ भने पनि एक पटक चिकित्सकलाई देखाउनुपर्छ। किनभने, कुनै बेला अण्डामा समस्या हुँदा पनि पेट दुख्न सक्छ।

पेटको दुखाइ कम गर्न घरेलु रुपमा हट ब्यागको प्रयोग गर्न गरिन्छ। यसले दुखाइलाई केही हदसम्म कम गर्छ तर समस्या अचाक्ली छ भने चिकित्सकलाई देखाएकै राम्रो हुन्छ। यसको उपचार समस्या अनुसार नै हुन्छ। सबैभन्दा पहिले पेट दुखाइको कारण के हो ? त्यो पत्ता लगाउनुपर्छ। किनभने, समस्या पनि व्यक्तिगत रुपमा फरक हुन्छन्।

यो समस्याबाट बच्न स्वस्थकर जीवनशैली अपनाउनुपर्छ। सरसफाइमा ध्यान दिनुपर्छ। दैनिक सफा पानीले सफा गर्ने, भित्री वस्त्र परिवर्तन गर्ने, कटनको अण्डर ग्रामेन्ट लगाउने, महिनावारी हुँदा ३/४ घण्टाको फरकमा प्याड परिवर्तन गरिरहनुपर्छ।

सरसफाइका साथै व्यायाम गर्ने, सन्तुलित खाना खाने गर्नुपर्छ। धेरै जनासँग असुरक्षित यौन सम्पर्क राख्नु हुँदैन। समस्या भयो भन्दैमा आफूखुसी औषधिको प्रयोग गर्नु हुँदैन। समस्या छ भने सम्बन्धित चिकित्सकसँग परीक्षण गराए समयमै ठिक हुन्छ।

(डा थापा परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा सिनियर कन्सल्टेन्ट निःसन्तानपन रोग विशेषज्ञको रुपमा कार्यरत छिन्।)

तपाईको प्रतिक्रिया