काठमाडौं। सेलेब्रेटी बैंकरको रूपमा चिनिएकी रबिना देशराज श्रेष्ठले इन्गेजमेन्ट गरेकी छिन्, प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग। सेलेब्रेटी बैंकरको इन्गेजमेन्टको कुरा चर्चामा आउनु स्वाभाविक हो। तर, चर्चा अलि फरक कोणबाट भइरहेको देखिन्छ।

केही दिनअघि उनले फेसबुकमा फोटो सेयर गर्दै व्यक्तिगत जीवनको नयाँ यात्रा धेरै महिनाअघि सुरु भएको बताइन्। ‘‘मेरो अहिलेसम्मको यात्रा यस्तै थियो। अब मलाई थाहा छ कि म जीवनको यो यात्रामा एक्लै छैन। मेरो छेउमा मेरो एक जना साथी, सहयात्री र माया रहने छन्’’ उनले लेखेकी थिइन्।

उनको पोस्टपछि सञ्जालमा यस विषयमा चर्चा छ। खासगरी ‘नातिनीकी हजुरआमा भइसकेकी महिलाले बिहे गरेकी भन्दै’ कतिपयले उनको विवाहको निर्णयलाई स्विकारेका छैनन्। रविनाले आफ्नो यो यात्रा छोराछोरीको साथ र समर्थनले थप पूर्णता दिएको पनि बताएकी छिन्। उनको परिवारको सहयोग र समर्थन भइरहँदा दुनियाँलाई भने सहजरूपमा लिन सकेका छैनन्।

‘मर्ने बेलामा हरियो काँक्रो’ भन्दै कतिपयले सञ्जालमा उडाइरहेका छन्। कतिपयले उनको बिहे नेपाली समाजको लागि पाच्य नभएको भन्दै दर्शन फलाकिरहेका देखिन्छन्।

हो रबिनाको बिहे नेपालीहरूले गर्ने औसत उमेरभन्दा केही बढी हो। उनी पहिले पनि विवाह भइसकेकी नारी हुन्। उनले फेरि विवाह गर्दा हाम्रो समाजका लागि अपवाद हुनसक्ला। तर, सेलेब्रेटी पुरुष कलाकारको प्रौढ विवाह स्विकार्ने समाजले रविना देशराजको विवाह किन नस्विकार्ने ?

रविना देशराजको बिहेप्रति आएका टिप्पणी
हरिवंश आचार्य र मनोज गजुरेलको त्यो बिहे
१२ वर्षअघि हरिवंश आचार्यको पनि श्रीमतीको मृत्यु भयो अनि विधुर बने। आफन्तले हदैसम्मको सहानुभूति जगाए। घटनाको डेढ वर्षपछि उनीभन्दा दश वर्ष कान्छी महिलासँग आफन्तले लगनगाँठो कसिदिए।

त्यो बेलामा धेरैले भने ‘‘हरिवंशले समाजलाई एउटा परिवर्तनको विकल्प देखाए, एक विधुवा महिलासँग लगनगाँठो कस्ने साहस जुटाए। बिहे गर्ने निश्चित उमेर हुँदैन, जहिले पनि गर्न सकिन्छ।’’

गत वर्ष हरिवंशकै जस्तै जीवन कथामा आधारित फिल्म ‘महापुरुष’लाई धेरैले रुचाए। प्रदीप भट्टराईले निर्देशन गरेको फिल्ममा एकल बुवाले बुढेसकालमा विवाह गर्न लागेको कथा देखाइएको छ। फिल्मलाई धेरैले रुचाए। ‘‘एक्लो भएर बस्नुभन्दा बुढेशकालै भए पनि सहाराको लागि बिहे गर्नु राम्रो हो’’ फिल्मको सन्देशबारे चर्चा चलेको थियो।

चर्चित हास्य कलाकार मनोज गजुरेलले दुई वर्षअघि बुढेसकालमै बिहे गरे। उनले २०७८ असोजमा बिहे गर्दा पनि कसैले नराम्रो भनेनन्। हरिवंश र मनोज गजुरेलको प्रौढ विवाह स्विकार्ने समाजले रविना देशराजको पनि विवाह स्विकारेका छैनन्।

प्रश्न उठ्छ कि, पुरुषहरूले मात्र पौढ विवाह गर्न पाउने हो ? यसमा हाम्रो सामाजिक मनोविज्ञान जिम्मेवार छ। पुरुषप्रधान समाजमा पुरुष नै महिलामाथि हाबी हुनेगर्छ। पुरुषले गर्नु हुने तर, महिलाले गर्न नहुने भन्दै विभेद अझै पनि छ।

यसबारे समाजशास्त्री भन्छन्, ‘‘श्रीमानबाट श्रीमती आश्रित हुनुपर्ने हाम्रो समाजको सोचाइ छ। श्रीमतीले केवल श्रीमानको सहयोगीको रूपमा भात–भान्सा सम्हाल्नुपर्ने भन्ने सोचाइले पुरुषले आफ्नो सहयोगीको रूपमा बिहे गर्न पाउनुपर्छ तर, महिलाले गर्नुहुँदैन भन्न थालियो। पुरुषका पौढ विवाहलाई सहज रूपमा लिने समाजले सहाराविहीन नारीले विवाह गर्दा देख्न सक्दैन। अझै पनि परम्परागत सोचको हाबी छ।’’

हाँस्य कलाकार मनोज गजुरेल र पत्नी मञ्जु पोखरेल
तर, रविनालाई उनीविरुद्धको अरूको टिप्पणीले कुनै असर गरेको छैन। रबिना तिनै महिला हुन् जसले आफ्नो अविवाहित छोराको एउटी सम्बन्ध बिच्छेद गरेकी महिलासँग विवाह गरिदिएकी थिइन्।

समाज र त्यसका रोक छेकका बाबजुद उनले आफ्ना हरेक निर्णयमा ‘खुसी’ रोज्दै आएकी छिन्। समग्रमा, नेपाली समाजमा चुनौती मानिने धेरै काम आफ्नो जीवनमा गर्दै आएकी रविनाले आफ्नो विपक्षमा आएका नकारात्मक कमेन्टलाई पनि सहजरूपमा लिएकी उनी निकटस्थहरू बताउँछन्।

यसअघि, श्रीमान् बितेको ६ वर्षपछि दोस्रो विवाह गरेकी श्वेता खड्काले पनि यस्तै तनाव खेपेकी थिइन्। उनले ठूलो मानसिक तनाव भोग्नुपर्‍यो। त्यसैगरी, अभिनेत्री मिथिला शर्माले पनि बुढेसकालमै आएर दोश्रो विवाह गरेकी हुन् ।

हुन् रविनाका पति ?
अब कुरा गरौँ उनले इन्गेजमेन्ट गरेकी प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानको। स्टुआर्ट बेलायती नागरिक हुन्। उनी विश्व वन्यजन्तु कोषमा कार्यरत छन्।

उनले सन् १९९१ मा चीनको वोलोङ पाण्डा रिजर्भमा रेन्जर ट्रेनरको रूपमा आफ्नो अन्तर्राष्ट्रिय करिअर थालेका थिए। दुई वर्ष त्यहाँ काम गरेपछि सन् १९९३ मा उनले विश्व वन्यजन्तु कोषमा काम गर्न थाले।

२०१९ देखि २०२२ सम्म कोषले उनलाई जङ्गलका बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्यका साथ टाइगर्स अलाइभ इनिसिएटिभ लिडरको रूपमा नियुक्त गरेको थियो। यसैका लागि उनी अहिले नेपालमा काम गरिरहेका छन्।

उनलाई नयाँ प्रजातिका जंगली जनावरहरू खोज्न रुचि छ। यही क्रममा उनी बिरालो प्रजातिका जनावरको खोजीका क्रममा छन्। केही महिनाअघि यति बेला रविना र स्टुआर्ट दक्षिण अफ्रिकी टापु राष्ट्र मडागास्कार पुगेका छन्। स्टुआर्टका छोरा पनि छन्।

sorce:- Nepalviews

तपाईको प्रतिक्रिया