१९ मंसीर, २०८०
काठमाडौं

बालक्लवमा लागेका युवाहरु ४० वर्ष मुनि नै देशको प्रधानमन्त्री बन्ने वातावरण बन्नेमा आफु विश्वस्त रहेको राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बताउनुभयो । बालक्लवमा आवद्द भएर लिएको सफल नेतृत्व देश विकासको मुलआधार बन्न सक्छ, जसकालागी ४० वर्ष भित्र नै देशको प्रधानमन्त्री हुन जरुरी छ ।

सो कुरा उहाँले आजबाट काठमाडौमा सुरु भएको बालक्लवका पुर्व सदस्यहरुको दोस्रो राष्ट्रिय सम्मेलनमा बताउनुभएको हो ।

उहाँले नेपाली युवाहरुलाई विदेश जानबाट रोक्नका लागि बालक्लवमा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । ‘बालबालिकामा लगानी बढाउन सकियो भने देशमा दक्ष जनशक्ति उत्पादन गर्न सकीन्छ भन्ने बालक्लवका पुर्वसदस्यहरुको यो भेलाले सरकारलाई सन्देश दिएको छ ।’ उहाँले भन्नुभयो, ‘देश विकासको मेरुदण्ड युवा दक्ष जनशक्ति हुन, ति दक्ष जनशक्ति उत्पादन गर्न सरकारले घरघरमा शिक्षा, स्वास्थ सहित लगानी गर्नुपर्ने, साथै बालक्लवमा लगानी बढाई बालबालिकालाई संगठित गरिनुपर्ने छ ।’ अहिले पनि बालबालिकालाई श्रममा लगाउने, पिट्ने अवस्था छ, सरकारले पर्याप्त लगानी सर्न सकेको छैन, जलवायु परिवर्तनको क्षतिपुर्ति दिदाँ पनि बालबालिकालाई प्राथमिकता दिन जोड दिनुभयो । साथै बालबालिका पोषणमा लगानी गर्न पनि जरुरी रहेको उहाँले बताउनुभयो ।

बालबालिकालाई प्राथमिकतामा राखि काम गर्न सरकार प्रतिवद्द रहेको राष्ट्रिय बालअधिकार परिषदका उपाध्यक्ष बम बहादुर बानियाले बताउनुभयो । अहिले पनि बालबालिका विभिन्न हिंसा दुव्र्यवहारका कारण पीडित भइरहेका छन त्यसलाई अन्त्य गर्न बालक्लवका पुर्वसदस्यहरुसँग सहकार्य गर्न सरकार प्रतिवद्द रहेको उहाँले जानकारी दिनुभयो । सन्देश प्रवाह गर्न र सोही अनुसार सुचना प्रवाहको रुपमा पनि बालक्लवका पूर्व सदस्यहरुले अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

बालअधिकार प्रर्वधन गर्न साथै बालक्लवमा लगानी बढाइ देशमा दक्ष युवाशक्ति उत्पादनमा योगदान गर्न युनिसेफ तयार रहेको युनिसेफका सोसल पोलिसी विभाग प्रमुख उषा मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो,‘बालबालिकामा गरिएको लगानीले सुन्दर भविष्य बनाउँछ, यसका लागि युनिसेफ सधैं तयार छ । आज नेपालमा जनसंख्याको लाभाँसको रुपमा रहेको युवाहरुको लागि देशले प्राथमिकतामा राखी योजना निर्माण गर्न सकेमा राम्रो हुनेमा उहाँको जोड रहेको थियो ।

युनिसेफले बालमैत्री स्थानीय शासनको प्रबद्र्धनमा समेत काम गरिराखेको र बालक्लवका सदस्यहरुको यो सम्मेलनले बालमैत्री देश निर्माणमा सहयोग गर्ने र यसको नेतृत्व लिन समेत उहाँले जोड दिनुभयो । साथै देशले सामाजिक सुरक्षामा लगानी गरीरहेको तर बालबालिकामा कम प्राथमिकतामा राखेकोले नीतिहरु तर्जुमा गर्दा बालबालिकाहरुलाई प्राथमिकतामा राखी कामहरु गर्न समेत अनुरोध गर्नुभयो ।
यसैगरी वल्र्ड भिजनका निर्देशक रोजलिन ग्रायविलले बालबालिकालाई प्राथमिकतामा राखेर काम गर्न नीति र योजनाहरु चाहिने र नेपालका बालबालिकालाई सहयोग गर्न वल्र्डभिजन तयार रहेको र त्यही अनुसार संस्थाले काम गरीरहेको बताउनुभयो ।’ बालक्लवका पुर्वसदस्यहरुले देशमा योगदान गर्न सक्ने वातावरणका लागि सहकार्य गर्न वल्र्डभिजन तयार रहेको उहाँले बताउनुभयो । वल्र्ड भिजनले बालबालिकाहरुलाई नै प्राथमिकतामा राखी कामहरु गरिराखेकोले यो सम्मेलनबाट अझै प्रभावकारी रुपमा देशभर नै अभियानको रुपमा लैजान समेत सुझाव दिनुभयो । यो सम्मेलनबाट देशलाई वि.स. २०८७ सम्म बालमैत्री र पोषणमैत्री गराउने योजना निर्माण गरी काम गरिराखेकोले यो विषयलाई पनि स्थानीय स्तरसम्म लैजानको लागि अभियान सुरु गर्न अनुरोध गर्नुभयो ।
बालक्लवका पुर्वसदस्यहरुको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट शुरु भएको छ । १८ वर्ष सम्म बालक्लवमा रहेर पासआउट भएका देशभरका १५० जना युवाहरु एकसाथ भेला भएर विभिन्न विषयमा छलफल गर्ने गरी आज र भोली दुई दिन सम्म यो सम्मेलन सञ्चालन हुनेछ । हाल देशभर तीसहजार भन्दा बढी बालक्लवहरु सक्रिय छन् । बालक्लवमा ८० लाख भन्दा बढी बालबालिका आवद्द छन् ।

जागृति बाल तथा युवा सरोकार नेपालका नेतृत्व सहीत चङ्गा फाउण्डेशन, हामीदाजुभाइ, युवालय, क्रियसन सोसाइटी, याभ नेपाल र कन्र्सन सोसाइटी नेपालको संयुक्त आयोजनामा सम्मेलन भइरहेको हो । १९ वर्ष देखि २५ वर्ष सम्मका युवाहरु यो कार्यक्रममा सहभागी रहेका छन् ।
कार्यक्रममा स्वागत मन्तव्य तथा विषयवस्तु बारे जानकारी बालअधिकारकर्मी राजेश शर्माले राख्नुभएको थियो । उहाँका अनुसार देशभरबाट छनोट भएका बालक्लवका पुर्व सदस्यहरुले बालअधिकारका विभिन्न विषयमा छलफल, परामर्श गर्ने कार्यक्रम रहेको छ । जलवायु परिवर्तनले बालबालिकामा परेको असर, बालसहभागिता, युवा उद्यमशिलता, युवाहरुको नागरिक सहभागिता, बालबालिका माथि हुन सक्ने हिंसा, दुवर्यवहार लगायतका विषयमा बालक्लवका पुर्व सदस्यहरुले गर्न सक्ने योगदानका बारेमा छलफल हुनेछ ।

बालक्लवमा गरिएको लगानीले युवा उमेरका दक्ष जनशक्तिले देशको समृद्दिमा योगदान गर्न सक्ने आयोजक संस्थाहरुको भनाइ रहेको छ । ‘नीति, योजना र कार्यक्रम निमार्ण गर्दा बालबालिकालाई प्राथमिकता दिन, बालक्लवका पुर्व सदस्यहरुको सिकाइ र अनुभवलाई आत्मसाथ गर्न सरकार र सरोकारवालाहरुलाई जिम्मेवार बनाउन यो कार्यक्रम आयोजना गरिएको हो ।

साथै युवाहरुको करिअरलाई पनि सघाउ पुरयाउन युवाको नेतृत्वविकास, उद्यमशिलता जस्ता विषयमा छलफल गरी काठमाडौं घोषणा पत्र जारी गर्ने लक्ष्य लिइएको छ । बालक्लवका पुर्व सदस्यहरुको राष्ट्रिय सम्मेलन हरेक वर्ष संघीयतह र प्रदेशस्तरमा आयोजना गर्ने लक्ष्य लिइएको सम्मेलनका संयोजक एवम जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताउनुभयो ।

नेपालको पहिलो स्वस्फृत बालक्लव जागृति बालक्लवका संस्थापक तथा जागृति वाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलको अध्यक्षतामा कार्यक्रम आयोजना भएको थियो । ‘देशभरका बालक्लव पूर्व सदस्यहरुले सिकेको सिकाइलाई सबै क्षेत्रमा सिकाइको माध्याम बनाउन यो सम्मेलनले योगदान गर्ने उहाँले बताउनुभएको थियो ।

देशभरबाट जम्मा भएका युवाहरुले बालबालिका राष्ट्रिय गौरव हुन अभियानमा पूर्व बालक्लवका सदस्यहरुको भुमिका, यौन तथा प्रजनन स्वास्थ्य, सामाजिक सुरक्षा, युवाहरुको नेतृत्व विकास र सिभिक स्पेस, उद्यमशिलता, किशोरी शसक्तिकरण, बाल विवाह, बाल सहभागिता अभिबृद्धी, अनलाईन सुरक्षा र अन्य फरक फरक गरी १० सेसनहरु सञ्चालन हुने र सो सेसनमा सहभागिता जनाई घोषणापत्र तयार गरी समापन गर्ने आयोजकले बताएको छ ।
काठमाडौमा सञ्चालन हुने २ दिनको यो सम्मेलनलाई युनिसेफ, सेभ द चिल्ड्रेन, क्यान्नालन, वल्र्ड भिजन ईन्टरनेशलन नेपाल, केयर नेपाल, टिडिएच जर्मनी र चाईल्ड फण्ड जापानको सहयोग र ओरेक, साथी, स्वतन्त्रता अभियान, बालमैत्री स्थानीय शासन राष्ट्रिय मन्च, भ्वाईस अफ चिल्ड्रेन, आधरा, किडार्क, सिवीन नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सन्जाल, लगायत विभिन्न राष्ट्रिय र क्षेत्रिय स्तरमा स्थापना भएका संस्था र सञ्जालहरुको सहकार्य समेत रहेको छ ।

तपाईको प्रतिक्रिया