पछिल्लो समय शहरका कुना कुनाको होटल र रेस्टुरेन्टमा यौन व्यवसाय फस्टाउँदै गएको छ । बेरोजगारीका कारण किशोरीदेखि अधबैंसे महिलाहरु समेत विभिन्न भेषमा सजिएर राजधानीको गल्ली गल्लीमा यौन व्यवसाय चलाइरहेको प्रशस्त भेटिंदै आएका छन् । रेस्टुरेन्ट, होटल र मसाज सेन्टरको नामले गोप्य रुपमा यौन व्यवसायको अखडा बनिरहेको छ ।

 

प्रहरी अनुसन्धान, स्वयं यौनकर्मी, होटल तथा रेस्टुरेन्ट व्यवसायी, सर्वसाधारण, ट्याक्सी चालक र सामाजिक अनुन्धाताहरुसँग कुराकानी गर्दा के निष्कर्ष निस्कन्छ भने शहरमा सामान्य मजदुरी गर्नेदेखि पेसा व्यवसायी र सेलिब्रेटीसम्म यौन व्यवसायमा संलग्न छन् । जसलाई विभिन्न नामले चिनिन्छ ।

१) रेस्टुरेन्ट गर्ल

यस प्रकारका युवतीहरु सजिलै पाइन्छ । केही रेस्टुरेन्टमा पर्दा मात्र हुन्छ र खानेकुराको नाममा पेय पदार्थ मात्र हुन्छ । ललितपुरको विशेषगरी बालकुमारी क्षेत्रमा रेस्टुरेन्ट गर्ल सजिलै भेटिन्छन्, जो यौनकर्ममा संलग्न हुन्छन् । केही महिना अघि मिडियाले यो ठाउँको यथार्थ बाहिर ल्याएपछि यौन व्यावसायी अलि खच्किएका थिए । तर, उनीहरुले पेसा छाडेनन्, बरु ठाउँ ठाउँमा सुराकी राखेर धन्दा चलाइरहेका छन्  ।

उल्टो उनीहरुको माग बढ्न थाल्यो, कमाइ राम्रो हुन थाल्यो रे ! अहिले यिनीहरुको मुख्य सम्पर्क क्षेत्र भनेको नयाँ बसपार्क, बागबजार, रत्नपार्क, ठमेल, माछापोखरी, पुरानो बसपार्क, कोटेश्वर र गौशाला बनेको पाइन्छ ।

स्रोतको अनुसार, यिनीहरुको अवश्यकता भनेकै पैसा मात्र हो । रेस्टुरेन्ट गर्लले एकपटक यौन सम्पर्क राखेको रु. १ हजारदेखि १५ सय रुपैयाँसम्म लिन्छन् । एक रातको नेपालीलाई ४ हजारदेखि ५ हजार रुपैयाँसम्म र विदेशीलाई ५ हजारदेखि १० हजार रुपैयाँसम्म रकम लिने गरेका छन् । विदेशीमा पनि विशेषगरी भारतीय नागरिकबाहेक अरु देशका रोजाइमा रेस्टुरेन्ट गर्ल कमै पर्छन् ।

रेस्टुरेन्ट गर्ल प्राय आफैंले घर भाडामा लिएर बस्ने नगरेको पाइएको छ । त्यसरी बस्दा ग्राहकको काम र प्रहरीबाट असुरक्षित हुने हुँदा यिनीहरु रेस्टुरेन्ट र प्राय ट्याक्सी चालककोमा आश्रय लिएर बस्छन् । अहिले ठमेलमा केही ट्याक्सी चालकले रेस्टुरेन्ट गर्ल ल्याउने लाने दलालको रुपमा काम गरेको स्रोत बताउछ ।

केहीले त आफ्नो परिवारसँगै युवतीहरु घरमै राखेर ‘होम डेलिभरी’ पनि गर्ने गरेको प्रहरीले पटकपटक फेला पारेको बताइन्छ । रेस्टुरेन्ट गर्ल एउटा शहरमा एक दुई वर्षभन्दा बढी बस्दैनन् । नयाँ ठाउँमा जाँदा यिनीहरुको मागसँगै रकम पनि बढ्ने गरेको बताइन्छ । एउटै शहरमा लामो समय बस्दा माग र रकम कम हुने र प्रहरीको आँखामा पर्ने डरले यिनीहरु ठाउँ परिवर्तन गर्न बाध्य हुने बताउँछन् ।

स्रोतको अनुसार, कुनै ठाउँमा जानुअघि यिनीहरु आश्रय लिने रेस्टुरेन्टका साहुले सेटिङ मिलाइदिएका हुन्छन् । रेस्टुरेन्ट साहुको ग्राहक बाहेक स्थानीय प्रहरीसँग पनि उत्तिकै राम्रो सम्बन्ध हुन्छ । प्रहरीलाई आवश्यक पर्दा पैसा, खानपान र युवती समेत मिलाउनपछि पर्दैनन् यिनीहरु । माथिल्लो दर्जाका केही प्रहरी अधिकृतलाई पैसा मात्र भए पुग्छ भने तल्लो दर्जाका प्रहरीलाई खानपान र युवती भए पुग्छ भन्छन् यौनकर्मी स्वयम् ।

२) कल गर्ल

फोन सम्पर्कबाट सजिलै आउने युवती हुन् कलगर्ल । कतै उत्सव, पार्टी र विशेष कार्यक्रम भयो भने व्यवसायीहरुले कलगर्ललाई बोलाउने गरेको पाइएको छ  । यिनीहरु रात्रिभोजमा आउने नाचगान गर्ने अनि जसले बोलाएको हो, उनीहरुले भने अनुसार, ‘राति कम्प्यानी’ दिने भन्दै यौन चाहना पूरा गरिदिन जान्छन् । स्रोतको अनुसार, यिनीहरु आफूलाई ‘हामी मोर्डन टाइपको युवती’ भन्न रुचाउँछन् ।

यौन व्यवसायी भन्दा नराम्रो सुनिने भएकाले उनीहरु आफूलाई ‘कम्प्यानी गर्ल’ भन्दा राम्रो ठान्छन् । यिनीहरु प्राय आफ्नै उमेर समूहको व्यवसायी र उनीहरुका छोराहरुसँग हिँड्न र सम्पर्क गर्न रुचाउँछन् । यिनीहरु र ग्राहक बिच दोहोरो समझदारी हुन्छ । जब ग्राहकलाई आवश्यक पर्छ यिनीहरुलाई बोलाउँछन् । ‘कम्प्यानी गर्ल’मा पनि यौन चाहनाका साथै रकमको आवश्यक परेको अवस्थामा यिनीहरु आफैं ग्राहक बोलाउँछन् ।

प्राय यिनीहरु ग्रुपमा हिँड्न रुचाउँछन् । यिनीहरुको रेट यति उति भनेर तोकिएको हुँदैन । यिनीहरुको उद्देश्य भनेकै ‘कुस्त दाम भएको भरपर्दो स्थायी ग्राहक’ बनाउने हो । यिनीहरुसँग एक रात ‘कम्प्यानी’ दिए बापत ग्राहकले सपिङ गर भनेर ५ देखि १० हजार रुपैयाँ दिने गरेको स्रोतको दावी छ । चिनजानकै ग्राहक र ग्राहककै स्तरको साथीहरुसँग मात्र उनीहरु ‘कम्प्यानी’ दिन जान्छन् । यिनीहरु ‘कम्प्यानी’दिएर रात बिताउन महँगो होटल रोज्छन् ।

कर्ल गर्लहरुसँग मोजमस्ती गर्दै आएकाहरु पीडित बन्न पुगेको पनि बताउछन् । उनको भनाईमा कर्ल गर्लहरु जस्तो पायो त्यस्तो होटलमा नजाने बरु गाडीमै रात बिताउन तयार हुने गरेको एकजना काठमाडौंको माछापोखरीमा भेटिएकाले नाम नभन्ने सर्तमा बताए । ‘यिनीहरु त्यस्तो तल्लो लेवलको यौन व्यवसायीहरु जस्तो हुँदैनन्,’ उनले भने, ‘काम त त्यही हो । तर, अलि स्ट्यान्डर्ड मेन्टेन गर्छन् ।’

 

केही कर्ल गर्लले हैरान पारेको पीडा ती व्यवसायीले सुनाए । ‘कहिलेकाहीँ घरमा परिवारसँग भएको बेला राति रक्सीले मातेर फोन हान्छन्,’ उनले भने, ‘यही आदत यिनीहरुको ठिक हुन्न नत्र निकै सेफ हुन्छ ।’ यस्ता युवतीहरु प्राय सांगीतिक कार्यक्रममा जान्छन् ।

यिनीहरु प्राय कमै मात्र प्रहरीको फन्दामा परेको एक व्यवसायीले बताए । कर्ल गर्लमा प्राय बाहिरकै जिल्लाको  तर काठमाडौँमा परिवारसँग डेरा गरी बसेका युवतीहरु रहेको व्यवसायी बताउँछन् । यिनीहरु प्राय १९ देखि ३० वर्ष उमेर समूहको रहेको स्रोतले बतायो ।

३) कलेज गर्ल

यिनीहरु विद्यार्थी पनि हुने भएकाले ‘कलेज गर्ल’ भनेर नाम दिएको जानकारहरु बताउँछन् । कलेज गर्लमा प्राय जिल्ला बाहिरबाट आएका विद्यार्थीहरु संलग्न छन् । यसमा विशेषगरी ब्याचलर लेवलका विद्यार्थी हुन्छन् । उनीहरु पनि कल गर्ल जस्तै एक्लै हिँड्दैनन् । यिनीहरुको माग मसाज सेन्टरमा निकै भएको पाइएको छ ।

 

रेस्टुरेन्ट गर्ल र कल गर्लको तुलनामा यिनीहरुलाई भेटाउन निकै गाह्रो रहेको एक व्यवसायी बताउँछन् । रेस्टुरेन्ट र कल गर्लको ग्राहक विद्यार्थीहरु पनि उत्तिकै हुन्छन् । आफ्नो बारेमा थाहा हुन्छ भन्ने डरले कलेज गर्लले विद्यार्थीलाई आफ्नो ग्राहक बनाउँदैनन् । यिनीहरुको सेटिङ आफूआफैंले मात्र मिलाउँछन् ।

कमैलाई थाहा हुन्छ यिनीहरुको बारेमा । यस प्रकारको यौन व्यवसायमा लागेका युवतीले ग्राहकको उमेर समूह हेर्दैनन् । हेर्छन् त मात्र पैसा । एक रातको १० हजारदेखि २० हजार रुपैयाँसम्म क्यास लिन्छन् । यिनीहरु पहिला ग्राहकको बारेमा जानकारी लिन्छन्, विश्वास भएपछि मात्र पैसा असुलेर मात्र जान्छन् ।

यिनीहरु बचनको निकै पक्का हुन्छन् । यिनीहरु ग्राहकसँग होटलमा जान प्राय मान्दैनन् । कि त आफ्नै डेरामा या ग्राहककै घरमा जान्छन् । प्राय डेरामा बस्ने यिनीहरुको स्थायी ग्राहक हुँदैनन् ।

ग्राहकको घरमा जान प¥यो भने कि गाडीमा नत्र आफ्नै स्कुटरमा जान्छन् । देख्दा सुन्दर, जिउडाल मिलेका युवतीहरु मेकअपमा धेरै खर्च गरेर सजिने हुनाले यिनीहरुको माग र मूल्य बढी भएको बताइन्छ । यिनीहरु समयमा नियम बनाएर चल्छन् । बेलुका आउने जाने टाइम यिनीहरुकै हुन्छ । विदा नपरेको दिन स्कुटरमा क्याम्पसको ड्रेस लिएर राति ७–८ बजे ग्राहककोमा पुग्छन् अनि बिहान ४ बजेदेखि ५ बजेभित्रमा टाप कस्छन् ।

एक रातमा ३ पटकभन्दा बढी यौन सम्पर्क गरेको अलग्गै चार्ज लिन्छन् । यिनीहरु निकै कठोर मनको हुने गरेको भुक्तभोगी ग्राहक बताउँछन् ।

४) होटल गर्ल

यस प्रकारको यौन व्यवसायीमा प्राय होटलमा काम गर्ने युवतीहरु पर्छन् । राम्रो होटलमा काम गर्ने अनि राति राम्रो रेस्टुरेन्ट र कार्यक्रममा जाने ग्राहक पठाउने यिनीहरुको योजना हुन्छ । प्राय यिनीहरु रमाइलो गर्न हिँडे जस्तो गर्छन् तर उद्देश्य ग्राहकै बनाउने हुन्छ । यस्तो प्रकारका युवतीहरु यौन व्यवसायमा लागेको छ भनेर आफ्नै मिल्ने साथीलाई पनि थाहा हुँदैन ।

साथीहरु पनि कमै बनाउँछन् । काठमाडौंमा यस्ता यौनकर्मी प्राय जिल्ला बाहिरकै छन् । केही परिवारसँग बस्ने गरेको पाइन्छ । यिनीहरु अलि स्यान्डर्ड पारा देखाउँछन् तर परिवारको आर्थिक स्थिति भने कमजोर हुन्छ । राति निक्लिन सजिलो हुन्छ भनेर यिनीहरु प्राय होटेलको नाइट ड्युटी गर्छन् । यिनीहरु यौन व्यवसायमा लागेका छन् भनेर परिवारलाई र छिमेकीलाई समेत अत्तोपत्तो हुँदैन ।

सबैसँग राम्रो व्यवहार गरेर भ्रम कायम राख्न यिनीहरु निकै सिपालु हुन्छन् । ग्राहकलाई भ्रममा हाई लेवलको हो भनेर देखाउन ‘स्ट्याण्डर्ड गेटअप’मा रहने महँगो फ्ल्याट भाडामा लिई उच्च परिवारको जस्तो ‘सोअप’ प्रदर्शन गर्छन् । ‘यिनीहरुको होटलबाट आउने मासिक तलबभन्दा घर भाडा महँगो हुन्छ,’ यिनीहरु बारे एकजना जानकार ग्राहकले भने, ‘फेरि परिवारमा उहीबाहेक कमाउने अरु हुँदैन ।’

 

यिनीहरु धेरै पढेका हुँदैनन् । अलि–अलि अंग्रेजी जान्ने अनि विदेशीको नक्कल गरेर ड्रेसअप गर्ने गर्छन् । यिनीहरुको रोजाइ भनेको कि विदेशी या कारवाला र गाँठवाला ग्राहक हुन् ।

क्यासिनो, रेस्टुरेन्ट र बार अनि डिस्को, हेल्थ क्लवमा जाने विदेशीहरुलाई पहिला लक्षित गर्ने गर्छन् । विदेशी त्यो पनि गोरा छालावाला मात्र रुचाउँछन् । भारतीय, पाकिस्तानी र बंगलादेशीहरु भने होटल गर्लको रोजाइमा पर्दैनन् ।

यिनीहरु डलरमा धेरै रकम असुल्न विदेशी गोराहरुसँग गाइड बनेर पनि फिल्डमा जान्छन् । प्राकृतिक, अप्राकृतिक यौनासनमा रमाउन पनि राजी हुन्छन् । पाएसम्म यस्ता गोरा ग्राहकसँग बिहे समेत गर्नेगरी रिलेसनसिपमा बस्छन् खोज्छन् नत्र धेरै पैसा असुल्न खोज्छन् ।

यिनीहरुको उठबस प्राय गोरासँग या कारवाला अर्थात् धनवानसँग हुन्छ । यिनीहरु गर्लफ्रेन्डको रुपमा मायाँ प्रदर्शन गरेर स्कुटर, ल्याप्टप, महँगो फोन, आइफोन डिमान्ड गर्छन् । केही ग्राहकले त विश्वास गरेर यिनीहरुलाई आफ्नो एटिएमको सुविधा समेत दिन्छन् ।

 ५) सेलिब्रेटी गर्ल

यिनीहरु हाई प्रोफाइल भएका महँगा युवतीमध्ये पर्छन् । कुनै न कुनै पेसा, व्यवसाय र कामबाट समाजमा आफ्नो थोरै भए पनि पहिचान बनाउन सफल भएका केही युवती पनि यो व्यवसायमा लागेको स्रोत बताउँछ । यिनीहरुको नाम, बोली, फोटो पनि बिक्छ । यिनीहरुको नाम यौन व्यवसायीहरुको सूचीमा छ भन्ने सुन्यो भने पनि जो कोहीले जिब्रो काढ्छन् । यिनीहरुको व्यवसाय गर्ने तरिका बिल्कुल फरक र अति गोप्य हुन्छ ।

यिनीहरु काठमाडौंमा आफ्नो ग्राहकलाई एक्लै भेट्दैनन् । कुनै कार्यक्रम वा सार्वजनिक समारोहमा औपचारिक रुपमा भेट भयो भने ग्राहकसँग त्यतिबेला मुस्कानले मात्र संवाद गर्छन् । यिनीहरु ग्राहकसँग प्राय काठमाडौंको विशेष स्थान वा विदेशमा गएर भेट्छन् ।

 

धनाढ्य व्यक्ति,  ठूला व्यापारी, मारवाडी, ठेकेदार, व्यवसायी, उच्च पदका सुरक्षाकर्मी, उच्चपदस्थ कर्मचारी र डनले मात्रै सेलिब्रेटी गर्ललाई सम्पर्कमा ल्याउन सक्ने जानकार प्रहरी अधिकृतहरु बताउँछन् ।

कहिलेकाहीँ ठूलोठूलो पार्टीमा मदिराले मात्तिएका बेला ‘हाम्रो लेवलको कुनै मान्छे छैन’ भन्दै धाक लगाउने गरेको पोखराका एकजना व्यवसायीले बताए । यिनीहरु ग्राहकहरु हेरेर एक रातको १ लाख रुपैयाँभन्दा बढी असुल्छन् । ‘त्यति मात्र होइन यिनीहरुले चाहे आफ्नो गुप्त ग्राहकलाई भनेर आफन्तलाई बोल्दाबोल्दै ठेक्कापट्टा मिलाउने, भनेको  स्थानमा सरुवा, बढुवामा पहुँच, जागिर लगाइदिन पनि सक्छन्,’ एक व्यवसायीले सुनाए ।

यिनीहरुलाई प्रहरीले यौन व्यवसायमै लागेको भनेर पक्राउ गर्न त परै जाओस् उल्टो सुरक्षा दिनु पर्ने बाध्यता आइपर्ने जानकार सुरक्षाकर्मीहरु सुनाउँछन् । ‘धनी घरको भनेर के गर्ने मान्छे हो यौन चाहना जसलाई नि हुन्छ,’ स्रोतले भन्यो, ‘यौन व्यवसायमा लाग्ने र उनीहरुलाई मोटो रकम दिएर भेट्ने धेरै सेलिबे्रटीसँग मेरो चिनजान छ ।’

 

नाम कमाएको हुँदा यिनीहरुलाई ‘सेलिब्रेटी गर्ल’ भन्ने गरिएको हो । ‘यौन व्यवसायी सेलिब्रेटी र ग्राहक दुवैलाई गोपनियताको आवश्कयता हुन्छ,’ स्रोतले भन्यो, ‘यिनी बिचमा केही आन्तरिक विवाद भएपनि तैं चुप मैंचुप भन्दा अरु विकल्प रहन्न ।’

(साँघु साप्ताहिक, २०८० मंसिर १८)

तपाईको प्रतिक्रिया